फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रथुममा यस वर्ष 41 करोड रुपैयाँभन्दा बढीको अलैंची उत्पादन

(GMT+08:00) 2013-12-23 18:41:08

            पूर्वी नेपालको तेह्रथुममा यस वर्ष 41 करोड रुपैयाँभन्दा बढीको अलैंची उत्पादन भएको छ। जिल्लाको 6 सय 25 हेक्टर क्षेत्रफलमा अलैंचीखेती लगाइएकोमा 2 सय 45 मेट्रिकटन अलैंची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो उत्पादन हालको बजार मूल्यअनुसार 41 करोड 65 लाख रुपैयाँ बराबरको हो।

          जिल्लामा अहिले अलैंची प्रतिमन 68 हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ। सुरु सिजनमै कृषकले अलैंचीको यो मूल्य पाएको पहिलो पटक हो। गत वर्ष पुस पहिलो साता अलैंची प्रतिमन 40 हजार रुपैयाँसम्म पुगेको थियो।

           जिल्लामा गत वर्षभन्दा अलैंची उत्पादन बढी भएको छ। गत वर्षको तुलनामा जिल्लामा 6 प्रतिशत उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय बागवानी शाखाका प्राविधिक सहायक हरिगोपाल आचार्यले जानकारी दिनुभयो।

           अलैंचीखेती संरक्षणका लागि सरकारले अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना कार्यक्रम लागु गरेपछि उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तपेन्द्रबहादुर शाहले बताउनुभयो। सरकारले 3 वर्ष अघिदेखि नै तेह्रथुमसहित पूर्वी पहाडमा अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषकलाई बगान व्यवस्थापनका लागि आवश्यक तालिम र अन्य कृषि परामर्श प्रदान गरिएकाले उत्पादन बढ्न थालेको शाहले बताउनुभयो। "पुराना बगान व्यवस्थान नहुँदा ढुसीजन्य रोगको संक्रमण भएर अलैंची उत्पादनमा गिरावट आएको हो। यसको व्यवस्थापन भए उत्पादनमा सुधार आउँछ," उहाँले भन्नुभयो।

          गत वर्ष जिल्लामा 2 सय 32 मेट्रिकटन अलैंची उत्पादन भएको थियो। 32 वटा गाविस रहेको तेह्रथुमका 25 भन्दा बढी गाविसमा अलैंची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका बाली संरक्षण अधिकारी रोशन अधिकारीले बताउनुभयो। अलैंचीमा ढुसीजन्य रोगका कारण विगत केही वर्षयता उत्पादनमा गिरावट आउँदै गए पनि यस वर्षदेखि उत्पादनमा सुधार आएको आचार्यको भनाइ छ।

         यसैबीच अलैंची बगानमा लाग्ने ढुसीजन्य रोगका कारण पूर्वी पहाडका कृषकले अलैंची बगान लगाउन छाडेका बेला धनकुटाको मारेकटहरे, परेवादीन तांखुवालगायत गाविसका कृषकले भने कृषि प्रविधिकको सिफारिसमा नयाँ बगान लगाउन थालेका छन् ।

          मारेककटहरेका कृषक सुरेन्द्र पौडेलले बगैंचामा रोग देखिएपछि अहिले नयाँ बगान लगाउन थालेको बताउनुभयो। अलैंची बगानमा गानो कुहिने र पात सुक्ने रोग लागेर उत्पादन घट्न थालेपछि उनले नयाँ बगान लगाएका हुन्। पौडेलजस्तै मारेककटहरेका अन्य कृषकले पनि पुरानो बगान मासेर नयाँ बगान लगाउन थालेका छन्।

         कारोबार अनलाईनका अनुसार विभिन्न रोगका कारण अलैंचीखेतीको क्षेत्रफल घट्न थालेपछि व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबासका कृषि वैज्ञानिक अलैंचीमा लाग्ने रोगको अनुसन्धानमा लागेका छन्। अनुसन्धानबाट प्राप्त प्रारम्भिक नतिजाका आधारमा उनीहरूले भूगोलअनुसार सिफारिस गरिएको जातको बिरुवा रोपेर नयाँ बगान व्यवस्थापनमा संवेदनशिल हुन कृषकलाई सुझाव दिएका छन्।

           कृषि अनुसन्धान केन्द्र पाख्रिवासका प्रमुख तथा वरिष्ठ वैज्ञानिक रामनारायण चौधरीले पुराना बगान मासेर नयाँ प्रतिस्थापन गर्नु अनिवार्य भएको बताउनुभयो। कृषि विकास कार्यालय धनकुटाले अलैंचीखेती विस्तारका लागि कृषकलाई करिब 10 हजार अलैंचीको बेर्ना 50 प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह