फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमणमा रहनु भएका चिनियाँ नेता आईद्वारा नेपालको आन्तरिक मामलामा चीनले हस्तक्षेप नगर्ने स्पष्टोक्ति

(GMT+08:00) 2013-12-20 18:08:18

         नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री आई पिङको नेतृत्वको प्रतिनिधि मण्डलले हिजो बिहीबार कांग्रेस सभापति सुशील कोइराला र नेकपा एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेको छ।

          नेपाली नेताहरुसँगको भेटमा चिनियाँ उपमन्त्री आईले चीनले नेपाललाई प्रिय छिमेकीका रूपमा लिएको, नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास देख्न चाहेको बताउनुभएको छ। उहाँले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगर्ने नीतिलाई नेपाली नेताहरुसँग स्पष्ट रुपमा राख्नु भएको छ।

         कोइरालासँग महाराजगन्जस्थित निवासमा भएको भेटवार्तामा दुवै मुलुकमा भएका पछिल्ला राजनीतिक घटनाक्रम, द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्धका बारेमा छलफल भएको छ। 'नेपालमा दोस्रो संविधानसभाको निर्वाचन भएको छ। यो महत्त्वपूर्ण राजनीतिक घटना हो,' भेटवार्तापछि चिनियाँ उपमन्त्री पिङलाई उद्धृत गर्दै कांग्रेसले विज्ञप्तिमा भनेको छ।

         यसै गरी पिङले एमाले अध्यक्ष खनालसँगको भेटवार्तामा पनि समान अभिव्यक्ति दिनुभएको छ। उहाँले चीनले नेपाललाई प्रिय छिमेकीका रूपमा लिएको, यहाँ राजनीतिक स्थिरता र आर्थिक विकास देख्न चाहेको बताउनुभएको छ। 'नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगर्ने उहाँले स्पष्ट पार्नुभयो,' भेटवार्ताबारे जानकार एक एमाले नेताले भन्नुभयो।

         पिङको सम्मानमा बिहीबार दिउँसो एमाले नेता केपी ओलीले भक्तपुरको बालकोटस्थित निवासमा दिवाभोज आयोजना गर्नुभएको थियो। यसैगरी साँझ पिङ नेपाली कांग्रेस विदेश विभागद्वारा आयोजित रात्रिभोजमा पनि सहभागी हुनुभयो।

         उहाँले दिउँसो अरनिको समाज र नेपाल-चीन कार्यकारी परिषद्का अधिकारीहरूसँग पनि छलफल गर्नुभयो। चिनियाँ संस्थापनका लागि एसिया प्यासिफिक क्षेत्र हेर्ने विज्ञका रूपमा काम गर्ने पिङ नेपाल मामिलाबारे विशेष जानकार मानिनुहुन्छ। उहाँको नेपाली नेताहरूसँग व्यक्तिगत स्तरको सम्बन्ध रहेको कान्तिपुर अनलाइनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह