फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसेल कपमा मनाङ-मर्स्याङ्दीको ह्याट्रिक

(GMT+08:00) 2013-12-18 18:47:43

           डिफेन्डिङ च्याम्पियन मनाङ-मर्स्याङ्दीले तेस्रोपटक एनसेल कपको उपाधि जितेको छ। मनाङ यस वर्षका अरू दुई नकआउट प्रतियोगिता गोर्खाकप र सफल पोखराकपको पनि विजेता हो।

           एनसेल कप 2070 को फाइनलको प्रतिस्पर्धामा ब्वाइज युनियन र मनाङ-मर्स्याङ्दी पुगेका थिए। हिजो मंगलबार भएको फाइनलको भिडन्तमा ब्वाइज युनियनले डिफेन्डिङ च्याम्पियन मनाङ-मर्स्याङदीविरुद्ध बहादुरीपूर्ण खेल प्रदर्शन गरेको थियो। मनाङले ब्वाइज युनियनको चुनौती समाप्त पार्न 1 सय 17 मिनेट कुर्नुपर्‍यो। खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेको बेला सुजल श्रेष्ठले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।

           1 सय 20 मिनेटको खेल सकिन तीन मिनेट मात्र बाँकी छँदा सबैले टाइब्रेकरमा पुगेको अनुमान गरेका थिए। तर ब्वाइज युनियनका खेलाडी र समर्थकलाई स्तब्ध पार्दै सुजलले मीठो गोल गरे। योना इलियसले सिर्जना गरेको मौकामा उनले बललाई शक्तिशाली प्रहार गरेका थिए र त्यसले प्रतिद्वन्द्वी गोलरक्षक राजुलाई कुनै मौका नदिएर पोस्टको दिशा दिए।

           फाइनल हारे पनि ब्वाइज युनियनको उत्कृष्ट व्यक्तिगत पुरस्कार अन्तर्गत खेलाडी र प्रशिक्षकको पुरस्कार प्राप्त गरेको छ। सबैखाले परम्परा तोड्दै ब्वाइज युनियनका फरवार्ड असिमजंग कार्की उत्कृष्ट खेलाडी भए भने महर्जन उत्कृष्ट प्रशिक्षक। यसअघि दुवै यी विधाका पुरस्कार विजेता टिमले जितेको पाइन्छ। ब्वाइज युनियनकै योगी उत्कृष्ट गोलरक्षक र रवि सिलवाल उत्कृष्ट डिफेन्डर चुनिए। मनाङका अनील गुरुङ उत्कृष्ट फरवार्ड र सुजल उत्कृष्ट मिडफिल्डर बने।

           निर्धारित 90 मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त 30 मिनेटको खेल आवश्यक परेको थियो। खेलको सुरुआती आधा घन्टामा ब्वाइज युनियन छाएको थियो र मनाङमाथि हावी देखिएको थियो। त्यसयता मनाङले लगातार आक्रमण गरे पनि त्यसले ब्वाइज युनियनको डिफेन्स तोड्न सकेन। त्यसलाई तोडे पनि गोलरक्षक योगीलाई पन्छाउन सकेनन्। खेलको 96 औं मिनेटमा ब्वाइज युनियनले सुनौलो अवसर पाएको थियो, तर सब्सिच्युट शशिचन्द्र राईको प्रहार मनाङ गोलरक्षक विशाल श्रेष्ठ बिट भइसकेको स्थितिमा पनि बाहिरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह