फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीनबीचको व्यापारिक कारोबारको दोस्रो ठूलो नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणको लागि प्राविधिक अध्ययन सुरु

(GMT+08:00) 2013-12-09 17:46:16

          नेपाल–चीनबीचको व्यापारिक कारोबारको दोस्रो ठूलो नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणको लागि प्राविधिक अध्ययन सुरु भएको छ। चीनको सहयोगमा रसुवागढीको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहको चिनियाँ प्राविधिकले स्थलगत अध्ययन गरिसकेका छन्।

        एक साताअघि आएको आठजनाको उच्चस्तरीय प्राविधिक टोली स्थलगत अध्ययन सकेर स्वदेश फिर्ता भइसकेको छ। यो टोलीले स्थलगत अध्ययनको प्रतिवेदन चीन सरकारलाई बुझाउनेछ। 'सुक्खा बन्दरगाह निर्माणमा चिनियाँले चासो राखेर यहाँ आएका हुन्। उनीहरुले छिटोभन्दा छिटो बन्दरगाह निर्माण गर्न चाहेको प्रस्ट हुन्छ,' वाणिज्य मन्त्रालयका एक अधिकारीले भन्नुभयो, 'यो सुक्खा बन्दरगाह निर्माण भए द्विपक्षीय व्यापार अभिवृद्धि हुनेछ।'

        रसुवागढी नाकाबाट नेपाली सामानसमेत निकासी भएको छ। यसबाहेक रसुवागढी नाका हुँदै चिनियाँ सामान पनि आउन थालेको छ। गल्छी हुँदै धुन्चेसम्मको सडक स्तरोन्नति भइसकेको छ। धुन्चेदेखि रसुवागढीसम्म सडक स्तरोन्नति भइरहेकोले यो नाकाको सम्भावना पनि बढिरहेको छ। व्यापारिक रणनीतिका हिसाबले पनि यो नाकालाई नेपालले महत्वपूर्ण रुपमा हेर्दै आएको छ। नेपाल–चीनबीचको प्रमुख नाका तातोपानी भौतिक पूर्वाधारको हिसाबले अत्यन्तै कमजोर मानिन्छ। यो नाकाबाट सामान ल्याउँदा सिन्डिकेटका कारण भाडासमेत महँगो छ। ट्रक कन्टेनर व्यवसायीको मिलेमतोका कारण तातोपानीदेखि काठमाडौंसम्मको 1 सय 21 किलोमिटरको दुरीमा 90 हजारभन्दा बढी भाडा छ। यो बाहेक दसैं, तिहार, जाडोलगायतको समयमा कन्टेनर व्यवसायीले आफूखुसी भाडा तय गर्दै आएका छन्। तातोपानीदेखि काठमाडौंसम्मको सडकसमेत राम्रो छैन। चीनले समेत रसुवागढीलाई वैकल्पिक नाकाको रुपमा हेरिरहेको छ। चीनले सिगात्सेसम्म ल्याएको रेलमार्ग पनि रसुवागढी नाकासम्म ल्याउने योजना बनाएको छ।

         वाणिज्य मन्त्रालयका अनुसार चिनियाँ प्राविधिक टोलीले नेपालको हावापानी, विद्युत, भूसतहको स्थिति, सहरी विकासलगायत विषयमा जानकारी मागेका छन्। मन्त्रालयले यो सबै जानकारी दिन इन्टरमोडल यातायात समितिलाई निर्देशन दिएको नागरिक अनलाईनले खबर लेखेको छ।

          'चिनियाँ पक्षले मागेको सबै जानकारी छिटोभन्दा छिटो दिने प्रयास गर्नेछौं,' वाणिज्यका ती अधिकारीले भने, 'हाम्रो लागि पनि यो बन्दरगाह आवश्यक छ। यसले नेपाली वस्तु निकासी समेत सहज हुन्छ।'

           मन्त्रालयका अनुसार बन्दरगाह निर्माणको लागि नीतिगत निर्णयबारे छलफल गर्न चिनियाँ उच्चस्तरीय टोली मंसिर 30 गते नेपाल आउँदैछ। बन्दरगाह निर्माणको अवधारणा टुंगो लगाउन टोली आउन लागेको हो। मन्त्रालयका अनुसार तिब्बत सरकारको वाणिज्य विभागका उपमहानिर्देशक झु हुइको नेतृत्वमा टोली आउनेछ।

           'बन्दरगाह निर्माणको लागि नीतिगत स्पष्टता आवश्यक छ। यसको लागि अर्को टोली आउन लागेको हो,' उहाँले भने, 'यो टोलीले कुन अवधारणामा बन्दरगाह निर्माण गर्ने भन्ने तय गर्नेछ।' नेपाल–चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण हुनु स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो। यसले दुई देशको व्यापारलाई बढावा दिने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह