फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका नगरपालिकाहरुले विदेशी नगरसँग आफूखुशी भगिनी सम्बन्ध राख्न नपाउने

(GMT+08:00) 2013-12-06 17:51:34

        सरकारको स्वीकृति विना नेपालका नगरपालिकाहरुले अब आफूखुशी भगिनी सम्बन्ध गाँस्न नपाउने परराष्ट्र मन्त्रालयले बताएको छ। परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना विभिन्न नगरपालिकाले अमेरिका, जापान, कोरिया, बेलायतका नगरसँग भगिनी सम्बन्ध विस्तार गरेको पाइएपछि परराष्ट्र मन्त्रालयले अब आफ्नो सहमति अनिवार्य लिनुपर्ने बताएको हो। काठमाडौं महानगरपालिका, ललितपुर र पोखरा उपमहानगरपालिकासहित इलाम, सिद्धार्थनगर, भक्तपुर नगरपालिकाले परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना भगिनी सम्बन्ध विस्तार गरेका हुन्। सम्बन्ध विस्तार गर्न आफूसँग कुनै खाले सहमति नमागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

        भगिनी सम्बन्ध विस्तारपछि आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक क्षेत्रमा भएका अनुभव आदनप्रदान र सहयोग हुने गरेको छ। नेपालका नगरले भगिनी विदेशी सहरबाट सहयोग पाउँदै आएका छन्।

         सहमति लिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म कुनै पनि नगरपालिकाले सहमति नलिएको परराष्ट्रका प्रवक्ता दीपक धितालले बताउनुभयो। "सीमापार विस्तार हुने व्यक्तिगत, संस्थागत, सरकारी, गैरसरकारी सबै सम्बन्ध विस्तार गर्नुअघि परराष्ट्रको सहमति लिनुपर्छ," उहाँले भन्नुभयो, "भगिनी सम्बन्ध विस्तार गर्दा पनि सहमति लिनुपर्ने हो । तर, सहमति लिए–नलिएको बारे म अनभिज्ञ छु।"

         मन्त्रालयस्थित उत्तरपूर्वी एसिया महाशाखाले पनि भगिनी सम्बन्धका लागि कुनै सहमति नलिएको जनाएको छ। यस महाशाखाले जापान, उत्तर र दक्षिण कोरियालागायतका मुलुकको कूटनीतिक क्षेत्रमा काम गर्छ।

         संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पनि सम्बन्ध विस्तार गर्दा सहमति नलिने तर सम्बन्ध स्थापित भइसकेपछि परराष्ट्रलाई जानकारी दिने गरेको बताएको छ। मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले भगिनी सम्बन्धको कार्यविधि नै नभएको बताउनुभयो। "सम्बन्ध विस्तार भइसकेपछि परराष्ट्रलाई जानकारी गराउँछौं," थपलियाले भन्नुभयो, "यसलाई अझ व्यवस्थित गर्न कार्यविधि बनाउँदैछौं।"

          कति नगरपालिकाले विदेशी सहरसँग भगिनी सम्बन्ध जोडे भन्नेबारे मन्त्रालयलाई जानकारी छैन। यसबारेमा मन्त्रालय नै अनविज्ञ छ।

         काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालका अनुसार महानगरले जापानको मात्सुमोतो, बर्माको रङ्गुन, अमेरिकाको युजिन, चीनको स्वायत्त क्षेत्रअन्तर्गत पर्ने तिब्बतलगायत 9 सहरसँग भगिनी सम्बन्ध छ। अर्यालका अनुसार पाकिस्तानको इस्लामाबाद, टर्कीको अंकारा, चीनको सेञ्जेन सहरसँग पनि सम्बन्ध गाँस्ने तयारी भइरहेको छ। हाल मन्त्रालयमै कार्यरत इलाम नगरपालिकाका पूर्वकार्यकारी अधिकृत युवराज दहालका अनुसार इलामले चीनको छिचुआनसहित जापानको एक सहरसँग पनि भगिनी सम्बन्ध विस्तार गरेको छ।

        "छिचुआनबाहेक जापान, कोरियाका सहरसँग पनि इलाम नगरपालिकाले सम्बन्ध विस्तार गरेको छ," दहालले भन्नुभयो, "कतिवटा सहरसँग सम्बन्ध विस्तार भयो त्यो चाहिँ थाहा भएन।"

          पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीका अनुसार पोखराले हालसालै मात्र चीनको खुन्मिङ र जापानको उमगाने सहरसँग भगिनी सम्बन्ध गाँसेका छन् । अधिकारीका अनुसार दक्षिण कोरियाको सियोल र इन्चन, टर्कीको अडलर, चीनको क्वाङचाउ नगरपालिकासँग पनि पोखराले सम्बन्ध विस्तार गर्न लागेको छ।

          परराष्ट्रको व्यवस्थाजस्तै स्थानीय स्वायत्त शासन ऐन–2055 ले पनि स्थानीय निकायले विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ/संगठन, कूटनीतिक नियोगसँग सम्बन्ध विस्तार गर्दा सरकारसँग पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ। "भर्खरै कार्यविधिको ड्राफ्ट तयार पारिरहेका छौं। परराष्ट्रको सहमति लिनेबारे कार्यविधिमा पनि प्रष्ट पार्छौं," प्रवक्ता थपलियाले भन्नुभएको कारोबार अनलाइनले उल्लेख गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह