फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अलैचीको मुख्य सिजनमा अलैचीको मुल्य दिनानु दिन उकालो

(GMT+08:00) 2013-11-15 16:20:37
      अलैचीको मुख्य सिजनमा अलैचीको मुल्य दिनानु दिन उकालो लागेको छ। असोज शुरुसँगै प्रतिमा 40 हजारबाट खरिदविक्री शुरु भएको अलैची दिनदिनै बढेर प्रतिमन 55 हजारमा खरिदबिक्री शुरु भएको छ।

     मूल्य अझै वृद्धिहुने व्यवसायीहरु बताउछन्। 2056 मा एक पटक प्रतिमन 18 हजार रुपैयाँ पुगेको अलैचीको मूल्य त्यसपछि ह्रास हुँदै 5 हजार रुपैयाँसम्म घटेको थियो। यो वर्ष उत्पादनमा आएको ह्रास र अन्तराष्ट्रिय बजारमा माग बढेपछि मूल्य एकाएक वृद्धि भएको अलैची व्यवसायी संघका केन्द्रीय सदस्य तथा निकाशीकर्ता खाँदबारी– 3 का सुमन श्रेष्ठ बताउनुहुन्छ। ठूलो दाना, राम्ररी सुकेको र धुँवा नलागेको जम्बुजेट भनेर चिनिने अलैंचीको मूल्य अहिले पनि सामान्य भन्दा प्रतिमन 2 हजार रुपैयाँ वढी छ। अर्थात यो अलैची प्रतिमन 57 हजार रुपैयाँमा किनबेच भइरहेको छ।

      फुलखेल्ने बेला गत वर्ष (चैत– बैशाख) मा लामो समय खडेरी र गानो तथा लाँक्रा कुहिने रोगले यो वर्ष अलैची उत्पादन 50 प्रतिशतसम्म ह्रास भएको थियो। कृषि विकास कार्यालय सङ्खुवासभाका अनुसार जिल्लामा यो वर्ष करिव 6 सय मेट्रिक टन अलैची उत्पादन ह्रास भयो। देशभरमा 5 हजार मेट्रिकटनमात्र उत्पादन भयो । खडेरी र रोगका कारण उत्पादन 2 हजार मेटन ह्रास भएको हो। उत्पादन ह्रासकै कारण मूल्य अधिक बन्दै गएको निकाशी व्यवसायी सुमन श्रेष्ठले बताउनुभयो।

     मसला, च्यावनप्राससमेत बनाउन प्रयोग हुने अलैची उत्पादन ह्राससितै मूल्य अधिक वृद्धि भइरहेको हो। भूटान र भारतमा पनि उत्पादन ह्रास भएपछि मूल्य एकाएक बढ्यो। नेपालको अलैची करिव 90 प्रतिशत तेश्रो मूलुक निकाशी भइसकेको छ। माग बढ्दै गएको र स्टक नभएपछि मूल्य वृद्धि कायम रहेको निकाशी व्यवसायी चैनपुर– 2 का पासाङ शेर्पा बताउनुहुन्छ। अलैचीमा चैत, बैशाखमा फुल खेल्छ । फुल खेल्ने समयमा लामो खडेरी परेकोले फुल खेल्न नपाएपछि उत्पादनमा बढी असर पुगेको कृषि विकास कार्यालयका प्राविधिक सहायक कृष्णप्रसाद रेग्मीले बताउनुभयो। अधिक मूल्य वृद्धिको कारण पनि उत्पादन ह्रास नै प्रमुख हो । उहाँ भन्नुहुन्छ, कृषि विकास कार्यालयका अनुसार अधिकांश बगानमा अलैची बिरुवाको गानो र लाँक्रा कुहिने रोग पनि देखाप¥यो । समयमा रोगको उपचार नगर्दा त्यसले पनि उत्पादनमा ठूलो ह्रास व्यहोर्नु परेको अलैचींखेतिका जानकारहरुको भनाइ छ ।

      अलैंची निकाशीबाट वर्षेनी देशमा करिव 1 अरव रुपैयाँ भित्रन्छ। मसला, औषधि, तेल र मद्यपान बनाउन प्रयोग गरिने अलैंची नेपालको काँकडभिट्टा, जोगवनी नाकाहुँदै भारत पुग्छ । भारतबाट तेश्रो मुलुकमा निर्यात गरिन्छ। हिमाली, इलमी र भारत ब्राण्ड दिएर अलैंची तेश्रो मुलुक पुग्ने गरेको अलैंची व्यवसायीहरु बताउछन्। तेश्रो मुलुकमा यसको मूल्य झण्डै 60 हजार मन रहेको निकाशी व्यवसायीहरुको भनाई छ। कालोमोति र सुनबुटी भनेर पनि चिनिने अलैची भदौं पहिलोसातादेखि कात्तिक दोश्रो सातासम्म किनबेच बढी हुन्छ। यो वर्षको उत्पादन झण्डैं 90 प्रतिशत निकाशी भइसकेको समयमा मूल्य वृद्धि हुँदा कृषकले यसको प्रत्यक्ष लाभ लिन पाएनन्। व्यवसायीले र ठूला कृषकले स्टक राखेको अलैचींमात्र वढेको मूल्यमा किनबेच भइरहेको छ। अलैचंको मुख्य सिजन भदौं– कात्तिकमा कृषकले व्यवसायीलाई बिक्री गरिसकेका थिए। यसले साना कृषकले वृद्धि भएको मूल्य पाउन सकेनन्।

     देशमा ताप्लेजुङ अलैंची उत्पादनमा अग्रणी छ। त्यसपछि सङ्खुवासभा आउछ। देशका पूर्व, पश्चिम र मध्यपश्चिमका 36 जिल्लामा अलैंची उत्पादन हुन्छ। देशभर 13 हजार हेक्टर जमिनमा यसको खेति गरिन्छ भने 7 हजार मेट्रिक टन उत्पादन हुने कृषि तथा सहकारी मन्त्रालयको तथ्याङकमा उल्लेख छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह