फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारले बजार अनुगमन प्रभावकारी बनाउने

(GMT+08:00) 2013-12-07 18:41:33

        नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ता ठगी रोक्न सबैखाले बजारमा अनुगमन गर्ने भएको छ। खाद्य तथा गैरखाद्य वस्तुमा उपभोक्ता ठगी भइरहेकाले सबै क्षेत्रमा पुग्ने गरी अनुगमन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

        वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले अन्य निकायको क्षेत्रभित्र नपर्ने बजारमा अनुगमन गर्न लागेको हो। वाणिज्यले संयुक्त रूपमा अनुगमन गर्न आवश्यक परेको ठाउँमा मात्र गर्नेछ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यवस्तुको, नापतौल तथा गुणस्तर विभागले सुनचाँदीलगायत वस्तुको र यातायात व्यवस्था विभागले सवारीसाधनको अनुगमन गर्ने बताइएको छ। यी निकायमा नपुग्ने ठाउँमा वाणिज्यले अनुगमन गर्ने मन्त्रालयले जनाएको छ।

          मन्त्रालयका सहसचिव दीपक सुवेदीले उपभोक्ता बजारमा व्यापक ठगी भइरहेको भन्दै अन्य निकाय नपुग्ने ठाउँमा वाणिज्यले कडाइका साथ अनुगमन गर्ने बताउनुभयो। "खाद्यवस्तु र सुनचाँदीको अनुगमन गर्ने छुट्टै निकाय छ। यी क्षेत्रमा अनुगमन गर्न वाणिज्य पनि सहभागी हुने गरेको छ। अब उनीहरूले मात्र गर्ने व्यवस्था गर्छौ," उहाँले भन्नुभयो।

         लत्ताकपडा, जुत्ता तथा स्टेसनरी सामग्री पसलमा पनि ठगी भएको पाइएकाले त्यसको वाणिज्यले अनुगमन गर्ने सुवेदीले बताउनुभयो। खाद्यवस्तु र सुनचाँदीमा मात्र अनुगमन गर्दै आएको वाणिज्यले 1 सातादेखि लत्ताकपडाको पनि अनुगमन सुरु गरिसकेको छ। विभागको अनुगमनमा लत्ताकपडामा मूल्य धेरै फरक पर्ने, बिल जारी नगर्ने र उपभोक्ताले धेरै बार्गेनिङ गर्नुपर्ने पाइएको छ। लत्ताकपडाको अनुगमन व्यापक बनाउँदै लैजाने विभागले बताएको छ।

         विभागका निर्देशक हरिनारायण बेलवासेले सुरुमा सानो पसलबाट अनुगमन गर्दै आयातकर्तासम्म पुग्ने बताउनुभयो। "सानो पसलले आयातकर्ताबाट नै बिल जारी हुँदैन, कसरी हामीले उपभोक्तालाई दिन सक्छौं भनिरहेको छ। बजारको वास्तविक अवस्था बुझेर ठूला आयातकर्तासम्म पुग्ने प्रयासमा छौं," उहाँले भन्नुभयो।

         उहाँका अनुसार भन्सारमा वस्तुको मूल्यअनुसार भन्सार मूल्याङ्कन नगर्दा समस्या हुन गरेको छ। "वस्तुको गुणस्तर तथा ब्रान्डका आधारमा मूल्य तोक्नुपर्ने हो तर नेपालको भन्सारमा एउटै वस्तुको भन्सार मूल्याङ्कन फरकफरक छ," उहाँले भन्नुभयो। व्यापारीले बढी मूल्य पर्ने समानको भन्सार मूल्याङ्कनअनुसार देखाउने गरेकोले भन्सार छली हुने गरेको कारोबार अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह