फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एउटै गाउँबाट एक करोड रुपैयाँको सुन्तला निकासी

(GMT+08:00) 2013-12-19 19:05:49

         पाल्पा जिल्लाको छहरा गाउँमा सुन्तला बिक्री गरेर वाषिर्क करोड रुपैयाँ भित्रिन्छ। कृषक नित्यानन्द पोखरेलले भन्नुभयो, 'गाउँभरि लटरम्मै सुन्तला फलेको छ। सँगै जुनारका बोट पनि पँहेलपुर भएका छन्। आयआर्जनका लागि कागती, दालचिनी, अम्लिसो पनि गाउँभरि उत्तिकै छन्।' सुन्तलाकै कारण अमलाबासको नाम बगैंचाबारी हुँदै 'सुन्तलावास' बनेकोछ।

         छहरा 5 अमलावास पुग्नेले भन्ने गर्छन्, 'सायद यो गाउँ गरिखानेको हो।' मिहिनेतको फल पाएका स्थानीयले खाडी र भारत धाउन परेको छैन। विदेशिएका पनि फर्केर आएर गाउँमै केही गर्नुपर्छ भन्न थालेका छन्। वर्षायाममा काँक्रो र तरकारी बिक्री गर्छन् भने यतिबेला सुन्तला। त्यसपछि फेरि तरकारी खेती गर्छन्।

         गाउँमा सुन्तला लगाउन सिकाउने व्यक्ति यमनाथ कोइराला हुन्। 2040 सालतिरबाट यस गाउँमा सुन्तला भित्रिन सुरु गरेको हो। पहिले भएका एक-दुई बोटबाहेक व्यावसायिक खेती भने अलि ढिला सुरु भएको उहाँले बताउनुभयो। गाउँमा कोइरालाबाहेक चेतनारायण न्यौपाने, टीकाराम पोखरेल, हिमप्रसाद पोखरेल, छविलाल कँडेल, नित्यानन्द पोखरेल लगायतको नाम सुन्तला बिक्री गरेर धेरै आम्दानी गर्नेमा पर्छ तर अरू सबै गाउँलेले व्यावसायिक खेतीका रूपमा अगाडि बढाएका छन्। स्थानीय दलबहादुर बगालेका अनुसार सबैजनाले खेती गरेपछि बाँकी नलगाउनेलाई पनि रहर जाग्दो रहेछ।

         पहिले अमला फल्ने गाउँमा सुन्तला फलाएर एउटै परिवारले लाखौँ रुपैयाँको आम्दानी लिन थालेको सुन्तला किसान नित्यानन्द पोखरेलले बताउनुभयो। उहाँले भन्नुभयो, 'पहिलेको अमलावास अहिले सुन्तलावास।' 30 घर भएको गाउँमा एक घरले 50 देखि 7 सय सुन्तलाका बिरुवा लगाएका छन् । त्यसैगरी जुनार, मुन्तला, अमिलो खेतीले पनि आम्दानी दिएको छ। वाषिर्क 50 हजारभन्दा बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा निकासी हुन्छ। किसानले घरमा भएको सुन्तलाको एक बोटले कम्तीमा 30 किलोदेखि डेढ क्विन्टलसम्म दाना दिएको छ।

         सुन्तलाजन्य फलफूल तानसेन तथा बुटवलका बजारमा प्रतिकिलोको थोकमा 30 देखि 40 रुपैयाँ र खुद्रामा 40 देखि 50 रुपैयाँमा निकासी हुने गरेको कान्तिपुर अनलाइनले लेखेको छ। 'सुन्तला लगाएर आएको आम्दानीले छोराछोरी पढाएकी छु' उहाँले भन्नुभयो, 'अहिले निकै खुसी लाग्छ।'

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह