फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका आठ हजार मिटरभन्दा अग्ला थप पाँचवटा हिमालको पहिचान

(GMT+08:00) 2013-10-29 19:01:23

          नेपालका आठ हजार मिटरभन्दा अग्ला थप पाँचवटा हिमालको पहिचान भएको छ। विश्व पर्वतारोहण महासङ्घ (युआइएए) को हालै स्विट्जरल्यान्डमा भएको बैठकमा ती हिमाललाई मान्यता दिई सूचीकृत गर्नका लागि नेपालबाट प्रस्ताव राखिएको महासङ्घका मानार्थ सदस्य एवम् नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो।

           विश्वका आठ हजार मिटरभन्दा माथिका 14 वटा हिमालमध्ये आठ वटा नेपालमा रहेको यसअधि महासङ्घले सूचीकृत गरिसकेको छ। यी पाँचवटा नयाँ हिमालमध्ये दुईवटा नेपाल र भारतको सीमामा रहेका आठ हजार 473 मिटरको कञ्चनजङ्घा सेन्टर र आठ हजार 476 मिटरको कञ्चनजङ्घा साउथ, नेपालभित्रै रहेको आठ हजार 505 मिटरको कञ्चनजङ्घा वेस्ट(एलुन्खाँङ) छन् भने नेपाल चीनको सीमामा जोडिएको आठ हजार 400 मिटरको लोत्से स्यार र आठ हजार 413 मिटरको उचाइको लोत्से मिडिल रहेको छ।

           महासङ्घको बैठकमा नेपालको सो प्रस्तावमाथि छलफल भएपनि भारत र पाकिस्तानले समर्थन जनाइ नसकेका कारणले पारित हुन नसकेको मानार्थ सदस्य शेर्पाले उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले पनि यसलाई सूचीकृत गराउन पहल गरिरहेको र आगामी सन् 2014 मा अमेरिकामा हुने महासङ्घको बैठकमा प्रस्ताव पारित भई ती पाँच हिमाल सूचीकृत हुने जानकारी दिनुभयो।

            विश्वको हिमशृङ्खलाको संरक्षण र प्रवर्द्धन तथा पर्वतीय पर्यटनको गतिविधिको बारेमा नीति निर्माण गर्ने उच्च निकायको रुपमा रहेको महासङ्घमा अल्पाइन क्लबको सदस्य भएका 86 वटा राष्ट्र आबद्ध छन्।

             भारत र पाकिस्तानलाई स्वीकृतिका लागि पहल गर्न आगामी महिना नेपालमा अन्तर्राष्ट्रिय पर्वतीय सम्मेलन गर्न लागिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष जिम्बाजाम्बु शेर्पाले बताउनुभयो।

              उहाँले ती पाँच हिमाललाई सूचीकृत गराउन सके नेपालले अन्तर्राष्ट्रिय जगतमा अझ ख्याति प्राप्त गरी पर्वतीय पर्यटनको विकासमा थप सघाउ पुग्ने उल्लेख गर्नुभएको गोरखापत्र अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह