फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटनविद् बिक्रम पाँडे र जापानी पर्यटन ब्यवसायी नोर्बु कासाई सन् 2014 का लागि लुम्बिनी सद्भावना दूत

(GMT+08:00) 2013-12-20 18:01:57

        लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि दुई पर्यटन व्यवसायीहरूलाई लुम्बिनी सद्भावना दूत घोषणा गरेको छ।

        गत बुधबार मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा नेपालका चर्चित पर्यटन व्यवसायी विक्रम पाण्डे र जापानी नागरिक नोर्बु कासाईलाई कोषका सदस्य सचिव अजितमान तामाङले दूत घोषणा गर्नुभएको हो।

         कोष बैठकले दुवैलाई सन् 2014 का लागि सदभावना दूत नियुक्त गरी देश–विदेशमा लुम्बिनी र गौतमबुद्धको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने निर्णय गरेको छ।

         पाण्डे नेपालका चर्चित पर्यटन व्यवसायी हुनुहुन्छ। उहाँले 'बुद्ध सर्किट प्याकेज' मार्फत लुम्बिनी प्रवर्द्धन गर्दै आउनुभएको छ भने अघिल्लो वर्ष अन्तर्राष्ट्रिय ध्यान लुम्बिनीमा केन्द्रित गर्न पिस म्याराथन आयोजना गर्नुभएको थियो। उहाँले विगत 10 वर्षदेखि संसारकै सबैभन्दा उच्च स्थानमा हुने एभरेस्ट म्याराथन सफलतापूर्वक आयोजना गर्दै आउनु भएको छ। उहाँ हिमालयन एक्सपीडीसीनका अध्यक्षसमेत हुनुहुन्छ।

         सद्भावना दूत नियुक्त भएपछि लुम्बिनीको प्रवर्द्धनका लागि जिम्मेवारी थपिएको र अझै बढी प्रचारमा लाग्ने र विभिन्न नयाँ कार्यक्रममार्फत अन्तर्राष्ट्रिय फोरममा लुम्बिनीको प्रवर्द्धन गर्ने पाण्डेले बताउनुभयो।

         त्यस्तै, लुम्बिनीस्थित कासाई होटल प्रालिका अध्यक्ष जापानी नागरिक नोबुओ कासाई समेत बिगत लामो समयदेखि लुम्बिनीको प्रवर्द्धनमा लागेका व्यक्ति हुनुहुन्छ। लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको 3 तारे होटल सञ्चालन गर्दै आएका कासाईले होटलको प्रशासनिक खर्च कटाएर बचेको आम्दानी लुम्बिनीको विकास र प्रवर्द्धनमा खर्च गर्दै आउनु भएको छ।

         उहाँले लुम्बिनीको प्रचार–प्रसार र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र ट्राभल्स एजेन्सीमार्फत थप पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। केही समयदेखि लुम्बिनीमा जापानी पर्यटक आगमन घटेको समयमा सद्भावना दूत नियुक्त भएका कासाईंमार्फत जापानमा लुम्बिनीको प्रवर्द्धन गर्न सहज हुने अपेक्षा रहेको सदस्य सचिव तामाङले जनाउनुभयो।

        कोषले सन् 2013 का लागि थाइल्यान्डका पूर्वस्वास्थ्यमन्त्री खुनिङ सुधारत र गायिका आनी छोइङ डोल्मालाई अवैतनिक सद्भावना दूत नियुक्त गरेको थियो। सुधारतका समयमा थाइल्यान्डबाट लुम्बिनीको भौतिक विकासका लागि धेरै सहयोग प्राप्त भएको कारोबार अनलाइनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह