फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रूपन्देहीको गैडहवा र गजेडी तथा कपिलवस्तुको जगदीशपुरलगायतका ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने

(GMT+08:00) 2013-12-15 16:40:36

          रूपन्देहीको गैडहवा र गजेडी तथा कपिलवस्तुको जगदीशपुरलगायतका ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने भन्दै प्रवर्द्धन तथा प्रचार–प्रसारमा लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

          वातावरण पत्रकार संघ, रूपन्देहीद्वारा लुम्बिनीमा आयोजित 'तालहरूको अवस्था, विकास र सम्भावना' विषयक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्।

          दुवै जिल्लाका ताल प्रकृतिको अनुपम उपहारमात्र नभई धार्मिक तथा ऐतिहासिक महत्वसमेत बोकेकाले बाह्य र आन्तरिक पर्यटकहरूलाई भित्र्याउन सक्ने गरी विकास तथा प्रवर्द्धन गर्न सके आर्थिक रूपमा समेत फाइदा पुग्ने उनीहरूको भनाइ छ। गैडहवा, गजेडी र जगदीशपुर ताल बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्धले बाल्यवस्थाका साथै विभिन्न समय गरी 29 वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलगायतका स्थलदेखि नजिक रहेकाले पनि तालहरूलाई धार्मिक महत्वका रूपमा समेत जोडेर प्रचार गर्न सके लुम्बिनी र कपिलवस्तु पुग्ने पर्यटकका लागि थप आकर्षणको गन्तव्य बन्न सक्ने उनीहरूको भनाइ थियो।

          यहाँको पर्यटकीय सम्भावना प्रशस्त छ तर कम्तीमा विश्रामस्थल, रेस्टुराँ, कफी सपलगायतका आवश्यक पूर्वाधार बनाउन सके लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई त्यहाँ नयाँ गन्तव्यका रूपमा पठाउन सजिलो हुने लुम्बिनी होटल तथा रेस्टुराँ एसोसिएसनका अध्यक्ष मिथुन श्रेष्ठले बताउनुभयो।

          ताल–तलैयाहरूको संरक्षणका साथै प्रवर्द्धन गर्नसके यहाँ आउने पर्यटकको बसाइ अवधिसमेत लम्ब्याउन सकिने पर्यटन व्यवसायी तथा होटल बुद्धमायाका प्रबन्धक सुरज गुरुङले जनाउनुभयो।

          गैडहवा ताल संरक्षण समितिका अध्यक्ष रामअवतार यादवले गैडहवाताललाई पोखराको फेवातालजस्तै गरी विकास गर्ने सोच बनाइएको जनाउँदै तालको बीचमा मन्दिरसमेत निर्माण गर्ने योजना रहेको र ताल संरक्षणका लागि मात्र नभई पूर्वाधार विकासमा समेत लाग्नका लागि पर्याप्त बजेट आवश्यक रहेको उल्लेख गर्नुभयो।

          गजेडी दानापुर ताल संरक्षण समितिका अध्यक्ष लोकबहादुर भुजेलले गजेडी ताल आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गइरहेकाले बाह्य पर्यटकलाई आकर्षित गर्न र त्यहाँ बस्न मिल्ने गरी पूर्वाधार नभएको उल्लेख गर्दै यसको विकासका लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो।

          जगदीशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष अब्दुल रसिक खाँले तालहरू धेरै रहेको र सबैको आ–आफ्नो महत्व रहेकाले सबै तालहरूलाई संरक्षण गर्न ध्यान दिए पर्यटकको गन्तव्य बन्न सक्ने उल्लेख गर्नुभयो।

          कपिलवस्तु वन कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले जगदीशपुर ताललगायत जिल्लाको अन्य ताल संरक्षणका लागि दत्तचित्त भएर काम गरिरहेको भन्दै जगदीशपुर तालको प्रचारात्मक अभियानमा जुट्ने बताउनुभयो।

          कारोबार अनलाईनका अनुसार रूपन्देही वन कार्यालयका प्रमुख दीपक ज्ञवालीले तालको संरक्षणले मात्रै पर्यटक आगमन हुन नसक्ने भएकाले तालबाहिर पनि पूर्वाधार विस्तार र निर्माण अति आवश्यक भएको उल्लेख गर्दै संरक्षणका लागि समितिमार्फत काम भइरहेको जनाउनुभएको छ। कार्यक्रममा राष्ट्रिय ताल संरक्षण विकास समितिका कार्यक्रम अधिकृत मधुकर खड्काले अहिले देशभरका तालहरूको तथ्यांक विवरण संकलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो।

         लुम्बिनी तथा बुद्धका बारेमा देश–विदेशमा प्रचार गर्दै हिँडेका अभियानकर्ता चेतन पन्तले दुवै जिल्लाका तालहरूको विकास भए पर्यटन क्षेत्र अझ बढी फस्टाउने र पर्यटकहरूको 'लेन्थ अफ स्टे' बढाउन मद्दत पुग्ने बताएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह