फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बर्दियामा होमस्टे व्यवसाय आम्दानीको राम्रो स्रोत बन्दै

(GMT+08:00) 2013-11-12 19:23:37

      बर्दियाको सूर्यपटवास्थित डल्ला गाउँमा सञ्चालन गरिएको होमस्टे व्यवसाय आम्दानीको राम्रो स्रोत बनेको छ। होमस्टेमा बाह्य तथा आन्तरिक गरी 14 हजार 5 सय पर्यटकले अवलोकन गरेका छन्, जसबाट करिब 40 लाख आम्दानी भएको जैविक मार्ग होमस्टे व्यवस्थापन समितिका सचिव शालिकराम चौधरीले बताउनुभयो।

      राम्रो आम्दानी हुन थालेपछि स्थानीय होमस्टे सञ्चालनप्रति आकर्षित हुन थालेका छन्। 067 फागुन 17 देखि बर्दियाको सूर्यपटवास्थित डल्लामा सञ्चालनमा आएको होमस्टेको 070 असोजसम्ममा 14 हजार 5 सय आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरिसकेका छन्।

      पश्चिम तराई भू–परिधि कार्यक्रम (ताल) को उत्प्ररेणामा 11 घरले पहिलोपटक सञ्चालन गर्न थालेकोमा हाल 22 घरले होमस्टे सञ्चालन गरेका छन्। सुरुमा होमस्टे सञ्चालन गर्दा 2 लाख 42 हजार लगानीमा तयारी भएको थियो। होमस्टेमा स्थानीय भेषभुषा, संस्कृति, थारू नृत्यलगायतका विभिन्न थारू परिकारको मज्जा लिन सकिने सचिव चौधरीले बताउनुभयो।

      जैविक मार्ग होमस्टे डल्ला नजिकैको शिव सामुदायिक वनमा गैंडा, हात्ती र बाघलगायतका जनावरको अवलोकन गर्न बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराबाट विदेशी तथा आन्तरिक पर्यटक आउने भएपछि होमस्टेको योजना बनेको अर्का सदस्य पर्शुराम थारूले बताउनुभयो।

      होमस्टे सञ्चालनको योजना धेरै अघिदेखि बने पनि पटक–पटक असफल भएको सदस्य गोपाल योगीको भनाइ छ। "ताल कार्यक्रमले स्थानीय सामुदायिक वनका उपभोक्तालाई विभिन्न किसिमका तालिम र गोष्ठीमा बाहिरी जिल्लाको अवलोकन÷भ्रमण गराउने गर्दा पनि होमस्टे सञ्चालन गर्ने प्रयास असफल भएको थियो," उहाँले भन्नुभयो, "पाँचौंपटकमा उद्घाटन गर्न सफल भएका हौं ।"

      होमस्टेमा पाहुनालाई पारिवारिक सम्मान गर्नुका साथै स्थानीय स्तरमा थारू संस्कृति झल्कने नृत्य महिलाले देखाउने गछन्। एकपटक नृत्य देखाएको 1 हजारदेखि 2 हजारसम्म तिर्नुपर्ने होमस्टे सञ्चालकको भनाइ छ। होमस्टे जैविकमार्ग डल्लाबाट बर्दिया राष्ट्रिय निकुञ्ज लगभग 5 किलोमिटर टाढा उत्तर–पश्चिममा पर्ने खबर कारोबार अनलाईनमा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह