फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेर्‍हथुम जिल्लाबाट 6 करोड रुपैयाँको अकबरे खुर्सानी निर्यात

(GMT+08:00) 2013-12-18 18:48:05

           चालु वर्षको सिजनमा तेर्‍हथुमबाट 6 करोड रुपैयाँभन्दा बढीको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ। व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेका किसानले जेठदेखि मंसिरसम्मको सात महिनामा यति परिमाणमा खुर्सानी निर्यात गरेका हुन्।

           अलैँची र अदुवापछि जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अकबरे खुर्सानीको बिरुवा, फल र बियाँ बिक्री गरेर किसानले यति धेरै रकम गाउँमा भित्र्याएका हुन्। उत्पादित अग्रानिक अकबरे खुर्सानीको माग भारतीय बजारबाट समेत आउन थालेपछि किसानले यस वर्ष खुर्सानी खेतीको क्षेत्रफललाई दोब्बर बनाएका छन्। उत्पादित खुर्सानी पूर्वी तराई हुँदै बिर्तामोड र जोगबनी नाका भएर भारतका सिलगुढी, दार्जिलिङ, सिक्किम, कालेम्पुङलगायत क्षेत्रमा निर्यात हुने गरेको छ।

           परापूर्वकालमा मंगोल समुदायका व्यक्तिले बढी प्रयोग गर्ने अकबरे खुर्सानी हाल आएर अन्य जाति र समुदायका मानिसले पनि व्यापक प्रयोग गर्न थालेका छन्। पछिल्लो समय हङकङ, सिंगापुरलगायत मुलुकमा बस्ने नेपाली मूलका व्यक्तिले पनि अकबरे खुर्सानीको प्रयोगलाई बढाएका छन्। स्थानीय बजारमा प्रतिकेजी 2 सय 50 देखि 3 सय 50 रुपैयाँसम्ममा बिक्री भइरहेको अकबरे खुर्सानी तेर्‍हथुम जिल्लाका 20 गाविसमा व्यावसायिक खेती हुने गरेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि प्रचार अधिकृत सत्यदेव मण्डलले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह