फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा गत नोभेम्बर महिनामा भएको संविधानसभाको निर्वाचन र त्यसको मतगणना विश्वसनीय रहेको कार्टर सेन्टरको भनाइ

(GMT+08:00) 2013-12-20 18:05:16

         कार्टर सेन्टरले गत नोभेम्बर 19 तारिख सम्पन्न नेपालको दोस्रो संविधानसभाको निर्वाचन,मत गणना र नतिजा घोषणा प्रक्रिया विश्वसनीय रहेको जनाएको छ। कार्टर सेन्टरले हिजो बिहीबार प्रकाशित गरेको पर्यवेक्षण प्रतिवेदनमा मतगणना प्रक्रिया विधिअनुसार भएको उल्लेख छ।

         सुरक्षाफौजको मजबुत उपस्थितिका कारण मतगणना प्रक्रियामा अवरोध नपुगेको रिपोर्ट आफ्ना पर्यवेक्षकले दिएको सेन्टरले जनाएको छ। निर्वाचन आयोगले पनि परिणाम विश्वसनीय भएको घोषणा गरेको उल्लेख गर्दै सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मत गणनामा अपनाइएको फरक प्रक्रियाले गणनाको इमानदारी र उपस्थित सरोकारवालाको आत्मविश्वासलाई असर पुर्‍याएको देखिएन ।' हरेक मतपेटिकाभित्र खसेको मत संख्या यकिन नगरीकन मतपेटिकाहरू मिसाइएको, हस्ताक्षर नगरिएका मत पनि गनिएको, प्रत्यक्षबाट समानुपातिक सिटका लागि मत गणना हुँदा अनौपचारिकता र अव्यवस्थित जस्ता 'प्रक्रियागत अनियमितता' भएको प्रतिवेदनमा छ। तर, त्यस्तो प्रक्रियागत अनियमितता नियतवश नभई धेरै दिनदेखि मतगणनामा निरन्तर लागेका कर्मचारीको थकानका कारण भएको सेन्टरको ठहर छ।

          यसैबीच संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपालस्थित अन्तर्राष्ट्रिय समुदायले पनि प्रशंसा गरेको छ।

          कान्तिपुर अनलाइनका अनुसार राष्ट्रसंघलगायत नेपालमा कार्यरत 23 मुलुकका राजदूतहरूको हिजो बिहीबार बसेको बैठकले निर्वाचनको सफलताप्रति सरकार र सरोकारवालालाई बधाई दिएको हो। अन्तर्राष्ट्रिय समुदायको तर्फबाट विज्ञप्तिमा जारी गर्दै नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक जेमी म्याक्गोल्डिकले अघिल्लो संविधानसभामा महिलालगायत नेपाली नागरिकको विविधताको प्रतिनिधित्व असाधारण रहेको उल्लेख गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह