फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारले पर्यटन क्षेत्रको समग्र विकासका लागि नयाँ गुरुयोजना तयार पार्ने

(GMT+08:00) 2013-12-26 18:40:40

        सरकारले पर्यटन क्षेत्रको समग्र विकासका लागि नयाँ गुरुयोजना तयार पार्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइ र झन्डै आधा दर्जन संघ–संस्थाको सहयोगमा नयाँ गुरुयोजना तयार हुन लागेको हो।

          यसअघि सन् 1972मा पहिलो पटक गुरुयोजना तयार गरी 1977 मा सार्वजनिक गरिएको थियो। तत्कालीन पर्यटन विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार हालको संस्कृति तथा पर्यटन मन्त्रालय गठन गरिएको थियो। सोही गुरुयोजनाअनुसार नै नेपालको पर्यटन क्षेत्र अगाडि बढिरहेको थियो। अहिले मन्त्रालयका सहसचिव मोहन कृष्ण सापकोटाको संयोजकत्वमा विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ), नेदरल्यान्ड सहयोग नियोग (एसएनभी), ग्रेट हिमालयन ट्रेललगायत संस्थाका प्रतिनिधि सहभागी समितिले यसको काम गरिरहेका छन्। अन्तिम चरणमा पुगेको सो गुरुयोजना डिसेम्बरभित्र सरकारलाई बुझाउने कार्यक्रम छ। गुरुयोजना तयार पार्न पर्यटन क्षेत्रका विज्ञसमेत सहभागी छन्।

          " नयाँ ढंगले पर्यटन क्षेत्रको विकास आवश्यक रहेकोले नयाँ गुरुयोजना तयार पार्दै छौं," संयोजक सापकोटाले भन्नुभयो। पर्यटन क्षेत्रका सरोकारवाला निकायले दिएको सुझावसमेत योजनामा समेटिने उहाँले बताउनुभयो।

           नेपालको पर्यटन क्षेत्रले हालसम्म हासिल गरेको उपलब्धी र आगामी नेपालको पर्यटन क्षेत्रको बाटो देखाउने प्रयास पनि गुरुयोजनामा उल्लेख छ। गुरुयोजनामा निजी क्षेत्रको भूमिका, सरकारले गर्नुपर्ने कामलाई प्रष्टसँग उल्लेख छ। गुरुयोजनामा यसअगि सञ्चालितमध्येका सफल कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने उल्लेख छ।

            गुरुयोजनामा माग र आपूर्तिको नियमअनुसार लगानीको वातावरण बनाउने तरिकोसमेत समेटिएको छ। त्यसअनुसार प्रत्येक क्षेत्रका लागि छुट्टा–छुट्टै कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। गुरुयोजनामा नागरिक उड्डन क्षेत्र, पर्यटन गन्तव्यको पहिचान र बजारीकरणका लागि आवश्यक योजनासमेत समेटिएको छ।

           गोरखापत्र अनलाईनका अनुसार सरकारले घोषणा गरेको भिजन 2020 लाई सफल पार्न गुरुयोजनामा सन् 014 देखिनै विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। सरकारले 020 मा 20 लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको थियो। उक्त लक्ष्य पूरा गर्न होटल, रस्टुराँमा लगानी आवश्यक रहेकोले त्यसका लागि सहज वातावरण तयार पार्न आवश्यक सुझाव गुरुयोजनाले दिनेछ। "लगानी थप गर्नुका साथै नयाँ गन्तव्यसमेत पहिचान गर्नु आवश्यक भइसकेको छ," संयोजक सापकोटाले भन्नुभयो। तयार हुन लागेको गुरुयोजनाले नेपालको पर्यटन क्षेत्रको अवस्था र आगामी कार्यदिशालाई प्रष्ट पार्ने उहाँको दावी छ।

            पर्यटन क्षेत्रका सरोकारवाला निकायले धेरै पहिलेदेखि पुराना ऐन नियम संसोधन गर्नुपर्ने माग गर्दै आएका थिए। गुरुयोजनामा पर्यटन क्षेत्रमा बाझिने खालका ऐन–नियमहरू संसोधन तथा नयाँजारी गर्नुपर्ने पक्षहरूसमेत समेटिएको छ। सन् 2025सम्ममा नेपालमा 25 लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनासमेत गुरुयोजनामा छ। सो लक्ष्य पूरा गर्न आवश्यक पूर्वाधार, अन्तर्राष्ट्रियस्तरमा सञ्चालन गरिने प्रवर्द्धन कार्यक्रम पनि उल्लेख छ। गुरुयोजनामा नेपाल पर्यटन बोर्ड तथा नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गनुपर्ने कार्यक्रम तथा सुधार गर्नुपर्ने विषयलाई छुट्टा छुट्टै समेटिएको छ।

            नेपालमा पर्यटक भित्र्याउँदा संख्याका साथै गुणस्तरमा विशेष ध्यान दिँदै पर्यटकले गर्ने खर्चलाई बढाउने योजनालाई पनि समावेश गरिएको छ। नेपालमा हाल 13 दिनमा 40 डलर सरदरमा पर्यटकले खर्चगर्ने गरेको तथ्यांक छ। कूल ग्राहस्थ उत्पादनमा पर्यटनको जम्मा 3 प्रतिशत योगदान रहेकोमा यो वृद्धि गर्न आवश्यक योजनासमेत गुरुयोजनामा उल्लेख छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह