फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको अर्थतन्त्र स्थिर प्रणालीमा आएको नेपालका अर्थमन्त्री शंकर कोइरालाको भनाइ

(GMT+08:00) 2013-12-22 18:47:50
        नेपालका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्थतन्त्र स्थिर प्रणालीमा आएको बताउनुभएको छ। लामो समयदेखि बिग्रिएको अर्थतन्त्रलाई वर्तमान सरकारले सही ट्र्याकमा ल्याएको उहाँले दाबी गर्नुभयो। हिजो शनिबार विराटनगरमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको दुईदिने आर्थिक पत्रकारिता तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, "वर्तमान सरकारले राजनीतिलाई मात्रै होइन देशको अर्थतन्त्रलाई समेत लिकमा ल्याएको छ।"

       पुँजीगत खर्च 43 प्रतिशतले वृद्धि हुनुका साथै पछिल्लो 5 महिनाको अवधिमा 15 प्रतिशतले निर्यातमा वृद्धि भएको अर्थमन्त्री कोइरालाले दाबी गर्नुभयो। "देशको अर्थतन्त्रका लागि यो शुभसंकेत हो," उहाँले थप्नुभयो, "अब आउने अर्थमन्त्रीलाई समेत देशको अर्थतन्त्रलाई अगाडि बढाउने निकै सजिलो हुनेछ।"

        राजनीतिसँगै अर्थतन्त्रलाई सही दिशामा ल्याउन वर्तमान सरकारले अत्यन्तै मेहनत गरेको उहाँको भनाइ थियो। अर्थतन्त्रको स्वरूप परिवर्तन गरेर आयातमुखीबाट उत्पादनमुखी बनाउने कसरत सुरु गरिएको समेत उहाँले बताउनुभयो।

         अर्थमन्त्री कोइरालाले वर्तमान गैरदलीय सरकारले ल्याएको बजेट इतिहासमै सबैभन्दा सफल भएको दाबी पनि गर्नुभयो। "लामो समयदेखि पूर्णआकारको बजेट आउन सकेको थिएन, यो सरकारले पूर्णआकारको बजेट ल्याउनु नै ठूलो कुरा थियो," उहाँले भन्नुभयो, "त्यसमाथि पनि बजेटका विषयमा कतैबाट पनि विरोध भएन। यो नै सफल र सकारात्मक पक्ष हो।"

          राजनीतिक दलको सरकारले जस्तो दलीय स्वार्थ र क्षेत्रीय स्वार्थका आधारमा बजेट नल्याइएको बताउँदै उहाँले समग्र मुलुकको हितमा ल्याइएका कारण बजेट अहिलेसम्मकै सफल भएको बताउनुभयो। बजेट उत्पादनमुखी भएका कारण मुलुकको साझा दस्तावेज बनाएर अघि लैजानुको विकल्प नभएको उहाँको जोड थियो। अर्थमन्त्री कोइरालाले अहिलेको बजेट कुनै पनि विवादमा नपरेका कारण मुलुकको सिंगो आर्थिक समृद्धितर्फ उन्मुख भएको दाबीसमेत गर्नुभयो। अब बन्ने सरकारका अर्थमन्त्रीलाई सफल र समृद्ध अर्थतन्त्रको गाइडलाइन मिलाएर हस्तान्तरण गर्न आफू तयार रहेको उहाँले जानकारी दिनुभयो।

         वर्तमान सरकार देशमा उत्पन्न राजनीतिक संकट व्यवस्थापन गर्न सफल भएको कोइरालाको भनाइ थियो। "राजनीतिसँगै देशको अर्थतन्त्रसमेत सही ट्र्याकमा आएको छ," उहाँले भन्नुभयो, "अब यो रेलरूपी अर्थतन्त्रलाई लिक नछाडी अगाडि बढाउनुपर्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह