फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नारायणगढमा लामखुट्टे मार्ने अभियान

(GMT+08:00) 2013-12-16 17:46:15

            चितवन जिल्लाको नारायणगढ र भरतपुर बजार उच्च ज्वरो अर्थात् डेंगु रोगको संवेदनशील क्षेत्र देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले चलाएको लामखुट्टे मार्ने अभियान सकिएको छ। वर्षभरि नै लामखुट्टेको जोखिम निम्तिएकाले जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा महाशाखाले तीनदिने अभियान चलाएको थियो।

            चिसो बढिसक्दा पनि लामखुट्टे फैलने क्रम रोकिएको छैन। लामखुट्टे मार्नकै लागि महाशाखाबाट अधिकृत रामसुन्दर यादव र भेक्टर कन्ट्रोल निरीक्षक चन्द्रेश्वर यादवको नेतृत्वमा टोली खटिएका थिए। मुख्यगरी नारायणगढ र यस वरपर लामखुट्टेको फैलावट बढी छ।

            'अति संवेदनशील क्षेत्र छनोट गरेर लामखुट्टे पाइने स्थानमा जनचेतना अभियान सुरु गरेका थियौँ, तीनदिने अभियान शनिबार सकिएको छ,' जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले भन्नुभयो, 'यो टोलीले लामखुट्टेका बारेमा अध्ययन पनि गरेको छ।' जनचेतना जगाउने र लामखुट्टे नियन्त्रण गर्न सिकाउने अभियानको काम भएको उहाँले बताउनुभयो। अधिकृत यादवले नारायणगढका बजारमा पुगेर स्थानीयलाई लामखुट्टे मार्ने तरिका र यसको फैलावट रोक्नेबारे सिकाउनुभएको थियो। उहाँले स्थानीयवासीलाई सरसफाइमा ध्यान दिन, पानी जम्न नदिन, सार्वजनिक स्थानमा फोहोर नफाल्न अनुरोध गर्नुभयो। एक जनाले गरेको फोहोरले बजारभरि लामखुट्टे फैलन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो।

           चिसो मौसम भए पनि लामखुट्टेको फैलावट नरोकिएपछि स्थानीयवासी यसबाट जोगिन पिरलोमा छन्। यही हैरानीले भरतपुर 10 का अनन्त पौडेलले हिउँद लागे पनि झुल किन्नुभएको छ। 'गर्मीमा भन्दा अहिले बढी लामखुट्टेले पिरोलेको छ। चिसो बढे पनि लामखुट्टे उस्तै छ,' उहाँले भन्नुभयो, 'अहिले ठन्डी भनेर बस्यो, लामखुट्टेले टोकिहाल्छ ।' साँझ-बिहान लामुखुट्टेले टोकेर हैरान पार्ने उहाँको अनुभव छ ।

           उहाँ जस्तै सबैजसो चितवनवासीले हिउँद लागे पनि ओछ्यानबाट झुल हटाएका छैनन्। झन् लामखुट्टेको फैलावट बढेकाले सुरक्षा विधि अपनाउन थालेका छन्। लामुखुट्टेको फैलावट नरोकिएपछि डेंगुका बिरामीमा कमी आएको छैन। यही समस्याका कारण लामखुट्टे मार्नकै लागि जनस्वास्थ्यको आग्रहमा महाशाखाले अभियान चलाएको थियो। गर्मीयाममा सुरु अभियान अहिले झन सशक्त रूपमा सञ्चालन गरिएको छ।

           जनस्वास्थ्य कार्यालयका अनुसार भरतपुर र रत्ननगर क्षेत्रमा लामखुट्टेका लार्भा र प्युपा मारिएको छ। 'स्वंयसेवकबाहेक स्वास्थ्यकर्मी मिलेर लामखुट्टे मारियो,' निरीक्षक केसीले भन्नुभयो, 'मुख्यतः बजार क्षेत्रमा यसको फैलावट ज्यादा छ। दैनिक 1 सय 20 जना खटियौँ। स्वयंसेविकाको सहयोगले अभियान सफल भयो।'

           जनस्वास्थ्य कार्यालयका अनुसार साउनदेखि अहिलेसम्म 2 सय 98 जनामा डेंगुको लक्षण देखिसकेको छ। सरकारले थप अनुसन्धान गर्न क्षेत्रीय कार्यालय हेटौँडाबाट अघिल्लो साता एक प्राविधिक टोली खटाएको थियो। डेंगुको आशंका लागेकालाई जनस्वास्थ्य प्रयोगशाला टेकुमा रेफर गरिएको केसीले बताउनुभयो। डेंगु लागेकाहरू धेरैजसो भरतपुर र रनपाका छन्। 'चितवनका बिरामी अन्य जिल्लाको तुलनामा ज्यादा छन्,' केसीले भन्नुभयो, 'घना बस्ती र अत्यधिक फोहोरले बिरामी धेरै भएका हुन्।'

           कान्तिपुर अनलाइनका अनुसार बजारमा अत्यधिक ग्यारेज र जथाभावी फोहोरले लामखुट्टेको संख्या बढ्दो छ। जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले अघिल्ला दुई वर्षमा अत्यधिक डेगुंका बिरामी देखिएकाले लामखुट्टे नियन्त्रणका लागि सरकारले यो वर्ष चितवनलाई 5 लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो। दुई चरणको अभियानलाई साढे दुई लाखका दरले र सूचना प्रसारणका लागि 50 हजार, गाउँ-गाउँमा अभिमूखीकरण तालिमका लागि दुई लाख बजेट विनियोजन भएको छ तर लामखुट्टे नियन्त्रणकै लागि बजेट अपुग भएको जनस्वास्थ्यले गुनासो गर्दै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह