फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंबाटै सगरमाथा देखिने भएपछि दक्षिणी चम्पादेवीमा पर्यकटको घुँइचो

(GMT+08:00) 2013-12-03 18:15:42

        काठमाडौँबाटै विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिम शृङ्खलाहरु हेर्ने उपयुक्त गन्तव्य बनेको काठमाडौँ दक्षिण भेगस्थित चम्पादेवीमा पर्यटकको घुँइचो बढ्दै गएको छ। विगतमा ओझेलमा परेपनि विस्तारै प्रचार हुन थालेपछि विदेशी पर्यटकहरु हिमशृङ्खलाको अवलोकनका लागि यस क्षेत्रमा दिनप्रतिदिन बढिरहेका छन्। आठ हजार 8 सय 48 मिटर अग्लो सगरमाथा अहिलेको सफा मौसममा दुई हजार 2 सय 50 मिटर उचाइमा रहेको चम्पादेवीबाटै नाङ्गा आँखाले स्पष्ट देख्न सकिन्छ भने मकालु, लाक्पादोर्जे, गौरीशङ्कर लगायतका हिम शृङ्खलाहरुसमेत एकसाथ अवलोकन गर्न सकिन्छ।

        अत्यन्त सफा मौसम भएका अवस्थामा पोखराको सुन्दर हिमाल माछापुच्छ्रे समेतको हिमशृङ्खला पनि यहीँबाट देख्न सकिने हुँदा पनि चम्पादेवी क्षेत्र काठमाडौँ उपत्यकाभित्रको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ।

          चम्पादेवीको डाँडाबाट केवल सुन्दर प्राकृतिक दृश्य र हिमशृङ्खला मात्र हैन सूर्योदय र सूर्यास्तको पनि अवलोकन गर्न सकिन्छ। "काठमाडौँ उपत्यका, हिमशृङ्खला, सूर्योदय र सूर्यास्त मात्र हैन प्राकृतिक दृश्यको साङ्गोपाङ्गो अवलोकन गर्नको लागि काठमाडौँबाट नजिकको उचाइको स्थल चम्पादेवी हो, त्यसैले पर्यटक यहाँ बढ्दै गएका छन्, " चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो।

         उहाँले काठमाडौ, भक्तपुर र ललितपुरमा आउने पर्यटकले उपत्यका नजिकको पदयात्राको खोजी गर्दा अचेल चम्पादेवीलाई पनि रोज्ने गरेकाले यहाँ पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको बताउनुभयो ।

          काठमाडौँ, चक्रपथस्थित बल्खुबाट लगभग 15 मिनेटको बस यात्राबाट पुग्न सकिने चाल्नाखेलस्थित खहरेबाट लगभग डेढ घन्टाको पैदल यात्राबाट चम्पादेवी पुग्न सकिन्छ। त्यहाँ पदयात्रा गर्न राम्रो घाम लाग्ने मौसम कात्तिक, मङ्सिर उपयुक्त हुने यस क्षेत्रका बासिन्दाको भनाइ छ।

        कात्तिक, मङ्सिरको समयमा बिहानको सूर्योदय समेत सगरमाथाको टुप्पोबाट उदाएको देखिने भएकाले पनि यसको आकर्षण विशेष रुपमा बढेको तामाङको भनाइ छ। बल्खु दक्षिणकाली मार्गमा पर्ने खहरेबाट जान सकिने चम्पादेवीमा पछिल्लो समयमा मकवानपुरको हेटौँडा, कुलेखानी, दक्षिणकाली हुँदै बल्खुमा यातायात सुलभ भएकाले यहाँ पर्यटकको आवागमनको क्रम समेत बढ्दै गएको छ।

         काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, मकवानपुरलगायत एक साथ विभिन्न जिल्लाको अवलोकन गर्न सकिने चम्पादेवीलाई धार्मिक दृष्टिबाट पनि उत्तिकै महत्वको स्थलका रुपमा लिइन्छ। चम्पादेवीको फेदीमा पर्ने उपत्यकाको मनोरम प्राकृतिक दह टौदह चम्पादेवीबाट अत्यन्त सुन्दर देखिन्छ भने चम्पादेवीकै स्पष्ट छायाँ टौदहमा देख्न सकिनु पर्यटकीय आकर्षणको अर्को महत्वपूर्ण पक्ष हो।

         चम्पादेवीमा हाल सामान्य पर्खालको बीचमा खुला मन्दिर भए पनि यहाँ एउटा भव्य मन्दिर निर्माण गर्नसके यहाँको आकर्षण अझै बढ्न सक्ने यस क्षेत्रका स्थानीयवासी बताउँछन् । चम्पादेवीकै आधार क्षेत्रका रुपमा रहेको चम्पादेवी पाउ मन्दिरमा प्रत्येक वर्षको मार्ग शुक्ल चतुर्दशीमा विशेष मेला लाग्ने गरेकोमा यस वर्षको मेला आगामी पुस 1 गते लाग्ने भएको छ। बाघ, भालु, चितुवासहित विभिन्न किसिमका वन्यजन्तु पाइने चम्पादेवीमा दुर्लभ मेची बिरालो, वन बिरालोसहित मलसाप्रो, लोखर्के, दुम्सी, बाँसोजस्ता वन्य जन्तुहरु समेत पाइने कारण वन्य जन्तुहरुको अध्ययनका लागि पनि यो एउटा खुला चिडियाखानाको रुपमा रहेको गोरखापत्र अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह