फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संविधानसभाको निर्वाचनमा खटिने कर्मचारीलाई विशेष अधिकार

(GMT+08:00) 2013-11-18 17:09:40

         नेपालमा भोलि हुने संविधान सभाको निर्वाचनका लागि 10 हजार 13 स्थानका 18 हजार पाँच सय 85 चुनावी बुथमा खट्ने सुरक्षाकर्मीले कानुनविपरीत कार्य गर्ने जोकोहीलाई गिरफ्तार गर्ने अधिकार पाएका छन्। 10 घण्टाको मतदान अवधिमा चुनाव बिथोल्न खोज्नेलाई म्यादी, जनपथ, सशस्त्र र सेनाले पक्रिनेछन्। सुरक्षाकर्मीबाहेक सबैलाई हातहतियार बोकेर हिँड्न निषेध गरिएको निर्वाचन बुथ र मतगणना स्थलमा कसैले हुलदुङगा गरी बिथोल्ने दुस्प्रयास गरे तुरुन्त गिरफ्तार गर्ने अधिकार दिइएको छ।

         48 घण्टालाई प्रचार प्रसार र मदिरा निषेध गरिएको चुनावी बुथको क्षेत्रमा हतियारजन्य कुनै पनि सामग्री बोक्न पाइने छैन।'निर्वाचन निर्देशिका–2070' को परिच्छेद ६ मा 'कानुनबमोजिम सुरक्षाकर्मीले लिन पाउने हातहतियारबाहेक अरु कुनै पनि व्यक्तिले विष्फोटक पदार्थसमेत बोक्न नपाउने'उल्लेख छ। बुथ परिसरमा रासायनिक र विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै खालका हतियार लिएर प्रदर्शन गर्न र हिँड्नसमेत पाईंदैन।

         'चुनावी वुथ र मतगणना स्थलमा कर्मचारीलाई काममा बाधा पुर्‍याउन खोज्नेलाई सुरुमा बाहिर निस्कन आदेश दिने र नमाने गिरफ्तार गरी कारवाही गर्ने व्यवस्था छ'इलाम क्षेत्र नम्बर 2 का निर्वाचन अधिकृत बाबुकाजी बानियाँले भन्नुभयो,'कानुन उल्लंघन गर्दै चुनावी प्रक्रिया बेवास्ता गर्नेलाई सम्बन्धित मतदान अधिकृतले आदेश दिनासाथ सुरक्षाकर्मीले त्यसको पालना गर्नुपर्नेछ।'देशभरका चुनावी बुथमा चार लाख 40 हजार हाराहारी कर्मचारी परिचालित छन्।

         नागरिक अनलाइनका अनुसार थुप्रै मतदाताको लाम हुने चुनावी बुथको शान्ति खल्बलिन नदिन चुनावी प्रक्रिया सुरु हुनुअघिका तीन घण्टादेखि मतदान जारी रहुञ्जेल शान्ति खल्बल्याउन पाइने छैन। मतदानको काममा संलग्न व्यक्ति र कर्मचारीलाई बाधा पुग्ने गरी बुथ रहेको भवन, घर र जग्गाको दुई सय मिटर वरिपरि शान्ति भङ्ग गर्न दिईंदैन। पहिल्यै सूचना टाँस गरी चुनावी बुथलाई शान्ति कायम राख्न चौतर्फी आग्रह गरिने र अटेर गरे गिरफ्तारी कारवाही गरिनेछ।

         बुथमा आसपासको क्षेत्रमा लाउड स्पिकर, मेगाफोन र ठूलो आवाज निकाल्ने सामग्री बजाउन पाईंदैन' इलामका निर्वाचन अधिकारी कमल भट्टराईले भन्नुभयो,'बाजा बजाउन, नाचगान गर्न, भोजभतेर चलाउन, जुलुस निकाल्न, सभा समारोह गर्न र हूल बाँधेर हिँड्न पनि निषेध गरिएको छ ।' यसको निगरानी गर्न कार्यस्थलमा खट्ने सुरक्षाकर्मीबाहेक देशभर अनुगमन अधिकृत नियुक्त गरिएका छन्। उनीहरुले तोकिएका बुथ पुगेर शान्ति सुरक्षा हेर्नेछन्।

          निर्वाचन प्रक्रिया, विधि र अवस्था अनुगमन गर्न नियुक्त गरिएकालाई सिडिओ सरहको अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले कसैले छल र बदमासी गरेर चुनाव बिथोल्न नसक्ने दावी गर्नुभयो।'बुथमा पुग्ने उनीहरुले शान्ति सुरक्षाको अवस्था मूल्यांकन गरी स्थिति जटिल भए गोली हान्नेसम्मको आदेश दिनसक्छन्' उहाँले भन्नुभयो,'सदरमुकाममा सुरक्षा समितिका पदाधिकारीसँग उनीहरु सम्पर्कमा रहनेछन्।'

          सुरक्षाकर्मीको स्कर्टिङमा मोवाइल टोलीका रुपमा परिचालन हुने अनुगमन अधिकृतका लागि इलामका तीन क्षेत्रमा नौ जना नियुक्त भएका छन्। क्षेत्र नम्बर 1 मा राजकुमार पोखेरल, राजेन्द्र काफ्ले र पुरुषोत्तम घिमिरे छन्। क्षेत्र नम्बर 2 मा लोकबहादुर भण्डारी, कृष्णप्रसाद पुडासैनी र प्रकाशकुमार डाँगी छन् भने क्षेत्र नम्बर 3 मा सुमन घिमिरे, दिलनाथ पुरी र सदीक्षा कार्कीले उक्त जिम्मेवारी पाएका छन्। उनीहरु सबै सरकारी कार्यालय प्रमुखका रुपमा कार्यरत कर्मचारी हुन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह