फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालबाट पहिलो पटक ताजा जुनार र सुन्तला चीन निर्यात गर्ने तयारी

(GMT+08:00) 2013-12-13 17:59:01

         नेपालबाट पहिलो पटक ताजा जुनार र सुन्तला चीन निर्यात गर्न तयारी पूरा भएको छ। उत्पादनको अवस्था मुल्यांकन गरी मापदण्ड पूरा भएको भए जुनार लैजानै गरी चिनियाँ टोली नेपाल आउन लागेको फलफुल विकास निर्देशनालयले जनाएको छ।

         डेढ वर्षअघि सुन्तला जातको नेपाली फलफुल चीन लैजान 2 मुलुकबीच सम्झौता भए पनि उत्पादनका लागि तोकिएको मापदण्ड नपुगेका कारण गत वर्ष निर्यात भएको थिएन। सरकारले उत्पादनको तरिका, भण्डारण, ग्रेडिङ र प्याकेजिङ व्यवस्थित नगर्दा सुन्तला चीन पुग्न नसकेको सरोकारवाला बताउँछन्। "गत वर्ष उनीहरूले भनेअनुसारको मापदण्ड पुरा गर्न नसकेकाले पठाउन सकिएन। तर, यो वर्ष सिन्धुलीसहितका केही जिल्लामा मापदण्ड पुरा गरेर उत्पादन गरेका छौं," निर्देशनालयका निर्देशक महेन्द्रमान श्रेष्ठले भन्नुभयो। पुसदेखि सुन्तला टिप्ने समय हुने भएकाले चिनियाँ प्रतिनिधीलाई डिसेम्बरभित्र नेपाल आउन अनुरोध गरेको र उनीहरु चाँडै आउने बताउँदै उहाँले चिनियाँहरु नेपालको फलफुल लैजान इच्छुक भएकाले यो वर्ष थोरै भए पनि निर्यातको सुरुवात हुने जानकारी उहाँले दिनुभयो।

         पहिलो पटक भएकाले यो वर्ष जुनार र सुन्तला गरी 1 सय 40 टनसम्म निर्यातको तयारी भएको कृषि व्यवसाय तथा व्यापार प्रवर्द्धन निर्देशनालयले जनाएको छ। कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र चीन सरकारको गुणस्तर सुपरिवेक्षक निरीक्षक र क्वारेन्टाइन प्रशासनबीच जुनार र सुन्तलालगायतका फलफुल चीन निर्यात गर्न गत आर्थिक वर्ष 2068/69 को असारमा सम्झौता भएको थियो। गत वर्ष तयारी पुरा नभएपछि सम्झौताअनुसार बगैंचा दर्ता र रोग–कीरा सर्वेक्षणको काम गम्भीरतापूर्वक गरिएको हो।

         जुनार उत्पादनमा प्रख्यात मानिएको सिन्धुलीका 45 गाउँ विकास समितिमा यो वर्ष उत्पादनको मापदण्ड पुरा गरेर उत्पादन गरिएको छ। सिन्धुलीमा यो वर्ष 6 सय हेक्टरमा जुनार उत्पादन भएको छ भने आगामी वर्ष क्षेत्र विस्तार गरेर 2 हजार हेक्टर क्षेत्रमा जुनार विस्तार गरिने सिन्धुली जुनार संघले जनाएको छ। सिन्धुलीमा मात्र गत वर्ष करिब 10 हजार मेट्रिक टन जुनार उत्पादन भएकोमा चालू आवमा 12 हजार मेट्रिक टन पुग्ने अनुमान छ। सिन्धुलीपछि स्याङजा, गोर्खा, धादिङलगायतका जिल्लामा जुनार र सुन्तला उत्पादन हुँदै आएको खबर कारोबार अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह