फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एमाओवादीको बहिस्कारवादी भनाइप्रति निजीक्षेत्र चिन्तित

(GMT+08:00) 2013-11-22 18:51:47

               सशस्त्र द्वन्द्व, बन्दद्धहडताल, चन्दा आतंकले लामो समयदेखि चपेटामा परेको नेपालको निजी क्षेत्र एकीकृत नेकपा माओवादीद्वारा बिहीबार सार्वजनिक अभिव्यक्तिप्रति अझै सशंकित बनेको छ।

               एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मत परिणाम आफ्नो पक्षमा नभएपछि निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगन माग गर्दै त्यसो नगरिए संसदमा सहभागिता नजनाई आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि त्यसको मार निजी क्षेत्रले पुनः खेप्नुपर्ने सम्भावना बढेको हो।

               निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरुले निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको बताउँदै एनेकपा माओवादीलाई मत परिणाम स्वीकार गरी मुलुकलाई निकास दिन अनुरोधसमेत गरेका छन्। निजी क्षेत्रले गरेको पर्यवेक्षणमा समेत निर्वाचन स्वतन्त्र र निष्पक्ष देखिएकाले अब मुलुकलाई निकास दिने बाटो स्वीकार गर्ने अर्को विकल्प नभएको राष्ट्रिय व्यावसायिक पहल (एनवीआई) का अध्यक्ष पद्म ज्योतिले बताउनुभयो।

               'हामी पनि निर्वाचनको पर्यवेक्षणमा थियौँ। कहीं पनि धाँधली भएको देखिएन,' ज्योतिले भन्नुभयो, 'अहिले नै कुन पार्टी कुन स्थानमा भन्ने आकलन गर्न सक्ने अवस्था छैन। समानुपातिकको मत परिणाम आउन बाँकी नै छ। यस्तो अवस्थामा अत्तालिएर बहिष्कार गर्छौ भन्नु हुँदैनथ्यो।' कुनै पनि राजनीतिक दलको कुनैपनि असहमति भएमा समस्या समाधान राजनीतिक तरिकाबाट नै समाधान गरिनुपर्नेमा जोड दिनुभयो। 'संसारमा सबैले स्वीकार गर्ने गरिएको चुनावी परिणाम कुनै एक दलले मात्रै अस्वीकार गर्छु भन्ने जिम्मेवारपूर्ण अभिव्यक्ति हैन,' उहाँले भन्नुभयो, 'माओवादीले बहिष्कारको निर्णय त्यसको निकास निजी क्षेत्रलाई बनाउन पाइँदैन। समाधान राजनीतिक तरिकाले नै खोज्नुपर्छ ।'

             उहाँले बन्द हडतालको परिस्थितिमा कुनै निकाय उत्रिए त्यसको प्रतिरोध निजी क्षेत्रले गर्न समेत दाबी गर्नुभयो। दोस्रो संविधानसभाको निर्वाचनको तयारी सुरु भएलगत्तै निजी क्षेत्रले नेपालमा अब लगानीको वातावरणमा सुधार आउने भएकाले उत्साहित भएको जनाएको थियो । अधिकांश पार्टीले घोषणापत्रमा बन्द, हडतालाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाउनु, चन्दाको दबाब कम हुनु, लगानी सुधार गर्ने योजनाहरू पेस गर्नु लगायत कारणले निजी क्षेत्र उत्साहित भएको हो। पार्टी सञ्चालनका लागि आर्थिक पाटो महत्त्वपूर्ण रहेको विश्लेषणसहित निजी क्षेत्रले चन्दा व्यवस्थित गर्न बास्केट फन्डको समेत तयारी गरिरहेको छ। पार्टीहरू निजी क्षेत्रमैत्री बन्दै गएकाले चन्दालाई व्यवस्थित गर्नुपर्ने निचोड उनीहरूको थियो। तर निर्वाचन मत परिणाम सुरु भएलगत्तै आरोप प्रत्यारोपको राजनीति सुरु हुनु दुखद भएको टिप्पणी निजी क्षेत्रको छ। शीर्ष दलहरूबीच असन्तुलित रूपमा आएको मत परिणाम र त्यसलगत्तै एनेकपा माओवादीबाट आएको अभिव्यक्तिबाट निजी क्षेत्रलाई निकै चिन्तित तुल्याएको नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारले बताउनुभयो। 'माओवादीजस्तो जिम्मेवार पार्टीले बिहीबार दिएको अभिव्यक्ति कार्यान्वयन गरी बहिष्कार नै गर्छ भन्ने विश्वास निजी क्षेत्रलाई छैन,' राजकणिर्कारले भन्नुभयो, 'अब आन्दोलनबाट हैन। मत परिणामअनुसार जो सुकै जनुसुकै स्थानमा आए पनि सबै दलले सहमतिको राजनीति गर्नुको विकल्प छैन।'

             उहाँले एनेकपा माओवादीले भनेझैँ संसद बहिष्कार र आन्दोलन गरेमा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रले भोग्नुपर्ने बताउनुभयो। 'राजनीतिक अस्थिरताले लगानीमा असर गर्छ। अहिलेसम्म पनि राजनीतिक स्थायित्व नभएकै कारण लगानीमा निकै असर गरिरहेको थियो,' राजकणिर्कारले भन्नुभयो, 'अब पनि सहमतिभन्दा बाहिर गएर आन्दोलन बहिष्कारका काम दलबाट भइरहे मुलुकको अर्थतन्त्र झनै तहसनहस हुन्छ। त्यो कुरा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुझेका छन्। उनीजस्तो जिम्मेवार नेताले बहिष्कारको निर्णय लिँदैनन भन्ने विश्वास छ।'

              कान्तिपुर अनलाइनका अनुसार निर्वाचन, संविधानसभा लगायत ऐजेन्डा एमाओवादीले प्राथमिकताका साथ उठाएका त्यसको रक्षा गर्ने जिम्मेवारी पनि उसैको भएको उहाँले दाबी गर्नुभयो। 'मत परिणाम अझै आउन बाँकी छ । हतारमा निर्णय लिनु हुँदैन,' उहाँले भन्नुभयो, 'सबै विषयको निकास नै निर्वाचन भएकाले निर्वाचनको मत परिणामलाई एमाओवादीले स्वीकार गर्नुपर्छ।' निजी क्षेत्रले एनेकपा माओवादीले भनेझैँ संसद बहिष्कार गरी आन्दोलनको कार्यक्रम घोषणा गरेमा प्रत्यक्ष सिकार निजी क्षेत्र नै हुनुपर्ने भएकाले त्यसो नगर्न आग्रह गरेको छ। अब संविधानसभा, स्थायी सरकार र आर्थिक ऐजेन्डाको बिनामुलुकको विकास नहुनेमा उनीहरूको धारणा छ।

              शान्ति प्रक्रियामा आई पार्टी निकै जिम्मेवार भइसकेकाले एमाओवादीले हार स्वीकार नगर्ने हो कि भन्ने शंका आफूमा नरहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले बताउनुभयो। '2064 सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा चुनाव भएको थियो । उनले पीडाका साथ आफ्नो पार्टीको हार स्वीकार गरेर अघि बढेका थिए,' शर्माले भन्नुभयो, 'अहिले माओवादी अध्यक्ष पुष्पकलम दाहाललागायत केही नेताको नेतृत्वमा भएको चुनावको हार उनले स्वीकार गर्दैनन् कि भन्ने शंका मलाई लाग्दैन।' उहाँले एमाओवादीले बिहीबार गरेको अभिव्यक्तिलाई हतारमा भएको टिप्पणी भन्नुभएको छ। 'माओवादीले नै निर्वाचनका लागि राखेका 80 प्रतिशत शर्तअनुसार निर्वाचन भएको छ,' शर्माले भन्नुभयो, 'यस्तो परिस्थितिमा भएको निर्वाचनको परिणाम स्वीकार गर्नको अर्को विकल्प माओवादीसँग छैन।'

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह