फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दिगो र समावेशी विकास अबको लक्ष्य हुनुपर्ने नेपालका अर्थमन्त्रीको भनाइ

(GMT+08:00) 2013-12-04 16:39:16

       नेपालका अर्थ मन्त्री शंकरप्रसाद कोइरालाले बहुपक्षीय व्यापार प्रणाली विश्व व्यापारका सन्दर्भमा केन्द्रमा रहनुपर्ने बताउनु भएको छ। विश्व व्यापार संगठन वाणिज्य मन्त्रीस्तरीय विश्व सम्मेलनको दोस्रो दिन प्लेनरी सत्रलाई इण्डोनेसियाको बालीमा सम्बोधन गर्दै मन्त्री कोइरालाले यसका लागि समृद्ध मुलुकहरुलाई लचिलो हुन आग्रह गर्नुभएको हो।

       अति कम विकसित मुलुक (एलडीसी) को संयोजक रहेका मन्त्री कोइरालाले सन् 2015 सम्म शताब्दी लक्ष्य हासिल गर्न विकासका मुद्दाहरु परिभाषित गर्नुपर्ने चरणमा रहेका बेला बहुपक्षीय व्यापार थप सान्दर्भिक रहेको बताउनुभयो।

         दिगो र समावेशी विकास अवको लक्ष्य हुनुपर्ने बताउँदै मन्त्री कोइरालाले बाली सम्मेलनले त्यसमा सन्तुलित र विश्वसनीय अवधारणा ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसका लागि सर्वपक्षीय राजनीतिक इच्छाशक्तिको खाँचो रहेको स्पष्ट पार्नुभयो।

     'अहिलको विश्व व्यापार संगठन दोहा वार्ताको चरणमै रहेको हुँदा विकास मुद्दालाई व्यापार मुद्दा बनाइनु पर्छ। अति कम विकसित मुलुकका मुद्दाहरुलाई भन्सारहित कोटारहित बजार पहुँचका साथै सरल, पारदर्शी र उत्पतिको नियम व्यवस्था हुनुपर्छ' मन्त्री कोइरालाको भनाइ थियो।

        सेवा क्षेत्रमा दिएको छूटको कार्यान्वयन र कटन सम्बन्धी मुद्दाको छिनोफानो बाली सम्मेलनले गर्नुपर्नेमा जोड दिँदै उहाँले एलडीसीले डब्लुटीओको सदस्य बन्न पालना गर्नुपर्ने प्रावधानको सरल र प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

        मन्त्री कोइरालाले भन्नुभयो,'बहुपक्षीय व्यापारका नियमहरु उल्लेख भएका विशेष र फरक प्रकारका व्यवहार सम्बन्धी व्यवस्थाको समेत प्रभावकारी कार्यान्वयन हुनुपर्छ।'

         व्यापार सहजीकरण सम्बन्धी सम्झौतामा एलडीसीका भूपरिवेष्ठित यस्ता विशेष प्रकृतिका मुद्दाहरुको सम्बोधन हुनुपर्ने उल्लेख गर्दै कृषि सम्बन्धित एजेण्डाको सहमतीय विन्दु खोजी गरिनुपर्ने बताउनुभयो।

         एक फरक प्रसंगमा मन्त्री कोइरालाले संविधानसभाको शान्तिपूर्ण चुनावपछि नेपालमा राजनीतिक स्थायित्वका लागि आर्थिक सामाजिक रुपान्तरण आवश्यक भएको बताउनुभयो।

        नेपालको वहुपक्षीय व्यापार प्रणालीमा प्रभावकारी एकिकरण देशको समग्र विकासको उद्देश्य पूर्तिका लागि आवश्यक रहेको उहाँको तर्क रहेको नागरिक अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह