फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी वर्ष अठारौँ सार्क शिखर सम्मेलन नेपालमा हुने

(GMT+08:00) 2013-12-08 18:54:55

        दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को 35 औँ मन्त्रिपरिषद् बैठक आगामी फागुन 5 देखि 8 गतेसम्म माल्दिभ्सको राजधानी मालेमा हुने भएको छ।

        सार्कका महासचिव अहमेद सलिमले सो जानकारी दिनुभएको हो। सदस्य मुलुकका आन्तरिक राजनीतिक घटनाक्रमले सार्क प्रक्रियालाई अवरुद्ध पार्न नहुनेमा जोड दिँदै उहाँले सदस्य राष्ट्रका विदेशमन्त्रीहरू सम्मिलित उक्त बैठकले अठारौं शिखर सम्मेलनका निम्ति मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

       "माल्दिभ्समा र नेपालमा निर्वाचन भइसकेको छ, सार्क मन्त्रिपरिषद् बैठकले सत्रौँ शिखर सम्मेलनको निर्णयबमोजित अठारौँ सम्मेलन नेपालमा गर्ने निर्णयलाई अनुमोदन गर्दै आगामी वर्ष यहाँ सार्क सम्मेलन हुनेमा म आशावादी छु," महासचिव सलिमले भन्नुभयो।

          लामो समयको अथक प्रयासपछि सबै सदस्य मुलुक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सहमत भएका जानकारी दिँदै उहाँले सदस्य राष्ट्रका उच्च राजनीतिक नेतृत्वलाई एकै मञ्चमा सामेल गराउने एकमात्र मञ्च सार्क सम्मेलन नियमितरुपमा हुनु अपरिहार्य भएको बताउनुभयो।

         माल्दिभ्समा सम्पन्न सत्रौँ शिखर सम्मेलनले यसैवर्ष अठारौँ सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो। नेपालको आन्तरिक र अन्य विविध कारणले सार्क मन्त्रिपरिषद् बैठक हुन नसक्दा शिखर सम्मेलनको आयोजना अन्यौलमा परेको थियो।

        यसअघि गत असोज 9 गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठक न्यूयोर्कमा भएको थियो। सार्कको विधानअनुसार हरेक दुई वर्षमा मन्त्रिपरिषद् बैठक हुने गरेको छ।

          माल्दिभ्स सार्कको वर्तमान अध्यक्ष राष्ट्र हो। उक्त मुलुकले शिखर सम्मेलन र मन्त्रिपरिषद् बैठकका निम्ति औपचारिकरुपमा आह्वान गर्ने परम्परा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह