फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चाडपर्वमा यात्रुको चाप बढेसँगै हवाई यातायातको पनि मूल्यवृद्धि

(GMT+08:00) 2013-10-30 19:03:48

           दसैं तथा तिहारको समयमा यात्रु चाप बढेपछि जहाज भाडा उच्चदरमा बढेको छ। अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले नेपाल भित्रिने र बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएपछि उच्चदरमा भाडावृद्धि गराएका हुन्। नेपालीहरूको मुख्य चाड दसैं तथा तिहारसँगै पर्यटकीय मुख्य सिजन पनि चलिरहेकाले हाल जहाज भाडा महँगो भएको छ। विभिन्न एयरलाइन्स कम्पनीले शतप्रतिशतसम्म जहाज भाडा वृद्धि गराएका छन्।

          महँगो जहाज भाडा भए पनि नेपालबाट अन्यत्र जान र नेपाल आउनका लागि टिकट नभएको व्यवसायीले बताएका छन्। "दसैं तथा तिहारमै पर्यटन सिजन पर्ने भएको र यही समयमा विदेश गएका नेपाली पनि बढी आउने–जाने गर्ने भएकाले स्वाभाविक रूपमा जहाज भाडा बढ्ने गरेको छ," नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष तथा गण्डकी ट्राभल्सका सञ्चालक रामकाजी कोनेले भन्नुभयो।

              केही समययता नेपालबाट भारत जानका लागि सबैभन्दा सस्तो टिकट 15 हजार रुपैयाँको हाराहारीमा रहेको भए पनि दसैं तथा तिहारका लागि बुकिङ भएयता हाल 30 हजारभन्दा बढी रुपैयाँ पुगेको छ। गत वर्षको समान्य समयमा 8 हजार रुपैयाँमा एकतर्फी टिकट पाउने गरेको भए पनि वैशाखदेखि 15 हजार रुपैयाँ पुर्‍याइएको थियो। नेपालमा भारततर्फबाट जेट एयरवेयज, एयर इन्डिया, इन्डिगो र स्पाइस एयरलाइन्सले उडान भर्दै आएका छन्।

            नेपालबाट ठूलो संख्यामा रोजगारीका लागि गल्फ मुलुकतर्फ नेपाली जाने भएकाले दसैं तथा तिहारमा आउने–जाने बढेपछि त्यसतर्फको पनि जहाज भाडा अकासिएको छ। समान्य समयमा उक्त मुलुकतर्फ उडान भर्ने एयरलाइन्स कम्पनीहरूले सस्तोमा 20 हजार रुपैयाँमा एकतर्फी टिकट बिक्री गरिरहेकोमा हाल वृद्धि गर्दै 32 हजार रुपैयाँभन्दा बढी पुर्‍याएका छन्। हाल नेपालमा गल्फ मुलुकका इत्तिहाद, फ्लाई दुबई, एयर अरेबिया, राँक र कतार एयरवेयजले उडान भर्दै आएका छन्।

           नेपालमा उडान भर्ने मलेसियन एयरलाइन्स कम्पनीहरूले भने भाडा वृद्धि गरेका छैनन्। नेपालबाट नेपाल वायुसेवा निगम, मलेसियन एयर तथा एयर एसियाले उडान भर्ने गरेका छन्। हाल दसैं तथा तिहारमा मलेसियातर्फ जानका लागि 32 हजार रुपैयाँ तिर्नुपरेको छ, जुन सामान्य समयमा 24 हजार रुपैयाँ हुने गरेको छ।

             नेपालबाट अमेरिका तथा युरोपतर्फ जान पनि जहाज भाडा चर्को महँगो भएको छ। नेपालबाट अमेरिकातर्फ जानका लागि एकतर्फी टिकटको सामान्य समयमा 1 नेपाली यात्रुले सबैभन्दा सस्तो भाडादर 50 हजार रुपैयाँ रहने गरेको भए पनि हाल 90 हजार रुपैयाँ पुगेको छ।

            त्यस्तै, युरोपतर्फ जानका लागि पनि यस अवधिमा एकतर्फी सस्तो टिकटमा 80 हजार रुपैयाँ पुगेको छ। उक्त क्षेत्रमा अन्य सामान्य समयमा सस्तो टिकट 40 हजार रुपैयाँको हाराहारीमा हुने गरेको थियो।

            नेपालबाट बर्सेनि हजारौंको संख्यामा उच्च शिक्षाका लागि युरोप तथा अमेरिका जाने गरेका छन्। उक्त समूह दसैं तथा तिहारका लागि नेपाल आउने गरेका छन्, जसका कारण जहाज भाडा महँगो हुने गरेको छ।

            नेपालबाट चीनतर्फ जान पनि यस समयमा हवाई भाडा महँगो भएको छ। सामान्य समयमा एकतर्फी गोन्जाओको टिकट भाडा 24 हजार रुपैयाँ हुने गरेकोमा हाल 50 हजार रुपैयाँभन्दा बढी छ। नेपालमा चाइना साउदर्न, एयर चाइना र चाइना इस्टर्न एयरलाइन्स कम्पनीले उडान भर्दै आएका छन्।

         " राष्ट्रिय ध्वजाबाहक कमजोर भएकाले माग बढ्नेबित्तिकै जहाज भाडा महँगो हुने गरेकाले नेपालमा धेरैजसो समय भाडा महँगो हुन्छ," नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष अशोक पोखरेलले भन्नुभयो। जहाज भाडावृद्धिको नियम विश्वभर एउटै हुने भएकाले नेपालमा एयरलाइन्स कम्पनीहरूले सोहीअनुसार माग बढ्नेबित्तिकै भाडा बढाउने गरेकाले दसैं तथा तिहारमा यात्रु चाप बढ्दा भाडा बढेको पोखरेलको भनाइ छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह