फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलो पटक बंगुरपालन कार्यशाला। सरकारद्वारा विशेष प्राथमिकता

(GMT+08:00) 2013-12-11 16:53:30

          नेपालमै पहिलोपटक बंगुरपालनसम्बन्धी कार्यशाला मंगलबार ललितपुरमा सुरु भएको छ । बंगुरपालनका सन्दर्भमा देशभरका कृषक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि लगायतका सरोकारवाला उपस्थित कार्यशालामा बंगुरपालनका लागि नीतिगत तथा व्यावहारिक समस्या र समाधानका उपायका साथै यसको बजारीकरणका विषयमा छलफल गरिने बताइएको छ। मार्केटिङ नेटवर्क फर प्रमासशन एन्ड कमर्सलाइजेसन र सिप्रेडको सहकार्यमा नार्कले आयोजना गरेको कार्यशाला बुधबारसम्म चल्नेछ। कार्यशालामा 1 सय 70 जना सहभागी छन्।

         बंगुरपालन व्यसायीकरणका लागि विभिन्न मुद्दाहरुको पहिचान गर्न, यससम्बन्धी अनुसन्धान तथा विधिको पहिचान गर्न, नीजि क्षेत्रको भूमिका खोज्न र बजारीकरणको विषयमा महत्पूर्ण निष्कर्ष निकाल्न कार्यशाला आयोजना गरिएको नार्कले बताउनुभयो।

         यसैबीच सरकारले मासु उत्पादनको क्षेत्रमा बढी सम्भावना देखिएको बंगुरपालनलाई विशेष प्राथमिकता दिएको छ। बंगुरपालन कार्यक्रमका लागि यो वर्ष सरकारले 20 करोड रुपैयाँ छुट्याएको पशु सेवा विभागले जनाएको छ।

          थोरै जमिनको उपयोग गरी कृषकको जीवनस्तर उठाउन महत्वपूर्ण योगदान रहेकाले बंगुरपालनलाई प्राथमिकतामा राखिएको पशु सेवा विभागका उप–महानिर्देशक उदयचन्द्र ठाकुरले बताउनुभयो। "परम्परागत रूपमा बंगुरपालन आफैंमा आम्दानीको राम्रो स्रोत हो। विकासका सुविधाहरू समेत बढेकाले पछिल्लो समयमा यो क्षेत्र व्यावसायिक बन्दै गएको छ," उहाँले भन्नुभयो। आत्मनिर्भर व्यवसाय भएको र निर्यातको समेत सम्भावना रहेकाले बंगुरपालनलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। देशका 54 जिल्लाका 1 सय 10 सहकारीमार्फत बंगुरको स्रोत केन्द्र स्थापना र युवा लक्षित कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो।

          देशभर हुने मासु उत्पादनको साढे 6 प्रतिशत हिस्सा बंगुरको छ। गत आर्थिक वर्ष 11 लाख 37 हजार र 18 हजार मेट्रिक टन मासु खपत भएको सरकारी तथ्यांक छ। आर्थिक वर्ष 068-69 मा बंगुरको संख्या 11 लाख 8 हजार थियो। देशभर करिब 9 सय बंगुर फार्म रहेको र तीमध्ये 50 प्रतिशत उत्पादन पूर्वाञ्चल विकास क्षेत्रमा मात्र हुने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो।

        "छिमेकी मुलुक चीनमा बंगुरको मासुलाई प्राथमिकतासाथ उपभोग गर्ने भएकाले यसको निर्यातको सम्भावना निकै राम्रो छ," कृषि विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रभाकर पाठकले भन्नुभयो। राष्ट्रिय कृषि उत्पादनमा समेत महत्वपूर्ण योगदान हुने भएकाले बंगुर उत्पादनलाई प्राथमिकताका साथ लिइएको उहाँले बताउनुभयो।

          विभागका पूर्व महानिर्देशकसमेत रहेका पाठकले कृषिमा र त्यसमा पनि बंगुरमा गरेको लगानी घाटामा नजाने भएकाले यसमा लगानी गर्न उत्पादकलाई अनुरोध गर्नुभयो। स्वदेशमै आधुनिक ल्याब, बंगुरलाई आवश्यक पर्ने भ्याक्सिन, प्राविधिकलगायतका सुविधा उपलब्ध भएकाले व्यावसायिक रूपमा बंगुर उत्पादन गर्न सहज भएको कारोबार अनलाईनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह