फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको शेयर बजार उकालो लाग्दै 4 वर्षयताकै उच्च विन्दुमा

(GMT+08:00) 2013-11-14 16:56:42

       संविधानसभा निर्वाचनपछि मूल्य बढ्ने अपेक्षासँगै लगानीकर्ताले धमाधम सेयर खरिद गर्न थालेपछि बजार परिसूचक नेप्से 6 सय अंकभन्दा माथि पुगेको छ। यो 4वर्षयताकै उच्च हो।

     नेकपा–माओवादी नेतृत्वको 33 दलीय मोर्चाले चुनावलाई लक्षित गर्दै आह्वान गरेको बन्द प्रभावकारी नदेखिएपछि चुनाव हुने निश्चित भएको भन्दै लगानीकर्ताले बजारमा लगानी बढाउन थालेका हुन्। बुधबारको कारोबार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) 600.07 अंकमा पुगेको छ। यो बिन्दु अघिल्लो दिनभन्दा 2.03 अंकले बढी हो।

        बुधबार सेयर बजार परिसूचक बढ्ने क्रमले निरन्तरता पाएपछि 4वर्ष पछिकै उच्च अंकमा पुगेको हो। यसअघि 066 असोज 22 गते नेप्से 604.37 अंकमा थियो। सो दिन नेप्सेको कुल बजार पुँजीकरण 4खर्ब 23 अर्ब 73 करोड रुपैयाँ थियो। तर, बुधबार नेप्सेको बजार पुँजीकरण 6 खर्ब 8 अर्ब रुपैयाँ पुगेको छ।

      मंगलबार र बुधबारको परिसूचकसँगै बजार पुँजीकरणमा समेत भएको सुधारले सेयर बजारमा 'बुलिस ट्रेन्ड' देखिएको विश्लेषकहरू बताउँछन्। बुधबारको बजार पुँजीकरण नेप्से हालसम्मकै उच्च 1175 अंक (065 भदौ 15)मा पुग्दाको तुलनामा 4अर्ब रुपैयाँले मात्र थोरै छ। सो दिन बजार पुँजीकरण 6 खर्ब 12 अर्ब 54करोड रुपैयाँ थियो।

      065 भदौ 15 देखि घट्दो क्रममा रहेको नेप्से 068 असार 1 गते हालसम्मकै न्यून 292 अंकमा झरेको थियो। त्यसबाट पुनः सुधारको क्रममा देखिएको नेप्से 5 वर्षपछि 6 सयमा पुगेको हो।

       चुनाव हुने निश्चित भएपछि सेयर बजारमा करोबार हुने सीमित दिन हुँदा अधिकांश लगानीकर्ताले सेयर किनेकाले बजारमा सुधार आएको सेयर विश्लेषक रवीन्द्र भट्टराईले बताउनुभयो। "चुनाव नजिकिँदै जाँदा बजारमा सट्टाबाजी बढेको छ," उहाँले भन्नुभयो।

      सेयर बजार निरन्तर बढ्दो क्रममा नरहने भएकाले चुनावपछि सच्चिने भट्टराईको अनुमान छ। कारोबार रकममा पनि सुधार आएकाले नेप्से परिसूचकमा आएको सुधार सामान्य रहेको उहाँको बुझाइ छ । लगानीकर्ताले चुनावलाई आधार बनाएर सेयर खरिद गर्न लागेकाले बजार सकारात्मक भएको छ।

      स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले नेकपा–माओवादीको यातायात बन्द निष्प्रभावी हुँदा मंसिर 4गते चुनाव हुने निश्चित भएपछि लगानीकर्ताको मानोबल बढेको बताउनुभयो। चुनावअघि लगानी गर्नसके पछि बजारमा अझ सुधार आउने भएकाले फाइदा हुने आशामा लगानीकर्ताले लगानी बढाएका हुन्।

       बुधबार कारोबार सुरु भएदेखि बढ्न थालेको परिसूचक बन्द हुँदासम्म कायम रह्यो। कारोबार सुरु हुँदा 598.04अंकमा रहेको नेप्से 2.03 अंकले बढेर बन्द हुँदा 600.07 मा पुगेको हो। 'क' वर्गका कम्पनीको 'सेन्सेटिभ इन्डेक्स' पनि सामान्य अंकले बढेको छ। नेप्सेमा बाहुल्य रहेको बैंक, बिमा तथा वित्त कम्पनीको सेयर मूल्य बढ्दा बजार उकासिएको हो।

       बुधबार कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ 3.8, विकास बैंक 5.19, बिमा 34.15 र वित्त 1.66 अंकले बढेका छन्। तर, होटल 6.01, जलविद्युत् 3.4र अन्य समूह भने 14.09 अंकले घटेका छन्।

      बुधबार 97 कम्पनीका 2 हजार 7 सय 74कारोबारबाट 30 करोड 13 लाख 39 हजार रुपैयाँबराबरका 8 लाख 36 हजार 58 कित्ता सेयर खरिद–बिक्री भएका छन् । मंगलबार 88 कम्पनीका 2 हजार 5 सय 74कारोबारबाट 29 करोड 88 लाख 33 हजार रुपैयाँबराबरका 16 लाख 25 हजार 8 सय 3 कित्ता सेयर किनबेच भएका कारोबार अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह