फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिहारका लागि भारतबाट 1 करोड रुपैयाँबराबरका फूल आयात हुने

(GMT+08:00) 2013-11-01 17:27:13
          देशमा फूल उत्पादन वार्षिक 15 प्रतिशतले बढे पनि तिहारका लागि मात्रै भारतबाट 1 करोड रुपैयाँबराबरका फूल आयात हुने भएका छन्। स्वदेशी उत्पादनले थेग्न नसकेपछि कुल मागको एकतिहाइ फूल भारतबाट ल्याउन लागिएको हो।

          फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान)का अनुसार गत वर्ष तिहारमा 90 लाख रुपैयाँबराबरका फूल भारतबाट ल्याइएका थिए। तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको उल्लेख्य कारोबार हुन्छ।

          फान महासचिव दिलीप बादेका अनुसार मुलुक मखमली र गोदावरीमा आत्मनिर्भर भए पनि सयपत्री मागको 30 प्रतिशत भारतबाटै ल्याउने गरिएको छ। गत वर्षभन्दा यसपटक खपत बढ्न सक्ने भएकाले 15 प्रतिशत बढी फूल आयात गर्न लागिएको जानकारी उहाँले दिनुभयो। गत वर्षभन्दा फूल कारोबार झन्डै 1 करोड बढी हुने अनुमानका आधारमा थप 20 लाखको फूल आयात गरिनेछ।

          फानले यसपटकको झन्डै 4 करोड रुपैयाँबराबरको फूल कारोबार हुने अनुमान गरेको छ। गत वर्ष 3 करोड रुपैयाँको कारोबार भएको थियो।

         केही वर्षयता नेपालमा फूल उत्पादन र निर्यात 15 प्रतिशतसम्मले बढे पनि तिहार तथा प्रेम दिवस (भ्यालेन्टाइन डे)का बेला फूलको खपत धेरै हुन्छ।

          नेपालमा फूलखेतीको विकास नभइसकेको र घरायसी प्रयोजनका लागि मात्र उत्पादन हुने भएकाले माग धान्न भारतमै भर पर्नुपर्ने बाध्यता रहेको बादेले बताउनुभयो। उहाँका अनुसार आन्तरिक उत्पादनका कारण आयातीत फूलले उचित मूल्य भने पाएका छैनन्। "यसपटक आयातीत फूलका आधारमा स्वदेशी मालाको मूल्य तोक्दैछौं," उहाँले भन्नुभयो।

            केही वर्षयता व्यवसायीले आन्तरिक उत्पादनका कारण आयातीत फूलले उचित मूल्य नपाएको भन्दै विशेष अवस्थामा बाहेक फूलै आयात नगर्ने बताउँदै आएका छन्।

            फानको तथ्यांकअनुसार नेपालमा हाल करिब 1 हजार व्यवसायी फूलखेतीमा आबद्ध छन्। देशभर 35 जिल्लाका 1 सय 10 हेक्टर जमिनमा फैलिएको यो व्यवसायमा 40 हजार परिवारले रोजगार पाएका छन्। नेपाललाई चाहिने आवश्यक फूल भारत र चीनबाट आउने गरे पनि नेपालबाट बेलायत, जापान, जर्मनी, अमेरिका, डेनमार्क, नेदरल्यान्डलगायत करिब 80 मुलुकमा वार्षिक 6 अर्ब रुपैयाँबराबरको फूल निर्यात हुने गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह