फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साहसिक प्याराग्लाईडिङ पोखराको पर्यटक आकर्षणको मुख्य आधार

(GMT+08:00) 2013-11-02 18:04:19
             साहसिक खेलको परिचय बनेको प्याराग्लाईडिङ पोखरामा पर्यटक तान्ने गतिलो माध्यम बनेको छ। 15वर्षअघि व्यवसायिक रुपमा सुरु प्याराग्लाईडिङ खेलले पोखरामा पर्यटकहरुको आगमनमा समेत बृद्धि गराएको छ। केही वर्षयता प्याराग्लाईडिङमा उड्नकै लागि सुन्दर नगरी पोखरा पुग्ने पर्यटकहरु बढ्दै गएका छन्। मौसम अनुकूल रहेको समयमा पोखराको आकाशमा दैनिक 5सयजना पर्यटकले उडान भर्ने गरेका छन्। केही वर्ष अघिसम्म पोखरा आएकामध्ये करिव 15प्रतिशत पर्यटकको रोजाई प्याराग्लाईडिङ पर्ने गरेको थियो। अहिले सो संख्या बढेर 25प्रतिशत पुगेको छ।

             पोखरा घुम्न आउने आन्तरिक पर्यटकमध्ये करिव 70 प्रतिशतले प्याराग्लाईडिङमा रमाउने गरेका छन्। पर्यटकहरुको आकर्षण बनिरहेको प्याराग्लाइडिङ खेलको लागि केही समययता उडान क्षेत्रको अभाव हुन थालेको छ। खेल सञ्चालन गर्न उडान अनुमति पाएको कास्कीको सराङ्कोट क्षेत्रमा उडान गर्ने आकाशको कमी हुन थालेपछि सो स्थानको वैकल्पिक क्षेत्र खोजीकार्य शुरु भएको हो। पोखरामा सन् 1996 बाट सुरु भएको प्याराग्लाईडिङ खेल 17 वर्षको अवधिमा आन्तरिक तथा बाहृय पर्यटकमाझ निकै लोकप्रिय बनेको छ। पोखरामा हाल 20 वटा प्याराग्लाईडिङ कम्पनीले आन्तरिक तथा बाहृय पर्यटकलाई उडाईरहेका छन्।

             प्याराग्लाईडिङमा नागरिक उड्ययन प्राधिकरणले दिएको क्षेत्रभित्र 6 हजार फिटमाथि सम्म उडेर रमाउन सकिन्छ। अहिले कास्कीको सराङकोटका साथै ढिंकी डाँडा, तोरीपानी, तनहुको बन्दीपुर र स्याङजाको सिरकोट लगायतका क्षेत्रबाट पनि प्याराग्लाईडिङ खेल सञ्चालन गरिएको छ। सरकारले भने कास्कीको सराङकोट र तनहुको बन्दीपुरबाट मात्र उडानको लागि अनुमति दिएको छ। व्यावसायिकरुपमा उडान भर्न सोलो (एक्लै उड्ने) करिव 5हजार घण्टा उडाउनुपर्छ। एक हजार घण्टा सोलो उडान गरेपछि मात्र टेन्डम उडानको लागि फेडेरेसन एरोनेटिक इन्टरनेश्नल -एफएआई) बाट मान्यता पाइन्छ। पाँच दिनको कोर्ष गरेर टेन्डममा -दुई जना उड्न) पाइन्छ। करिब 30 लाख रुपैयाँ खर्चेर मात्र व्यावसायिक प्याराग्लाइडिङ पाईलट बन्न सकिन्छ।

                 अनलाईन खबरका अनुसार प्याराग्यलाईडिङ गर्न फ्रान्स, जर्मनी र रसियाका नागरिकहरु बढी आउने गरेका छन्। प्याराग्लाईडिङ गर्ने उयुक्त सिजन अक्टोबरदेखि अप्रिल महिना हुन्। कास्कीको सराङकोटबाट फेवातालको किनार खपौदीसम्मको करिब आधा घण्टाको उडानको लागि विदेशी पर्यटकले सय अमेरिकी डलर तिर्नुपर्छ भने नेपालीले प्रतिव्यक्ति 5हजार 5सय 50 रुपैया तिर्नुपर्छ। पोखरामा सञ्चालित 20 वटा प्याराग्लाइडिङ कम्पनी करको दायरामा आएपछि उडान शुल्क पनि बढेको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह