फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संविधानसभा निर्वाचनमा नेपालका प्रमुख दलद्वारा कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड

(GMT+08:00) 2013-11-11 17:02:51

      संविधानसभा निर्वाचनमा प्रमुख राजनीतिक दलले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएका छन्। एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि पुलपुलेसा, बाटोघाटोको मुद्दालाई जोड दिएकोमा यसपटक कृषिको यान्त्रीकरण र त्यसैमार्फत रोजगारी सिर्जनामा जोड दिएका हुन्।

     064 को संविधानसभा निर्वाचनमा ठूलो पार्टी बनेको एमाओवादीले क्षेत्रगत नीति र कार्यक्रमअन्तर्गत 'कृषि तथा भूमिसुधार' लाई छुट्टै शीर्षकमा राखेर कृषिलाई नेपाली अर्थतन्त्रको प्रमुख आधार बनाई उपयुक्त कृषि नीति तर्जुमा गर्ने जनाएको छ। त्यसैगरी, कृषक परिचयपत्र वितरण गरी सुविधा उपलब्ध गराउने पनि एमाओवादीले उल्लेख गरेको छ।

       कांग्रेसले कृषिमा आश्रित हालको जनसंख्य 68 प्रतिशतलाई 5 वर्षभित्र 55 प्रतिशतमा सीमित गर्ने उल्लेख गरेको छ। 'कृषि र भूमिसुधार' शीर्षकमा 'कृषिको उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी कृषिको व्यवसायीकरण गर्दै कृषिमाथि आय तथा रोजगारीका लागि आश्रित जनसंख्या कम गर्नु कृषि विकासको मूल रणनीति'को रूपमा रहने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

      एमालेले पनि आर्थिक क्षेत्रको विकासमा पहिलो प्राथमिकता कृषिलाई दिँदै 'समृद्ध समाजको निर्माण वैज्ञानिक भूमिसुधार तथा कृषिमा युगान्तकारी रूपान्तरण' शीर्षकमा कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको छ। वैज्ञानिक भूमिसुधारको माध्यमबाट जमिनमाथि कृषकको पहुँच सुनिश्चित गर्दै कृषिको समग्र विकासका लागि 'उच्च कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, सुधारिएको पशु नश्ल र स्वस्थकर पशु आहार विकास' गर्ने दाबी एमालेको छ।

      एमाओवादीले उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगको प्रतिवेदनलाई तदारुकताका साथ कार्यान्वयन गर्ने, कृषिक्षेत्रमा 'जमिन जोत्नेको' सिद्धान्तका आधारमा क्रान्तिकारी भूमिसुधार लागू गर्ने र हदबन्दीभन्दा बढी जमिन मुक्तकमैया, हलिया, हरुवाचरुवा, सुकुम्वासी र गरिब कृषकलाई निःशुल्क वितरण गरिने दाबी गरेको छ। व्यावसायिक खेती गर्न प्रोत्साहित गरिने र उच्च मूल्य, थोरै वजन र कम आयतन भएका कृषिजन्य वस्तुको व्यावसायिक उत्पादन गरी निर्यातलाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि माओवादी घोषणापत्रमा छ।

      कांग्रेसले कृषिको यान्त्रीकरण र व्यवसायीकरण गर्न कृषि पेसामा शिक्षित युवालाई आकर्षित गर्दै स्वदेशमै कृषि रोजगारी सिर्जना गर्नुका साथै वैज्ञानिक भूमिसुधारका लागि कृषिमा भू–उपयोगको नीति अवलम्बन गर्ने विषयलाई प्राथमिकतमा दिएको छ। बीउविजन भण्डारण गर्ने, पुनःप्रयोग गर्ने, साटासाट गर्नेलगायतका कृषकको अधिकार संरक्षण गर्न कानुन निर्माण गर्ने प्रतिबद्धता कांग्रेसको छ। कृषि बिमाको कार्यान्वयनका साथै उत्पादनमा वृद्धि गर्न आगामी 5 वर्षमा 50 प्रतिशत भूभागमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउन पूर्वाधार निर्माण गर्ने कांग्रेसको प्रतिबद्धता छ।

      कृषि विकासका लागि एमालेको घोषणापत्रमा कृषिक्षेत्रका प्राविधिक पक्ष र नयाँ आयामलाई प्राथमिकतामा राखेको पाइएको छ। कृषि बिमाको कार्यान्वयन, कृषि उत्पादनमा पेटेन्ट कायम गर्न सरकारी अनुदान, भण्डारण र प्रशोधनका लागि सार्वजनिक गोदाम र कोल्ड स्टोरेजको व्यवस्था, कृषिउपजको बजारीकरण, बिचौलिया व्यापारीबाट हुने एकाधिकार तथा मुनाफाखोरी नियन्त्रणलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता एमालेको छ।

      समग्रमा एमाओवादी, एमाले र कांग्रेस तीनै पार्टीको अर्थतन्त्रको मूल आधार कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई बनाइएको छ। एमाओवादीको घोषणापत्रमा नीतिगत पक्षको विकासमा बढ्ता जोड दिइएको छ भने एमालेले कृषिको प्राविधिक पक्षको विकासमा जोड दिएको छ । कांग्रेसको भने अवधि तोकेरै कृषिको विकास गरिने कार्यक्रम सरकारको वार्षिक कार्यक्रमसँग मिल्दो रहेको कारोबार अनलाईनमा खबर छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह