फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुपन्देहीमा पर्यटनको सम्भावना

(GMT+08:00) 2013-12-19 17:03:42

           रुपन्देही जिल्लामा हुने व्यापार मेला तथा प्रदर्शनीहरुले त्यस क्षेत्रमा आर्थिक सम्वृद्धि सँगै पर्यटन प्रबर्द्धन, र भेषभुषा तथा लोकसंस्कृति जगेर्नामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाहरुले बताएका छन्। उनीहरुले ती क्षेत्रहरुलाई जोडेर मेला महोत्सव तथा प्रदर्शनी गर्न मेला आयोजक संघसंस्थाहरुलाई सुझाव दिएका छन्।

          आर्थिक विकासको प्रमुख आधार पर्यटन भएको र रुपन्देहीमा पर्यटनको प्रचुर सम्भावना समेत रहेकोले पनि मेला महोत्सवमा पर्यटनलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा उनीहरुको जोड थियो।

          यसका साथै रुपन्देही जिल्ला कृषिको व्यवसायिकीकरण तर्फ उन्मुख भएकाले कृषिलाई पनि प्राथमिकतामा राखेर मेला तथा महोत्सव आयोजना गर्न सके दर्शकहरुको अझ आकर्षण बढ्न सक्ने औँल्याए।

          बुटवलमा आयोजना हुन लागेको औद्योगिक व्यापार तथा कृषि मेलाको सन्दर्भमा लुम्बिनी सामुदायीक टेलिभिजनले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले मन्द अवस्थामा रहेको यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउन जति मेला महोत्सवले भूमिका निर्वाह गरेको छ त्यति नै पर्यटन प्रवर्द्धन तथा भेषभुषा र लोकसंस्कृति जगेर्नामा समेत टेवा पुर्‍याएको दावी गरे।

          कार्यक्रममा बोल्दै आर्थिक विश्लेषक डा. आर सी आचार्यले मेला तथा प्रदर्शनी आयोजना गर्दा दर्शकहरुको भावनालाई समेट्न र उनीहरुको चाहना अनुरुपका कार्यक्रमहरु समावेश गर्न आग्रह गर्नुभयो। उहाँले मेला महोत्सवको नाममा वर्षेनी ठूलो धनराशी बाहिरीने तर्फ संकेत गर्दै मनोरञ्जनको नाममा जाने त्यस्तो लगानीको विकल्प खोज्नुपर्ने बताउनुभयो।

          नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले मेलाहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्दै साना उद्योगहरुको प्रोत्साहन र प्रवर्द्धन गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो।

          बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले यस पटकको मेलाले बुटवललाई फरक पहिचानका साथ परिचीत गराउने र बुटवलको पुरानो इतिहासलाई झल्काउने प्रयत्न गरिने बताउनुभयो।

           रुपन्देही व्यापार संघका अध्यक्ष टंक प्रसाद पोखरेलले बुटवलका मेला तथा प्रदर्शनीबाट धेरै प्रतिभाहरु प्रष्फुटन हुने अवसर प्राप्त गरेको र मेलालाई अब विशिष्टीकृत र परिष्कृत गर्दै अन्तराष्ट्रिय स्तरको बनाउन आग्रह गर्नुभयो।

          रुपन्देही उद्योग संघका तेज कुमार पाठकले स्थानीय स्तरमा र घरेलु अवस्था रहेका सिपलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउन मेला तथा प्रदर्शनीले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

           कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजु, हरी अर्याल, पत्रकार दामोदर खनाल लगायतले आ आफ्ना धारणा राखेका थिए।

           कार्यक्रम लुम्बिनी टेलिभिजनका स्टेशन प्रमुख दिनेश पाण्डेको संचालनमा सम्पन्न भएको सेतोपाटी अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह