फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा हुने दुई ठूला महोत्सवको तयारी तीव्र

(GMT+08:00) 2013-12-15 17:05:53

         पुस महिनामा चितवनमा हुने दुई ठूला महोत्सवको तयारी तीव्र पारिएको छ। पुसको दोस्रो साता पर्यटकीय नगरी सौराहामा अन्तर्राष्ट्रिय हात्ती दौड तथा हात्ती महोत्सव हु"दैछ भने अन्तिम साता रत्ननगर महोत्सव हुँदैछ। दुवै महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको आयोजकले बताएका छन्।

         बछौली–2 को बाघमारा चौरमा पुसको 11 गतेदेखि 15 गतेसम्म अन्तर्राष्ट्रिय हात्तीदौड तथा हात्ती महोत्सव को 10 औं संस्करण सञ्चालन हुँदैछ। महोत्सव सम्पन्न गर्न गठित मूल समितिसहित 26 वटा उपसमितिहरुले आ–आफ्नो जिम्माको काम गरिरहेको मुख्य आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो।

         मुख्य आयोजक तथा सहआयोजकका प्रतिनिधि तथा मूल समिति र उपसमितिका प्रतिनिधि तयारी स्वरुप अहिले चौरको काममा व्यस्त छन्। हात्ती महोत्सव हुने स्थल सरसफाइ गर्ने, वरिपरि बारबेर गर्ने काम भइरहेको अध्यक्ष भट्टराईले बताउनुभयो। यसैगरी हात्ती महोत्सवअन्तर्गत हुने हात्तीदौड, छावाहरुको फुटबल प्रतियोगिता, गाडा तथा टाँगा दौडका लागि अहिले अभ्यास भइरहेका छन्।

         गतवर्ष समावेश नगरिएको डुङ्गा दौड प्रतियोगितालाई यसवर्ष भने समावेश गरिएको हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिनुभयो। यसअघि समय अपुग हुने गर्दा डुङ्गा दौड प्रतियोगिता हटाइएको थियो। यसअघि तीन दिन हुँदै आएको हात्ती महोत्सव यसवर्ष भने दुई दिन बढाई पाँच दिन पुर्‍याइएको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न प्रत्येक वर्ष सौराहामा हात्ती महोत्सव हुँदै आएको छ। अहिले विदेशी पर्यटक आउने सिजन नभएपनि हात्ती महोत्सव शुरु भएपछि भने पर्यटकको संख्या बढ्दै गएको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ।

          यसैबीच हात्ती महोत्सव लगत्तै पुसको अन्तिम साता शुरु हुने रत्ननगर महोत्सवको तयारीपनि तीव्र पारिएको छ। प्रत्येक 2 वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ। वि.सं.2057 सालमा दशैं महोत्सवबाट शुरु भएको महोत्सव अहिले सातौं रत्ननगर महोत्सवमा आइपुगेको छ। महोत्सवस्थल प्रस्तावित क्षेत्रीय रंगशाला टिकौलीमा अहिले चौरमा रहेको घाँस काट्ने, सफा गर्ने काम भइरहेको मुख्य आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दीपककुमार कर्माचार्यलाई उधृत गर्दै कारोबार अनलाईनले खबर सम्प्रेषण गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह