फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उदीयमान गन्तव्य सूचीमा काठमाण्डौ संसारमै तेस्रो

(GMT+08:00) 2013-12-06 17:49:03

        संसारका उत्कृष्ट दस उदीयमान पर्यटन गन्तव्यको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट'ट्रिप एडभाइजर'ले पर्यटकहरूको प्रतिक्रिया र समीक्षाका आधारमा काठमाडौंलाई उक्त स्थानमा राखेको हो। काठमाडौं यो सूचीमा पर्ने दक्षिण एसियाकै एकमात्र गन्तव्य हो।

        एसियाबाट काठमाडौंबाहेक जापानको साप्पोरो र भियतनामको हनोई मात्र परेका छन्। सूचीको पहिलो स्थानमा क्युबाको हवाना र दोस्रोमा कोस्टारिकाको ला फोर्चुना डे सान कार्लोस छ।

        ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनौटका आधारमा संसारका उदीयमान 10 गन्तव्य सूची सार्वजनिक गरेको हो।'ट्रिप एडभाइजरको उत्कृष्ट उदीयमान गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,' नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार प्रसार महाशाखाका प्रमुख (निर्देशक) हिक्मतसिंह ऐरले भन्नुभयो,'यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ।'

         अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार जिम्मा लिएको बोर्डलाई यो खबरले थप हौस्याएको सिंहले बताउनुभयो। ट्रिप एडभाइजरको यही सूचीलाई केन्द्रमा राखेर प्रचारप्रसारको कामलाई तीव्रता दिइने उहाँले जानकारी दिनुभयो।

       'संसारका ठूला टुर अपरेटरहरूले यो सूचीलाई आफ्ना 'ब्रोसर' (जानकारी पुस्तिका) मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ' उहाँले भन्नुभयो,'त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन।'

        मुलुकका प्रमुख टुर अपरेटरहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका अध्यक्ष अशोक पोखरेलले ट्रिप एडभाइजरको सूचीबाट आफूहरू थप उत्साही भएको बताउनुभयो।'नेपालको पर्यटन उद्योगका लागि यो ज्यादै राम्रो र सुखद खबर हो,' उहाँले भन्नुभयो,'यो सूचीलाई'क्यास' गरेर हामी अगाडि बढ्छौं।'

          पर्यटकले एकपटक वा धेरैपटक घुमेर काठमाडौंसहित उत्कृष्ट 10 उदीयमान गन्तव्य छनौट गरेको उहाँले जानकारी दिनुभयो। ट्रिप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको पोखरेलको भनाइ छ।

       'समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले ट्रिप एडभाइजरलाई पछ्याउने गर्छन्,' उहाँले भन्नुभयो,'यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ।'

          पोखरेलको भनाइलाई ट्रिप एडभाइजरका अधिकारीहरूले आफ्ना वेबसाइटमार्फत् पुष्टि गरेका छन्।

       'सन् 2014 मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई हाम्रो यो सूचीले महत्वपूर्ण सहयोग पुर्‍याउने छ' ट्रिप एडभाइजरकी चिफ मार्केटिङ अफिसर बार्बरा मेसिङले सूची सार्वजनिक गरेपछि भन्नुभयो,'गत वर्ष यी गन्तव्य पुगेका लाखौं पर्यटकको आँखाबाट यी आश्चर्यजनक गन्तव्य छनौट गरिएका हुन्। पर्यटकले ठूला–ठूला सहरभन्दा यस्ता उदीयमान गन्तव्यमा आश्चर्यजनक बसाइ, आकर्षक होटल, रेस्टुरेन्ट पाउन सक्छन्।'

          ट्रिप एडभाइजरको यो सूचीको चौथो स्थानमा इजरायलको जेरुसेलम, पाँचौंमा पेरुको क्युस्को, छैठौं बेलिजको एम्बरग्रिस काये, सातौंमा जापानको साप्पोरो, आठौं भियतनामको हनोई, नवौं स्पेनको कोर्रालेजो र दसौं स्थानमा ब्राजिलको फोर्टालेजा सहर परेका छन्।

          ट्रिप एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ। यसका वेबसाइट प्रतिमहिना 26 करोडजनाले हेर्ने गर्छन्। हालसम्म यसमा संसारका होटल, रेस्टुरेन्ट लगायत 31 लाख विविध आकर्षक गन्तव्यबारे 12 करोड 50 लाख समीक्षा र विचार समेटिइसकेका छन्।

           सन् 2000 मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो। यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ। करिब 2 हजारजनालाई रोजगारी दिएको यसले 2012 मा 76 करोड 20 लाख अमेरिकी डलर (76 अर्ब 20 करोड रुपैयाँ) आम्दानी गरेको थियो।

          एसियाका उत्कृष्ट 25 गन्तव्यमा पनि काठमाडौं ट्रिप एडभाइजरले नै तयार पारेको'एसियाका उत्कृष्ट 25 गन्तव्य' को सूचीमा पनि काठमाडौं परेको छ।

          यो सूचीको पहिलो स्थानमा थाइल्यान्डको बैंकक परेको छ भने काठमाडौं 18 औं स्थानमा आएको हो। काठमाडौंले भारतका तीन गन्तव्यसहित चीन, लाओस, कम्बोडिया र भियतनामका गन्तव्यलाई पछाडि पारेको छ।

          सूचीमा काठमाडौंपछि क्रमशः लाओसको लुआङ प्रबाङ, भारतको जयपुर, चीनको जियान, भारतको गोआ, कम्बोडियाको न्होमपेन, भारतको मुम्बई र भियतनामको हलोङ बे रहेका छन्।

         सूचीको दुईदेखि 17 औं स्थानमा क्रमशः टोकियो (जापान), बेइजिङ (चीन), सांघाई (चीन), सियामरिप (कम्बोडिया), चियाङमाई (थाइल्यान्ड), हङकङ (चीन), सिंगापुर (सिंगापुर), क्योटो (जापान), माले (माल्दिभ्स), उबुड (इन्डोनेसिया), सोल (दक्षिण कोरिया), ताइपेइ (ताइवान), हनोइ (भियतनाम), होचिमिन्ह सिटी (भियतनाम), नयाँदिल्ली (भारत) र होइ आन (भियतनाम) रहेको नागरिक अनलाइनले उल्लेख गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह