फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निर्वाचन सुरक्षाका लागि सरकारद्वारा सुरक्षा सतर्कता अझ तीव्र

(GMT+08:00) 2013-11-15 16:20:37

      नेपाल सरकार गृह मन्त्रालयले संविधानसभा निर्वाचन विरोधी दलहरूका हिंसात्मक गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता गतिविधिको नियन्त्रणका लागि थप सुरक्षा सतर्कता अपनाइएको जानकारी दिएको छ।

     मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शङ्कर कोइरालाले मुलुकभर नै निर्वाचन सुरक्षा तयारी पूरा भएको जानकारी दिँदै हिंसात्मक र अवरोधजन्य कार्य रोक्न सुरक्षा मार्गदर्शन 2070 अनुसार निर्वाचन शान्तिसुरक्षा सुदृढ र भरपर्दो बनाइएको स्पष्ट पार्नुभयो।

      त्यस्तै, मतदाताहरूको सुरक्षाका लागि मतदान केन्द्रका अतिरिक्त मुख्य राजमार्ग, सहायक राजमार्ग र अन्य सडकमार्गहरूमा सुरक्षा चेकिङ, मोबाइल गस्ती, हवाई गस्ती बढाई यातायात सेवालाई सुचारु, सहज र सुरक्षित पारिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ।

      निर्वाचन विरोधी दलहरूले सर्वसाधारण नागरिक एवं अवोध बालबालिकाको ज्यान जाने गरी गरेका आगजनी, तोडफोड, विस्फोटजस्ता हिंसात्मक घटनाको भत्र्सना गर्दै मन्त्रालयले मतदाताहरूलाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह पनि गरेको छ। हिंसात्मक गतिविधि तुरुन्त रोक्नसमेत आह्वान गरेको छ।

     मन्त्रालयका अनुसार आगजनी तथा तोडफोड भएका 12 वटा सवारी साधनलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराई बन्द र हडतालमा सवारी साधन सुचारु रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई पुनः आग्रहसमेत गरेको छ।

      यस्ता हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा केहीलाई पक्राउ गरिएको छ। त्यस्तै, संविधानसभा निर्वाचन विरोधी समूहले मतदान सामग्री लुटपाट, सवारी साधनमा तोडफोड र आगजनी गर्नुका साथै बाटो अवरुद्ध पारेको पनि जनाइएको छ। पक्राउ पर्नेहरूमा धेरैजसो नेकपा–माओवादी (वैद्य) समूहका कार्यकर्ता छन्। चुनाव विरोधी गतिविधि सञ्चालन गर्दै आएका 33 दलमध्ये तोडफोड, आगजनी, पेट्रोल बम प्रहार गर्ने र सार्वजनिक स्थलमा शङ्कास्पद बस्तु राखी सर्वसाधारणमा त्रास, भय तथा आतङ्क फैलाउनेमा वैद्य समूहकै कार्यकर्ता अग्रस्थानमा रहेको थप जानकारी पनि प्रहरीले दिएको छ।

      प्रहरी आयुक्त कार्यालयका अनुसार पक्राउ पर्नेमा धेरैजसो मजदुर नेता कार्यकर्ता रहेका छन् । आयुक्त प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पालले उपत्यकामा भएका हिंसाका घटनामा अज्ञात समूहको संलग्नता भनिए पनि ती सबै घटनामा वैद्य समूहको संलग्नता देखिएको स्पष्ट पार्नुभयो। तोडफोड र आगजनीमा अन्य दलका कार्यकर्ताको संलग्नता नरहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।

     यस्तै, सशस्त्र प्रहरी बलले आसन्न संविधानसभा निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न आवश्यक पर्ने तयारी पूरा गरेको छ ।

     सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी बलको निर्वाचन सुरक्षा तयारीको अवस्था, प्रहरी परिचालन, बन्दोबस्ती र स्रोतसाधनलगायतका विषयमा जानकारी लिनुभएको छ।

     महानिरीक्षक वन्तले केन्द्रीय निर्वाचन सेल तथा पाँचै विकास क्षेत्रमा परिचालन गरिएका क्षेत्रीय निर्वाचन सेलबाट भए गरेका कामकारबाही तथा उपलब्धिबारे जानकारी लिनुभएको छ।

      सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित प्रत्यक्ष भिडियो ब्रिफिङपछि उहाँले द्विविधारहित ढङ्गले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।

     स्रोतसाधन र बन्दोबस्तीमा समस्या आइपरेमा केन्द्रीय निर्वाचन सेलसँग समन्वय गर्नसमेत उहाँले निर्देशन दिनुभयो। अन्य सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय जनतासँग राम्रो समन्वय गरेर कार्य गर्न आग्रह गर्नुभएको छ।

       सशस्त्र प्रहरी बल संवेदनशील तथा अतिसंवेदनशील क्षेत्रहरू समेत गरी 60 भन्दा बढी जिल्लामा परिचालित छन्। निर्वाचनमा बलको जनशक्ति करिब 32 हजार परिचालित छ । निर्वाचनमा प्रभावकारी ढङ्गले सुरक्षा व्यवस्था मिलाउन बलले सम्पूर्ण जनशक्तिलाई 'निर्वाचन सुरक्षा अनुशिक्षण तालिम'समेत दिइसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह