फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माओवादीको पराजय ठूलो आश्चर्य नभएको चिनियाँ विशेषज्ञको टिप्पणी

(GMT+08:00) 2013-12-14 16:01:21

         चीन निकट भनेर चिनिएको एकीकृत माओवादीको अनपेक्षित पराजयलाई दक्षिण एसियाली मामिलाका चिनियाँ विज्ञ हु सिसेङले ठूलो आश्चर्यको विषय नभएको बताउनुभएको छ। तर एमाओवादीलाई एक्ल्याएर अघि बढ्नु नेपाली राजनीतिका लागि फलदायी नहुनेतर्फ समेत उहाँले सचेत गराउनुभएको छ। विगतको गल्तीबाट सिक्नुपर्ने सुझाउँदै उहाँले नेपालले अब इतिहास दोहोर्‍याउन नहुने धारणा राख्नुभयो। 'प्रचण्ड पनि चुनावअघि परिणाम स्वीकार्छु भनेर गएका हुन्',चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) अन्तर्गत दक्षिण तथा दक्षिण पूर्वअध्ययन केन्द्रका निर्देशक हु सिसेङले कान्तिपुरको प्रतिक्रियामा भन्नुभयो 'अब यसलाई स्वीकारेर अघि बढ्नुको विकल्प देख्दिनँ।' हुले जनताको निर्णयलाई सबै दलले स्वीकार्नुपर्ने बताउनुभयो। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको रेखदेखमा राज्य सुरक्षा मन्त्रालय मातहत सञ्चालित सीआईसीआईआर चीनको सबैभन्दा ठूलो तथा पुरानो प्रभावशाली थिंक ट्याक्कहरूको समूह हो। निर्वाचन सम्पन्न भएलगत्तै बधाई सन्देश दिएको चीनले चाँडै संविधान बन्ने आशा व्यक्त गरिसकेको छ। चिनियाँ विदेश मन्त्रालयले निर्वाचन सफल हुने र संविधान निर्माण प्रक्रिया चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेको थियो। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले एमाओवादीको मागप्रति चीनको धारणा सोधेका थिए।

         एमाओवादीले संविधानसभामा सहभागी हुन राखेका सर्तप्रति निर्देशक हुले धाँधलीका कुरा उठिसकेकाले यसबारे राज्यले विश्वस्त पार्न सक्नुपर्ने विचार राख्नुभयो। कुनै बाह्य शक्तिको चलखेलका कारण चुनावी परिणाम उल्टियो भन्ने कुरामा आफूलाई विश्वास नभएको समेत उहाँले स्पष्ट पार्नुभयो। हुले एमाओवादी तेस्रो दल बन्नु पछाडिका केही सम्भावित कारणहरूबारे पनि बोल्नुभयो। 'माओवादीले तल्लो तहका सर्वसाधारण जनताको साथ नपाउनु पहिलो कारण हुनसक्छ,' शान्ति प्रक्रियामा आइसकेपछि पहिलो चुनावमा पार्टीलाई साथ दिएकाहरूले छाडेको बताउँदै उहाँले भन्नुभयो, 'जुन विश्वासका साथ जनताले जिताए सोअनुसार पार्टीले आफूलाई प्रमाणित गर्न सकेन।' एमाओवादी आउनुअघिको देशको अवस्थामा सोचेअनुरूप सुधार नदेखिएको उल्लेख गर्दै हुले यसले पनि जनतामा नैराश्यता आएको हुनसक्ने उल्लेख गर्नुभयो। माओवादी नेताहरूले अपनाएको विलासी जिवनशैलीका कारण पनि जनतामा गलत सन्देश गएको हुन सक्छ।' तर एकल जातीय पहिचानसहितको संघीयता पक्षधर भएकै कारण मत काटिएको भन्ने तर्कमा भने उहाँले विमति राख्ननुभयो। अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरी नेपालले मुलुक सुहाउँदो राज्यव्यवस्था बनाउनुपर्ने उल्लेख गर्दै हुले चीन पनि विभिन्न समस्याहरूबाट गुज्रिंदै आएको बताउनुभयो। उहाँले भन्नुभयो 'हामी पनि यसमा सुधार गर्दै अघि बढिरहेका छौं,।

         गत अप्रिलमा चीन भ्रमण गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताका सवालमा चीनले शंका व्यक्त गरेको बताउनुभएको थियो। यद्यपि हुले भने नेपाली जनताले गर्ने जस्तोसुकै निर्णय स्वीकार्य हुने बताउँदै संघीयताको ढाँचा यस्तो हुनुपर्छ भनेर चीन सुभाव दिने अवस्थामा नरहेको प्रस्ट्याउनुभयो। सि जिनपिङले राष्ट्रपतिको पद सम्हालेपछि दाहाल चीन भ्रमणको निम्तो पाउने पहिलो दक्षिण एसियाली नेता हुनुहुन्थ्यो। नेपाल, भारत र चीनबीचको त्रिदेशीय समझदारीलगायत आर्थिक मुद्दाहरूमा केन्द्रित दाहालको भ्रमणले उतिबेला निकै चर्चा पाएको थियो। विश्वकै दोस्रो ठूलो आर्थिक महाशक्ति राष्ट्रले प्राथमिकताका साथ अध्यक्ष दाहाललाई दिएको निम्तोले संविधानसभा निर्वाचनमा एमाओवादीलाई सघाउ पुग्ने विश्लेषकहरूको अनुमान थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि दाहालले चारपटक चीन भ्रमण गर्नुभएको खबर इकान्तिपुर अनलाईनमा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह