फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जा विकास, जलवायु परिवर्तनको असर न्यूनीकरण र जल व्यवस्थापनका लागि सामूहिक प्रयत्नको आवश्यकता

(GMT+08:00) 2013-12-14 16:00:53
          दक्षिण एसियाली क्षेत्रमा ऊर्जा विकास, जलवायु परिवर्तनको असर न्यूनीकरण र जल व्यवस्थापनका लागि सामूहिक प्रयत्नको आवश्यकता औँल्याइएको छ।

          नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सार्क उद्योग वाणिज्य सङ्घद्वारा आयोजना गरिएको ऊर्जा सहयोग, जलवायु परिवर्तन र जल व्यवस्थापनका सम्बन्धमा अन्तर्राष्ट्रिय परामर्श कार्यशालाको उद्घाटन समारोहमा त्यस्तो आवश्यकता औँल्याइएको हो।

          दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रहरूका विज्ञहरू तथा निजी क्षेत्रको सहभागिता रहेको कार्यशालाको उद्घाटन गर्दै ऊर्जा मन्त्री उमाकान्त झाले क्षेत्रीय विकासका लागि ऊर्जाको विकास रणनीति तर्जुमा गर्दा सबै पक्षलाई फाइदा हुने गरी तर्जुमा गर्न आग्रह गर्नुभयो।

          उहाँले नेपालमा जलविद्युत्को प्रचूर सम्भाव्यता रहेको र सरकार त्यसको विकासका लागि प्रयत्नरत रहेको बताउँदै जलविद्युत्को निर्यात गरेर नेपालले प्रशस्त लाभ लिन सक्ने सम्भावना रहेको बताउनुभयो।

          सार्क सचिवालयका महासचिव अहमद सलिमले दक्षिण एसियाली सदस्य राष्ट्रहरूमा क्षेत्रीय विकास र सहयोगको मुख्य क्षेत्र ऊर्जा विकास रहेको बताउँदै त्यसै क्रममा विभिन्न सन्धि तथा समझदारीमार्फत काम भइरहेको उल्लेख गर्नुभयो।

          उहाँले जलविद्युत्का अतिरिक्त नवीकरणीय ऊर्जा अर्को सम्भाव्य विकास र सहयोगको क्षेत्र रहेको बताउँदै त्यसतर्फ पनि अनुसन्धान र परामर्श गर्न आग्रह गर्नुभयो।

          भारतीय ऊर्जा कम्पनी पीटीसी इन्डियाका कार्यकारी निर्देशक डा. राजिवकुमार मिश्रले ऊर्जा आदानप्रदान क्षेत्रीय विकासका लागि आवश्यक रहेको विचार व्यक्त गर्दै यस क्षेत्रमा ऊर्जाको कुल सम्भावना, बजारको मापन र फाइदाका बारेमा लेखाजोखा नभएको भन्दै विद्युतीय प्रसारणका बारेमा थप अध्ययनको खाँचो रहेको छ भन्नुभयो।

          विद्युत् ऊर्जा विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै उहाँले त्यसका लागि प्रसारण लाइनको आवश्यकता रहने तर दर भने बजारले आफै निर्धारण गर्ने विचार व्यक्त गर्नुभयो।

          उहाँले भारतमा हालसम्म पनि थर्मल ऊर्जाको प्रयोग भइरहेको र यो आयातित कोइला र तेलबाट प्राप्त हुने हुँदा जलविद्युत्ले त्यसलाई प्रतिस्थापन गर्नसक्ने सम्भावना रहेको चर्चा गर्नुभयो। उहाँले ऊर्जाको क्षेत्रमा सार्कको बजारका समस्या र सम्भावनाको लेखाजोखा हुनु पर्ने धारणा पनि व्यक्त गर्नुभयो।

          सार्क उद्योग वाणिज्य सङ्घको जल, जलवायु परिवर्तन र ऊर्जा परिषद्का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दक्षिण एसियाली क्षेत्रमा स्रोत, बजार, उत्पादन क्षमता र मानव संशाधनका हिसाबले जल ऊर्जा विकासको सम्भावना राम्रो रहेको बताउनुभयो।

          उहाँले यस क्षेत्रको हिमाली क्षेत्र सम्भावना र अवसरको क्षेत्र रहेको भए पनि जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा गम्भीर प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले नेपालको जलविद्युत्को विकास गर्न सके आन्तरिक र बाह्य बजारको सम्भावना राम्रो रहेको चर्चा गर्नुभयो।

          सार्क उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले सार्क क्षेत्रमा विकासका लागि ऊर्जा र परिवर्तनका लागि ऊर्जा भन्ने आधारमा काम गर्नु जरुरी रहेका बताउनुभयो। उहाँले ऊर्जा विकासका चुनौती र अवसर दुवै रहेको चर्चा गर्दै यस क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

          सार्क उद्योग वाणिज्य सङ्घका महासचिव इकबाल तबिसले आर्थिक वृद्धिका लागि ऊर्जाको विकास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको गोरखापत्र अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह