फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरका ग्रामीण भेगमा खानेपानीको अभाव

(GMT+08:00) 2013-12-19 17:02:29

         ललितपुर जिल्लाको ठैब र हरिसिद्धिका बासिन्दाले नजिकै पानीको मुहान भएर पनि प्रशस्त पिउन पाएका छैनन् । त्यहीँबाट दैनिक सयौँ ट्याङ्कर पानी उपत्यकाका विभिन्न ठाउँमा वितरण हुँदै आएको छ। मुहानबाटै ट्याङ्करले पानी ओसार्न थालेपछि धाराहरूमा पानी आउन छाडेको हो।

         काठमाडौँ उपत्यकामा गोदावरीको पानीको अत्यधिक माग छ। एक ट्याङ्कर पानीको 1 हजार 6 सयदेखि 5 हजार रुपैयाँसम्म पर्छ। ट्याङ्कर व्यवसायीबीच गोदावरी मुहानको पानी ओसार्ने होडबाजी नै चल्छ।

         मुहानको पानी बेचेर पैसा कमाउने प्रतिस्पर्धाले आफूहरूले पिउन नपाएको हरिसिद्धिका गोपीलाल श्रेष्ठले बताउनुभयो। 'गोदावरीकै पानी ट्याङ्करमा राखेर बजारमा बेचिन्छ, हामी भने धारामा पानी थाप्न नपाएर हैरान छौँ,' उहाँले भन्नुभयो।

         खानेपानी समस्या बढ्न थालेको 9/10 वर्ष भयो, ठैबका अर्जुनकुमार श्रेष्ठले बताउनुभयो। 'समस्या लिएर गाविस हुँदै जिविससम्म पुग्यौँ, कतै सुनुवाइ भएन,' उहाँले भन्नुभयो, 'यो वर्ष गाविसले बजेट खानेपानीमा लगाए पनि पर्याप्त छैन।'

         ठैबमा अधिकांश घरमा निजी धारा छैनन्। सार्वजनिक धारामा एक ग्रारी पानी थाप्न घन्टौँ कुर्नुपर्छ। भोलिपल्ट पानी थाप्न उनीहरू अघिल्लो दिनबाटै भाँडा लाइनमा राख्छन्। यसो गर्दा अर्को किसिमको समस्या आउने स्थानीयवासी लक्ष्मी महर्जनले सुनाउनुभयो। 'रातमा धाराबाट गाग्री हराउँछ, उल्टै प्रहरीकहाँ धाउनुपर्छ,' उहाँले भन्नुभयो।

         पहिले उपत्यकाका प्रत्येक टोलमा ढुंगेधारा थिए। त्यसैसँग राजकुलोको पानी पनि पिउने गरेको ललितपुरका नारायण श्रेष्ठले बताउनुभयो। 'जताततै ढुंगेधाराको पानी खाइथ्यो, पानीको समस्या थिएन,' उहाँले भन्नुभयो। ठैबमा 2038 सालमा 3 वटा सार्वजनिक धारो बनाइएको थियो।

         अहिले यी धाराबाट सातामा दुईचोटिमात्रै पानी आउँछ। ट्याङ्कर व्यवसायी पानीका लागि गोदावरीका मुहानमा क्याम्प बनाएर बस्ने गरेका छन्। उनीहरूले रातभर ट्याङ्करमा सहरतिर पानी ओसार्ने गर्छन्।

         एक ट्याङ्कर व्यवसायीले भने, 'हाम्रो पनि बाध्यता हो, पानीको व्यवसाय गर्दै आएका छौँ, ट्याङ्करमा ठूलो लगानी गरेका छौँ।' स्थानीयवासीका मागलाई सम्बोधन गर्न उनीहरूसँग वार्ता र छलफल गर्न तयार भएको उनले बताएको कान्तपुर अनलाइनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह