फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वीरगञ्जमा मध्यमाञ्चलस्तरीय युवा भेला

(GMT+08:00) 2013-12-15 16:39:50

         मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि राष्ट्रको हरेक निकायमा युवाको सहभागिता र नेतृत्व अभिवृद्धि गर्न आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले मध्यमाञ्चलस्तरीय युवा मञ्चको सम्मेलन वीरगञ्जमा आयोजना भएको छ।

         फिनल्यान्ड स्काउटको सहकार्यमा नेपाल स्काउटद्वारा शनिवारदेखि आयोजित दुई दिने उक्त सम्मेलनमा राष्ट्रको हरेक निकायमा युवाहरुको नेतृत्व र साझेदारी कसरी बढाउन सकिन्छ भन्ने बारेमा व्यापक छलफल गरिएको छ।

         सम्मेलनमा मध्यमाञ्चलका 14 जिल्लाका करिब 84 जना युवा स्काउटकर्मीको सहभागिता रहेको थियो। स्काउटको युवा मञ्चमा 16 देखि 26 वर्षसम्म उमेर समूहलाई युवा भनेर परिभाषित गरिएको छ।

          सो सम्मेलनको उद्घाटन गर्दै नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले युवालाई विकासको साझेदारका रुपमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

          कुनै पनि देशको युवाशक्ति त्यहा"को सामाजिक तथा आर्थिक विकासका लागि मेरुदण्ड हुने हु"दा सन् 1993 मा थाइल्यान्डमा भएको विश्व स्काउट सम्मेलनले निर्णायक तहमा युवाको सहभागितासम्बन्धी नीति स्वीकृत गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, युवा लक्षित आर्थिक तथा सामाजिक विकासलाई समन्वयात्मक ढङ्गले प्रभावकारी रुपमा अगाडि बढाउन नसक्दा नै नेपाल आर्थिक समृद्धिको बाटोमा पछाडि परेको हो।

          फिनल्यान्ड स्काउटका एनी र एसिया प्रशान्त क्षेत्रका सदस्य देवराज घिमिरेले युवाको श्रम, सीप, जोस र जा"गरको सही सदुपयोग भयो भने कुनै पनि देशको विकास हुन समय लाग्दैन भन्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने हो भने राज्यले देशभित्रै स्वरोजगारको लागि उपयुक्त वातावरण बनाउन युवा उद्यमशीलताको कार्यक्रम ल्याउनु आवश्यक रहेको बताउनुभयो।

          नेपाल स्काउट पर्साका जिल्ला आयुक्त जयप्रकाश चतुर्वेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्काउटका निर्देशक गौतम अधिकारी, राष्ट्रिय कार्यक्रम आयुक्त भरतप्रसाद साह र नेपाल स्काउट पर्साका सहायक जिल्ला आयुक्त दिव्यलक्ष्मी शाक्यलगायतका वक्ताले कुनै पनि परिवर्तनका संवाहक भनेको त्यहाँका युवा शक्ति नै हो भन्दै तर राजनीतिक दुष्चक्रमा फसेको मुलुक नेपालमा युवाशक्ति बेरोजगार र अर्धबेरोजगारको भीडमा परिवर्तित हुन बाध्य भएको बताउनुभयो।

           त्यसैले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि राज्यका हरेक क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह