फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत महिना नेपालमा सम्पन्न निर्वाचनमा 'धाँधली भएको'प्रति नेपाली सेनाको आपत्ति

(GMT+08:00) 2013-12-06 17:49:50

      नेपालमा गत नोभेम्बर 19 तारिखमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने नाममा भ्रमपूर्ण प्रचारबाजी गरी आफ्नो संगठनको व्यावसायिक चरित्रमाथि प्रहार नगर्न नेपाली सेनाले चेतावनी दिएको छ।

       एकीकृत नेकपा माओवादीले निर्वाचनमा सेनाले संगठित रूपमा धाँधली गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट हिजो बिहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै आफ्नो संगठनलाई 'अनावश्यक रूपले विवादमा नतान्न' भनेको हो।

       'निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहित एवं भ्रमपूर्ण प्रचारबाजी गरी अनावश्यक रूपले विवादमा तानेर राष्ट्रिय सेनाको अराजनीतिक एवं व्यावसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारबाजी भएका छन्, त्यसप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ,' सैनिक निर्देशनालयले विज्ञप्तिमा भनेको छ, 'सरकारको निर्णयबाट प्राप्त जिम्मेवारी सेनाले इमान्दार एवं कर्तव्यनिष्ठ भई पालना गरेको छ।'

         सेना सदैव देश र जनताको सुरक्षाप्रति कटिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ।'

        संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सरकारको लक्ष्यअनुरूप प्राप्त कार्यादेश इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यावसायिक ढंगले सेनाले सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ। 'सेनाको यस भूमिकालाई सरकार, निर्वाचन आयोग, कूटनीतिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, सञ्चारजगतलगायत संलग्न सबै क्षेत्रबाट समेत प्रशंसा भएको सर्वविदितै छ,' विज्ञप्तिमा भनिएको छ।

        निर्वाचन सम्पन्न भएको भोलिपल्टबाटै एकीकृत नेकपा माओवादीले मतपेटिकै साट्नेसम्मको कार्य गरेको आरोप सेनामाथि निरन्तर लगाउँदै आएको थियो। माओवादी पूर्वी ब्युरो प्रमुख तथा पूर्वअर्थमन्त्री वर्षमान पुन संयोजक रहेको पार्टीको आन्तरिक तथ्य संकलन कार्यदलले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा निर्वाचनमा सेनाले 'अदृश्य धाधँली र षड्यन्त्र' गरेको आरोप लगाइएको छ। चुनाव बेला सेनाले 'नीतिगत, संस्थागत/संरचनागत र प्रक्रियागत' गरी तीन तरिकाले धाँधली गरेको प्रतिवेदनमा उल्लेख छ। सो प्रतिवेदनमा धाँधली भएको पुष्टि गर्ने कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन।

        सुरक्षा संवेदनशीलताप्रति गम्भीर हुँदै एमाओवादी, नेपाली कांग्रेस, एमालेलगायत राजनीतिक पार्टीको सहमतिमा सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त निर्वाचनमा 62 हजार सेना खटाउने निर्णय गरेको थियो। सोहीअनुसार संवेदनशील मानिएका क्षेत्रमा सेनालाई उपस्थित गराइएको थियो।

         नोभेम्बर 19 तारिख मतदान भएपछि 20 तारिख बिहानबाट मतगणना सुरु गरिएको थियो। 21 तारिख रातिसम्म मतगणना सुरु भएका अधिकांश ठाउँमा आफ्ना उम्मेदवार तेस्रो स्थानमा देखिएपछि 22 तारिख बिहानै एकीकृत नेकपा माओवादीले पत्रकार सम्मेलन गरी निर्वाचनमा संस्थागत धाँधली भएको आरोप लगाएको थियो।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह