फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लमजुङका रक क्लाइम्बिङ र क्यानोनिङ प्रचार प्रसारको पर्खाइमा

(GMT+08:00) 2013-12-12 17:07:49

        उचित प्रचारप्रसार नहुँदा लमजुङको पर्यटकीय गाउँ पुरानकोटस्थित रक क्लाइम्बिङ र उत्तरी लमजुङस्थित ताघ्रिङको स्याँगेमा रहेको क्यानोनिङ ओझेलमा परेको छ । ऐतिहासिक पुरातात्विक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण यी 2 स्थानमा विदेशी पर्यटकलाई समेत लोभ्याउन गाउँलेहरु साहसिक पर्यटनको विकासमा कस्सिए पनि उचित प्रचारप्रसार तथा प्रवर्द्धन हुन सकेको छैन।

        पुरानकोटामा डोरीको सहायताले पहरामा चढ्ने र झर्ने अर्थात् रक क्लाइम्बिङका लागि उपयुक्त स्थान छनोट गरी आवश्यक जनशक्तिसमेत उत्पादन गरिएको छ। अमेरिकी नागरिक टाइलटले रक क्लाइम्बिङका लागि आवश्यक डोरी, जुत्तालगायतका सामग्री पनि उपलब्ध गराएका थिए। डेढ सय मिटर अग्लो पहरोलाई रक क्लाइम्बिङका लागि तयार पारिएको छ।

         गाउँका धेरै युवाले यससम्बन्धी प्रशिक्षण लिए पनि 3 जना युवा दक्ष भएर निस्केका छन्। तर, यससम्बन्धी प्रशिक्षण लिएर दक्ष बनिसक्दा पनि यसको प्रमाणपत्र दिने निकाय नेपालमा नभएकाले समस्या परेको स्थानीयहरूले बताउनुभयोका छन्। रक क्लाइम्बिङबाट साहसिक पर्यटकहरू आउने अपेक्षा गरिए पनि त्यसअनुरूप पर्यटक भित्र्याउन नसकिएको पुरानकोट ग्रामीण पर्यटन विकास बोर्डका अध्यक्ष ऋषिकान्त खनालले बताउनुभयो।

        लमजुङको पर्यटन गुरुयोजनामा पुरानकोटको रक क्लाइमिङ र ताघ्रिङ स्याँगेको क्यानोनिङलाई साहसिक पर्यटनभित्र राखे पनि उचित प्रचारप्रसार हुन सकेको छैन, जसका कारण पुरानकोटको रक क्लाइम्बिङ र ताघ्रिङको क्यानोनिङ साहसिक खेल पर्यटनको राम्रो सम्भावना बोक्दाबोक्दै पनि पर्यटक आकर्षित गर्न सकेको छैन। साहसिक खेल पर्यटनका लागि जिल्लाले विभिन्न समयमा कार्यक्रम नै आयोजना गरेर स्थानको परिचय तथा प्रवद्र्धन गर्नुपर्ने सरोकारवालाहरूले बताउनुभयोका छन्।

         बेसीसहरबाट निकै नजिकै रहेको र पर्यटकीय सम्भावना राम्रो भएको पुरानकोटलाई विकास गर्न पुरानकोटवासीले राजनीतिक दल तथा सम्बन्धित निकायसँग पनि आग्रह गरेका छन्। तर, पर्यटन विकासका लागि जिल्लाले पर्याप्त रकम विनियोजन गर्न सकेको छैन। पर्यटन क्षेत्रका लागि विनियोजन गरिएको रकम महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरेर सक्ने प्रचलन रहेको पर्यटनकर्मीहरूले बताएका छन्।

         पुरानकोटमा च्वाइस नेपालको सहयोगमा एक अमेरिकी नागरिक झिकाई गाउँका केही युवालाई 'रक क्लाइम्बिङ' को प्रशिक्षण दिइएको थियो। पुरानकोटको तारे भित्ता भन्ने भीरलाई रक क्लाइम्बिङका लागि छनोट गरिएको छ । पुरानकोटको तारेभीरको उचित प्रचारप्रसार तथा प्रवद्र्धन गर्न सके साहसिक खेलका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने गाउँलेहरूको धारणा छ। बेसीसहरमा बसेर पर्यटनको गफ चुट्ने होटल–व्यवसायीहरूले पनि पुरानकोटको रक क्लाइम्बिङको प्याकेज बनाएर गाउँमा पर्यटक पठाउन नसकेको गुनासो उनीहरुको रहेको कारोबार अनलाईनले खबर लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह