फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मंगलबारदेखि बुटवलमा औद्योगिक व्यापार तथा कृषि मेला

(GMT+08:00) 2013-12-24 18:33:11

             'लगानी लुम्बिनीमा, समृद्धि देशमा' नारासहित बुटवल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला पश्चिमाञ्चल सुरु भएको छ।

             बुटवल–12 स्थित बुटवल मण्डपमा पुस 21 गतेसम्म चल्ने मेलाको औपचारिक उद्घाटन भने राष्ट्रपति रामबरण यादवले बुधबार गर्ने कार्यक्रम रहेको मेला संयोजक एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

            मेलामा स्वदेशी तथा विदेशी औद्योगिक उत्पादन, अटोमोबाइल्स, कृषि, गार्मेन्ट, होटेल, इलेक्ट्रोनिक्स, सूचना–प्रविधि, सीप तथा रोजगारी प्रवद्र्धन, हस्तकला, महिला उद्यमी, बैंक तथा वित्तीय संस्था, पर्यटन र अन्य गरी 5 सय 40 स्टल रहनेछन्।

            हिमाली, पहाडी र तराइ क्षेत्रका 25 भन्दा बढी जिल्लाबाट सहभागी स्टलका लागि छुट्टाछुट्टै पेभिलियन निर्माण गरिएको छ।

           यस क्षेत्रमा नयाँ औद्योगिक लगानी बढाएर व्यावसायिक क्षेत्रको खोजी गरी रोजगारीका अवसर सृजना गर्न परिष्कृत रूपमा मेला आयोजना गरिएको मेला संयोजक एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो।

          उपभोक्तामाझ स्वदेशी उत्पादनको पहिचान गर्ने, प्रचारप्रसार एवं उपभोगको चाहना अभिवृद्धि गर्ने, उद्योगी–व्यापारी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउने, निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने, एक जिल्ला एक उत्पादन अवधारणाको प्रोत्साहन गर्ने तथा उद्यमशिलताको विकास गरी लगानीका नयाँ क्षेत्र पहिचान गर्ने मेलाको उद्देश्य छ। त्यस्तै बदलिदो परिवेशअनुसार उत्पादनको गुणस्तर वृद्धि गर्ने, प्रतिस्पर्धी उत्पादकत्व वृद्धि गर्ने, कृषि र हस्तकलालाई औद्योगिक आधारशिलाको रूपमा विकास गर्ने र पर्यटनको सम्भावना उजागर गर्ने मेलाको थप उद्देश्य रहेको आयोजक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शंकर श्रेष्ठले बताउनुभयो।

         मेलामा पश्चिमाञ्चलको पर्यटन प्रवर्द्धनका लागि सुन्दर पश्चिमाञ्चल नारासहित पश्चिमाञ्चलका मुख्य पर्यटकीय गन्तव्यहरू पाल्पाको रानीमहल र बुटवलको जितगढी किल्लालाई दुरुस्तै नक्कल गरी निर्माण गरिएको छ। मुस्ताङदेखि मर्चवारसम्मका पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरूको फोटो प्रदर्शनी, हात्ती सफारी र हट एयर बेलुनिङ पनि राखिएको मेलाका सह–संयोजक कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो।

             कारोबार अनलाईनका अनुसार मेला प्रवेशका लागि सर्वसाधारणले 35 तथा विद्यार्थीले 20 रुपैयाँ तिर्नुपर्नेछ। 5 लाख दर्शकले मेला अवलोकन गर्ने र 15 करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आर्थिक संयोजक उज्वल कसजूले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह