फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अव थाइवानको थाइनाममा नेपालको बौद्धनाथको जस्तो स्तुपा बन्ने

(GMT+08:00) 2013-12-11 16:44:16

         अबको केही वर्षमा थाइवानको थाइनाम सहरमा ठ्याक्कै बौद्धनाथ जस्तो स्तुपा बन्ने भएको छ। 'नेपाल रोड' नाम राखिएको त्यस स्तुपाभित्र नेपाली पाराका पुराना घरहरू र स-साना पसलहरू पनि समावेश गरिनेछ। उही आकार, प्रकार र कलाकौशलमा हुने यो स्तूपा नेपालकै बौद्धनाथको 'रिप्लिका' बनाउन थालिएको हो। थाइवानस्थित कदम्पा धर्म सेन्टरले यससम्बन्धी गुरुयोजना घोषणा गरेको हो।

         राजधानीको बौद्धनाथ परिसरमा आयोजित विश्व शान्ति पूजाका अवसरमा कदम्पा धर्म सेन्टरबाट आएका डेभिड चाङको टोलीले बौद्धनाथ स्तूपाको रिप्लिका निर्माण घोषणा गरेको ईकान्तिपुर अनलाईनले खबर लेखेको छ। हाल मंगोलियाको राजधानीमा यस्तै रिप्लिका बन्दै गरेको भए पनि 16 रोपनीमा फैलिने ठ्याक्कै बौद्धनाथ बराबरको भने यो पहिलो स्तूपा हुनेछ। बौद्धनाथ बनाउन लागिएको थलोमा रोप्न नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीबाट ल्याएका बोधी वृक्ष पूजाकै अवसरमा चाङलाई हस्तान्तरण गर्नुभयो। 'मुलुकको पर्यटन विकासमा यस्तो कार्यले सघाउने छ,' मन्त्री श्रेष्ठले भन्नुभयो, 'दुईदेशीय सांस्कृतिक र धार्मिक सम्बन्धमा पनि यो कोसेढुंगा हुनेछ।'

         बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले पनि थाइवानमा बन्न लागेको बौद्धनाथ स्तूपाको रिप्लिकाले दुईदेशीय सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने बताउनुभयो। पूजापछि आयोजित पत्रकार सम्मेलनमा स्तूपा योजनाबारे बोल्दै चाङले स्तूपा परिसरमा नेपालकै जस्तो वरिपरिको अवस्थितिसमेत निर्माण गरिने जनाउनुभयो। 'यहाँ जस्तै होटल, संग्रहालय र पसलहरू पनि हुनेछन्,' उहाँले भन्नुभयो,'यी सबैमा सक्कल प्रति नेपालमा छ भनेर लेखिनेछ।'

         चाङका अनुसार यस्तो योजना थाइवानस्थित अवतारी लामा धर्मगुरु मास्टर ली फुटियनको परिकल्पनामा बनेको हो। फुटियनले आफू पहिलो जुनिमा नेपालकै बौद्धनाथस्थित पूर्वचिनियाँ लामा गणेशबज्रका भाइ रहेको दाबी गर्दै आएका छन्। 'यही भएर पनि उहाँले नेपालप्रति बढी झुकाव देखाउनुभएको हो,' चाङले भन्नुभयो। दुई पटक नेपाल आइसकेका फुटियनले आफ्नै धार्मिक संस्था कदम्पा धर्म सेन्टरमार्फत योजनालाई मूर्तरूप दिन लागेका हुन्। धार्मिक संस्थाकै निजी लगानी रहने यो योजना पूरा गर्न 10 अर्ब अमेरिकी डलर लाग्ने चाङले जनाउनुभयो। 'तीन वर्षभित्र सुरु गरी पाँच वर्षभित्र पहिलो चरणको काम सकाउने छौं,' उहाँले भन्नुभयो, 'सबै सक्न त दस/पन्ध्र वर्ष नै लाग्न सक्छ।' शी हु सिङ कम्पनीले निर्माण ठेक्का पाएको स्तूपाका लागि कालिगढहरू नेपालबाटै लैजाने पनि उहाँले जनाउनुभयो।

         बौद्धनाथ स्तूपा सातौं शताब्दीअघि गुरु रिम्पोचे पदम सम्भवको अघिल्लो जुनिमा निर्माण गरिएको बौद्ध मान्यता छ। स्वर्गमा फूल चोरेपछि सजाय भोग्न नेपालको सामान्य कुलमा जन्मिएकी झ्याझिमा नामक युवतीले यो स्तूपा निर्माण गरिएको मानिन्छ। मिथअनुसार झ्याझिमाले घोडा, कुकुर, सुंगुर र कुखुरा व्यापारीसँग पालैपालो बिहे गरिन् तर एक-एक छोरा भएपछि चारैजना लोग्ने मरे । अघिल्लो जुनिको पापबोध भएपछि झ्याझिमाले प्रायश्चित्तका लागि स्तूपा बनाएको मानिन्छ। आमाबाट सुरु भएको यो स्तूपा छोराहरूले पूरा गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह