फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाङको बिजौरीमा व्यावसायिक अष्ट्रिच पालन शुरु

(GMT+08:00) 2013-12-12 17:09:37

          दाङको बिजौरीमा व्यावसायिक अष्ट्रिच पालन शुरु गरिएको छ। गौचरणमा परिणत भएको बिजौरी गाविस बर्लेनी डाँडामा व्यावसायिक अष्ट्रिच पालन शुरु गरिएको हो।

          अष्ट्रिच नेपाल प्रालिले दाङमा पहिलोपटक व्यावसायिक रुपमै अष्ट्रिच पालन शुरु गरेपछि दैनिक चरा हेर्न आउनेहरुको भीड लाग्ने गरेको छ।

          नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको 46 विघा जमीन 99 बर्षका लागि बार्षिक 6 लाख रुपैयाँमा ठेक्का ल्याएर व्यावसायिक अष्ट्रिच पालन शुरु गरेको अष्ट्रिच नेपाल प्रालिका कर्मचारी गोकर्णराज ज्ञवालीले जानकारी दिनुभयो। अष्ट्रेलियाबाट अष्ट्रिच चराको अण्डा र बच्चा ल्याएर पाल्न शुरु गरेको भन्दै ज्ञवालीले दाङमा 7 सय अष्ट्रिच चरा पाल्ने लक्ष्य लिएको बताउनुभयो। 'अहिलेसम्म 36 वटा खोरमा 2 सय 67 वटा अष्ट्रिच चराहरु राखिसकेका छौं' ज्ञवालीले भन्नुभयो– 'अरु ल्याउने क्रम चलिरहेको छ।' एउटा चरालाई करिब 5 लाख रुपैयाँ पर्ने भन्दै उहाँले चरा खरिद मूल्यबाहेक दाङमा फर्म व्यवस्थापनका लागि 4 करोड बढी खर्च गरिसकेको बताउनुभयो।

          बुटवल र नाराणगढका सिपी शर्मा, विष्णु शर्मा, तिलक कँडेल, नवराज श्रेष्ठलगायतको अष्ट्रिच फर्ममा लगानी रहेको ज्ञवालीले जानकारी दिनुभयो। अष्ट्रिचको मासु प्रतिकिलो दुई हजार रुपैयाँ र अण्डा प्रतिगोटा दुई हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो। त्यस्तै, अण्डाको खोस्टा प्रतिगोटा एक हजार रुपैयाँमा खरिद गरिने ज्ञवालीले बताउनुभयो। चराले माघदेखि भदौसम्म अण्डा उत्पादन गर्ने र प्रत्येक दिन एउटा चराले एउटा मात्र अण्डा उत्पादन गर्ने उहाँको भनाई छ। चराको प्वाख र अण्डाको खोष्टा घर सजावट तथा श्रृंगारका सामान बनाउन प्रयोग हुने भएकाले त्यसको निर्यात विदेशमा हुने गरेको छ।

          अष्ट्रिच शाहाकारी पन्छी भएकाले घाँस, गहुँ, मकै, भटमासको पिनालगायतका वस्तुहरु खाने फर्मका कर्मचारी भीमबहादुर केसीले जानकारी दिनुभयो । चराको हेरचाहका लागि स्थानीय दुई जना र बाहिरी जिल्लाबाट दुई जना गरी 4 जना कर्मचारीले अष्ट्रिचको हेरचाह गरिरहेको केसीले बताउनुभयो। चरा पालन शुरु भएसँगै अहिले दैनिक टिकट काटेर हेर्न आउनेको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो। अष्ट्रिच हेर्नलाई सर्वसाधारणका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि 50 रुपैयाँको टिकट काट्ने व्यवस्था मिलाइएको कर्मचारी केसीले जानकारी दिनुभयो। स्थानीयबासीका लागि भने शनिबार दिउँसो 4 बजेदेखि 5 बजेसम्म खुल्ला राखिएको केसीको भनाई छ।

          बिजौरीका स्थानीय बासिन्दा भने चराको कारण दुर्गन्ध फैलिने भन्दै चिन्तित बनेका छन्। खोरमा चराको दिसापिसाब बिस्तारै गन्ध आउन थालेपछि त्यसैबाट दुर्गन्ध फैलने भन्दै आफुहरु चिन्तित बनेको बिजौरी–१ दुधरासका धनबहादुर केसीले बताउनुभयो। केसीले भन्नुभयो– 'यो नयाँ जातको पन्छी हो यसका बारेमा हामीलाई केही थाहा छैन चराको दिसापिसाब व्यवस्थापन भएन भने भविष्यमा यसले ठूलो रुप लिन सक्छ।'

          नजिकै सिमेन्ट उद्योग पनि सञ्चालनमा आएको र अष्ट्रिच पालन पनि नजिकै भएका कारण दुधरास, बर्लेनी, सातकुले, अक्कासी, धरमपुर, गुरुङ टोला, मनिकापुरमा असर गर्न सक्ने बिजौरी– अक्कासीका बासिन्दा निमबहादुर नेपालीले बताउनुभयो। चराको दिसापिसाब खुल्ला आकाशमा छोड्नुबाहेक अर्का कुनै वैकल्पिक व्यवस्था नभएकाले दुर्गन्ध फैलिन सक्ने नेपालीको भनाई छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह