फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले प्राप्त गर्दै आएको चिनियाँ सहयोग निरन्तर रहने

(GMT+08:00) 2013-12-05 18:27:28

       चिनियाँ विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सुरक्षा मामला प्रमुख छ्वु को होङले हिजो बुधबार नेपालका गृह र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग विशेष वार्ता गर्नुभएको छ।

        सन् 2008 देखि 2011 सम्म नेपालका लागि राजदूत रहनु भएका छ्वु को होङले नेपाली अधिकारीहरूसँग नेपाल-तिब्बत सीमा सुरक्षा र नेपाली भूमिमा हुनसक्ने चीन विरोधी गतिविधि नियन्त्रण पहलबारे छलफल गर्नुभएको हो।

         चिनियाँ विदेश मन्त्रालयको विशेष विभागको रूपमा रहेको अन्तर्राष्ट्रिय सुरक्षा मामिला डेस्कका प्रमुख छ्वु को होङले नेपाली अधिकारीहरूसँगको छलफलमा चीनले नेपाली सुरक्षा निकायको क्षमता वृद्धिका लागि दिँदै आएको सहयोग निरन्तर हुने बताउनुभयो। उहाँले दुई मुलुकको सीमा र नेपाली भूमि प्रयोग गरेर हुने अवाञ्छित चीन विरोधी गतिविधि नियन्त्रणमा नेपालले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो। उहाँले चिनियाँ सहयोगमा बन्न लागेको सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानसम्बन्धी कार्यप्रगतिबारे पनि जानकारी लिनुभयो।

         केही महिनाअघि चिनियाँ स्टेट काउन्सिलर याङ चेइछले नेपाल भ्रमण गर्दा चुनावी सहयोग र सशस्त्र प्रहरीको प्रशिक्षण प्रतिष्ठान निर्माणसम्बन्धी सम्झौता भएको थियो। दक्षिणी मित्रराष्ट्र भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने टुंगो लागेको केही महिनामै चीनले सशस्त्रका लागि त्यस्तैखाले सहयोग गरेको हो।

         छलफलका क्रममा सन् 2014 मा हुने नेपाल-चीन गृहसचिव स्तरीय वार्ताको प्रसंग पनि उठेको एक सहभागी अधिकारीले बताए। सन् 2012 मा नेपाल भ्रमण गर्ने क्रममा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन च्या पाओको पहलमा नेपाल-चीन संयुक्त सहकार्य संयन्त्र पुनर्जीवित भएको थियो। यसैअन्तर्गत दुवै देशले आलोपालो परराष्ट्र सचिव र गृह सचिवस्तरीय वार्ताहरू वर्षैपिच्छे गर्दै आएका छन्।

          नेपाली वार्ता टोलीमा गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव शंकर कोइराला, परराष्ट्रकी चीन डेस्क प्रमुख सहसचिव अम्बिकादेवी लुइँटेललगायत संलग्न थिए। गत मंगलबार नेपाल पुग्नु भएका छ्वु को होङले हिजै नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग पनि शिष्टाचार भेट गर्नुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह