फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वायुसेवा निगमले पहिलो पटक जहाजहरूको बाहिरी रंग आवरण ढाँचा परिवर्तन गर्ने

(GMT+08:00) 2013-11-11 17:03:58

     राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इतिहासमै पहिलो पटक आफ्ना जहाजहरूको बाहिरी रंग आवरण ढाँचा (लिभरी) परिवर्तन गर्ने भएको छ। 2015 असार 17 मा स्थापना भएदेखि निगमले आफ्ना जहाजमा एउटै आवरण ढाँचा प्रयोग गर्दै आएको छ। विभिन्न देशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले पनि बेलाबेला यस्तो ढाँचा परिवर्तन गरिरहेका हुन्छन्। त्यसैलाई पछ्याउँदै निगम जहाजको बाहिरी ढाँचा परिवर्तनतिर लागेको हो।

      'बदलिँदो परिवेशसँगै ध्वजावाहकका जहाजको आवरण ढाँचा परिवर्तन गर्दा सकारात्मक सन्देश जाने विश्वास छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले भन्नुभयो, 'एउटै ढाँचा वा लोगोमा कति उड्ने भनेर पनि परिवर्तन गर्न लागेका हौं।'

       अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग हाल साढे दुई दशकभन्दा बढी पुराना दुईवटा र आन्तरिक उडानका लागि चार दशक पुरानो एउटामात्र जहाज बाँकी छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका दुइटा बोइङ 757 जहाज प्रत्येकमा 1 सय 90 सिट छन् भने आन्तरिक उडानतर्फ 19 सिट क्षमताको एकमात्र टि्वनअटर जहाज छ।

      छिमेकी भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डियासहित अन्य देशका वायुसेवाले बेलाबेला जहाजको आवरण परिवर्तन गरिरहेको उदाहरण दिँदै निगमका प्रवक्ता चन्दले आफ्ना जहाजका आवरण फेर्दा अन्तर्राष्ट्रिय हवाई बजारमा राम्रै देखिने बताउनुभयो।

      'अहिले उडिरहेका जहाजमा भन्दा एयरबससँग खरिद गर्न लागिएका दुई नयाँ जहाजको बाहिरी ढाँचा नयाँ स्वरूपमा बनाउने योजना छ,' चन्दले भन्नुभयो, 'राष्ट्रिय ध्वजावाहकप्रति सर्वसाधारणको चासो कत्तिको छ भन्ने हेर्न पनि यस्तो योजना ल्याएका हौं।'

      जहाजका रंग आवरण ढाँचा परिवर्तनका लागि नमुना पेस गर्न निगमले सार्वजनिक आह्वानसमेत गरेको छ। पहिलो पटक कात्तिक 15 मा गरेको आह्वानपछि डेढ दर्जनजति व्यक्तिबाट ढाँचा पेस भएको चन्दले जानकारी दिनुभयो। त्यसपछि फेरि दोस्रो पटक गत शुक्रबार (कात्तिक 22) मा पनि सार्वजनिक आह्वान गरिएको छ।

      निगमका अनुसार नयाँ प्रयोग हुने आवरण ढाँचामा नेपालको राष्ट्रियता, सांस्कृतिक पक्ष, राष्ट्रिय झन्डा, राष्ट्रिय रंग सिमि्रक, आकास भैरवको प्रतिबिम्ब/झलक समावेश गरिएका नमुना ढाँचा/रचनलाई मूल्यांकनमा प्राथमिकता दिइने छ। दोस्रो आह्वानको एक साताभित्र इच्छुकले नमुना ढाँचा पठाउन सक्छन्।

      'छनोट भएका एकजना उत्कृष्ट ढाँचाकारलाई पुरस्कार स्वरूप निगमको जहाजबाट मलेसियाको क्वालालम्पुरको दुईतर्फी निःशुल्क दुई थान टिकट प्रदान गरिने छ,' चन्दले भन्नुभयो, 'यसबाट ध्वजावाहकप्रति कलाकारको चासो पनि थाहा हुन्छ।'

      हाल भएका जहाजको बाहिरी भागको पुच्छर र इन्जिनमा निलो र रातो रंगको धर्का छ। पाइलट बस्ने ककपिटको बाहिरपट्टि निगमको प्रतिबिम्ब आकास भैरवको चित्र तथा सुरुको ढोकामा राष्ट्रिय झन्डा अंकित छ।

      युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गर्न लागेको दुईवटा ए320–200 सिरिजका जहाजमा सम्भवतः बाहिरी ढाँचा परिवर्तन गरिने निगमको योजना छ। निगम सञ्चालक समितिले उपयुक्त ढाँचा परिवर्तन गरेपछि जहाजमा राखिने चन्दले जानकारी दिनुभयो।

      नयाँ दुई जहाज खरिद गर्नका लागि निगमले हालसम्म 2 अर्ब रुपैयाँभन्दा बढी रकम फ्रान्स पठाइसकेको छ। निगम र एयरबसबीच गत असार 13 मा भएको सम्झौताअनुसार एउटा जहाजको क्याटालग प्राइस 7 करोड 50 लाख डलर (त्यसबेलाको 7 अर्ब 12 करोड 50 लाख रुपैयाँ) रहेको छ।

      दुवैबीच 2069 चैत 23 मा दुई जहाज खरिद–बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि निगम व्यवस्थापनले 2070 वैशाख 9 मा ती जहाज खरिद गर्न प्रतिबद्धता रकम (बैना) स्वरूप एयरबसलाई 5 लाख डलर पठाएको थियो। त्यसपछि जेठ 29 मा निगम र कर्मचारी सञ्चय कोषबीच 10 अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।

       सम्झौताअनुसार अन्तर्राष्ट्रिय उडान गर्न एयरबसले निगमलाई सन् 2015 फेब्रुअरी (2071 फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिनेछ।

      नागरिक न्यूज डट कमका अनुसार हाल निगमका जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर जान्छन्। युएईको दुबई उडान स्थगन गरेको छ भने भारतको नयाँदिल्ली उडान पूर्णरूपमा बन्द गरेको छ। नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ। बोइङ 757 लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह