फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगमा काठमाडौँको पूरै चक्रपथ विस्तार हुने

(GMT+08:00) 2013-12-08 18:01:33

       काठमाडौँ उपत्यकाको पूरै चक्रपथ आगामी 5 वर्षभित्र 8 लेनमा निर्माण गर्न चीनले आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता गरेको छ। गत असारमा कोटेश्वर–कलंकी साढे 9 किलोमिटर चक्रपथ 8 लेन निर्माणमा सम्झौता गरेको चीनले बाँकी चक्रपथ पनि सँगसँगै विस्तार गर्ने भएको हो। कोटेश्वर–कलंकी लेन विस्तार सुरु भइसकेको छ।

        हाल 3 लेन रहेको यो सडकलाई 8 लेनमा विस्तार गर्न 42 महिना लाग्नेछ। विस्तार भएपछि चक्रपथ नेपालकै सबैभन्दा चौडा, आधुनिक र सुविधासम्पन्न सडक हुनेछ। विस्तारित सडकमा सर्भिस सेन्टर, फुटपाथ र साइकल लेनसमेत रहनेछन्। सो क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि सुविधासम्पन्न सीसी क्यामरा जडान गरिनेछ। यसले दुर्घघटना न्यूनीकरणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सजिलो हुने मन्त्रालयले जनाएको छ।

      "सहमतिअनुसार प्रारम्भिक सर्वे सुरु भइसकेको छ," अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भन्नुभयो, "यसअघि 2 चरणमा चक्रपथ निर्माण गर्ने सम्झौता भए पनि 2 महिनाअघि एकै पटक पूरै बनाउने सम्झौता भएको हो।"

         नेपाल सरकारले 3 महिनाअघि चक्रपथ विस्तारका लागि गरेको अनुरोध चीनले स्वीकार गरेपछि चिनीयाँ टोली नेपाल गई प्रारम्भिक सर्वे सुरु गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक सर्वे भर्खरै सुरु भएकाले अहिले नै लागत अनुमान तयार गरिएको छैन।

       "27 किलोमिटर लम्बाइ भएको चक्रपथमा साढे 9 किलोमिटर कोटेश्वर–कलंकी 8 लेन बनाउने प्रक्रिया सुरु भइसकेको छ भने बाँकी 18 किलोमिटर छिट्टै विस्तार गर्ने विषयमा प्रारम्भिक सर्वेक्षण सुरु भएको छ," उहाँले भन्नुभयो।

         मरासिनीका अनुसार चीन सरकारसँग पहिलो चरणमा साढे 9 किलोमिटर चक्रपथ निर्माण गर्ने र बाँकी 5 वर्षपछि दोस्रो चरणमा चक्रपथ विस्तार गर्ने सम्झौता भएको थियो। "काठमाडौंमा तीब्र रूपमा भइरहेको सडक विस्तार र कोटेश्वर–कलंकी चक्रपथ निर्माणसमेत सुरु भएकाले बीचमा काम नरोकी अगाडि बढ्न हामीले गरेको अनुरोधमा चीन सरकार सहमत भएको हो," उहाँले भन्नुभयो, "अब एकै चरणमा पूरै चक्रपथ 8 लेनमा विस्तार हुनेछ।"

          गत असारमा उपराष्ट्रपति परमानन्द झा र चिनियाँ स्टेट काउन्सिलर याङ चेइ छले चक्रपथ विस्तारको शिलान्यास गर्नुभएको थियो। साढे 9 किलोमिटर चक्रपथ विस्तारका लागि चीनले 4 अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ। चीनको सांघाई कन्स्ट्रक्सन गुप्रले चक्रपथ विस्तार सुरु गरिसकेको कारोबार अनलाइनले उल्लेख गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह