फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल उद्योग वाणिज्य महासंघद्वारा 33 दलको बन्दको विरोधमा शान्ति र्‍याली

(GMT+08:00) 2013-11-13 18:50:30

      नेपाल उद्योग वाणिज्य महासंघले 33 दलको बन्दको विरोधमा शान्ति र्‍याली निकालेको छ। र्‍याली काठमाडौंको खुल्लामञ्चबाट निकालिएको थियो। यातायात व्यवसायी र उद्योग व्यवसायीले निर्वाध रुपमा आफ्नो व्यवसया सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै नेपाल उद्योग वाणिज्य महासंघले बन्दको विरोध गर्न र्‍याली निकालेका हुन्।

       यातायात बन्द लगायत सम्पूर्ण बन्दको फिर्ता लिन माग गर्दै महासंघको अगुवाईमा उपत्यकाका सबै नाकाबाट सवारीसाधन सहितको र्‍याली निकालेर खुल्ला मञ्चमा आई कोणसभा गरेको छ। सबै नागरिकलाई बन्दको विरोध गर्दै र्‍यालीमा सहभागी हुन पनि महासंघले आह्वान गरेको छ।

      र्‍यालीमा सहभागी उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले बन्द सँधैका लागि बन्द गराउन यो र्‍याली निकालेको बताउनुभयो। बन्दले सर्वसाधारण मारमा पर्ने भएकाले सहयोग गर्न पनि आग्रह गर्नुभयो।

       त्यस्तै राष्ट्रिय व्यवसायी पहलका महासचिव सुरेन्द्रबीर मालाकारले बन्दले कसैको हित नगर्ने भन्दै बन्द फिर्ता लिन बन्दकर्तालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो – सरकार र निर्वाचनमा सहभागी दल निर्वाचनको प्रचारमै केन्दि्रत भएकाले बन्दको असरका बारेमा उचित सम्बोधन नगरेको भन्दै यसलाई फिर्ता गराउन प्रमुख दल सरकार गम्भिर हुनुपर्छ।

      त्यस्तै होटल व्यवसायी संघका अध्यक्ष श्याम सुन्दरलाल कक्षपतीले चुनावको अघिपछि भएको बन्दका कारण होटल व्यवसाय चौपट भएको भन्दै आक्रोस व्यक्त गर्नुभयो। पर्यटनको मुख्य सिजनमा भएको बन्दले नेपाललाई ठूलो आर्थिक क्षति भएको उहाँको भनाई छ।

      मंगलबार दरबारमार्गस्थित सडकमै पत्रकार सम्मेलन गरी नेपाल उद्योग वाणिज्य महासंघसहितका विभिन्न वस्तुगत संघहरूले बन्दको प्रतिकार गर्दै देशभर विरोध र्‍याली निकाल्ने घोषणा गरेको थियो। महासंघले यसअघि पनि एनेकपा माओवादीको आमहड्तालमा शान्तिसभा आयोजना गरी प्रशंसा पाएको थियो। उसले 'निर्णायक बहस'जस्ता कार्यक्रम गरी दलहरूलाई गलत बाटोमा लाग्नबाट रोक्ने प्रयाससमेत गरेको थियो।

       महासंघले शान्ति संवाद तथा समन्वय समितिमार्फत बन्द–हड्तालका कार्यक्रम फिर्ता लिन मोर्चाका संयोजक मोहन वैद्यसँग आग्रह गर्दै आएको थियो। महासंघ सचिवालयमा मंगलबारै बसेको समितिको बैठकले 5 बुँदे निर्णय गर्दै शान्ति ¥यालीसहितका कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो।

      राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) महासचिव सुरेन्द्रवीर मालाकारले बन्द–हड्तालका कार्यक्रमले निजी क्षेत्रलाई अप्ठ्यारोमा पारेको बताउनुभयो। एन प्याब्सनकी अध्यक्ष गीता राणा, हिसान अध्यक्ष उमेश श्रेष्ठ, प्याब्सन अध्यक्ष डा. बाबुराम पोखरेललगायतले बन्दबाट विद्यार्थी र व्यावसायिक क्षेत्र मारमा परेको भन्दै राजनीतिक समस्याको मागका लागि बन्द–हड्तालका कार्यक्रम नल्याउन आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह