फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकवानपुरमा दुई महोत्सवको तयारी तीब्र

(GMT+08:00) 2013-12-27 18:14:51

            मकवानपुरमा दुई महोत्सवको तयारी तीब्र पारिएको छ। एक महिनाको अन्तरमा हुने यी महोत्सवको तयारीका लागि आयोजकहरु जुटेका हुन्। सन् 2013 को विदाई र नयाँ बर्ष 2014 को स्वागतार्थ मकवानपुर होटल एशोसियसनले दुई दिने सडक खाना महोत्सव गर्न भएको छ।

            महोत्सवको तयारी अन्तिम चरणमा रहेको एशोसियसनका अध्यक्ष भागिरथ शर्माले बताउनुभयो। हेटौंडाको बुद्धचोकदेखि सिमाचोकसम्मको सडकमा हुने महोत्सवमा 35 वटा स्टल रहने जनाईएको छ । बर्षेनी गर्ने गरेको महोत्सवमा विभिन्न खानाका परिकार साथीभाई र परिवारसँग रमाईलो गर्दै खाने व्यवस्था गरिएको शर्माको भनाई छ। खाना महोत्सवसँगै सांस्कृतिक कार्यक्रम र विंगो लगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन्।

           तीन लाख 50 हजार रुपैँया खर्च हुने अनुमान गरिएको मेलामा 15 लाख रुपै"याको कारोबार हुने आयोजकको दावी छ। "आम्दानीका लागि भन्दा पनि भाईचारा अभिबृद्धि र पर्यटन प्रवर्द्धन महोत्सवको उद्देश्य हो।"–एशोसियसनका सचिव शालिकराम शर्माले भन्नुभयो। पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ र छोटो दुरीको हेटौंडा–काठमाण्डौं जोड्ने मार्गमा पर्ने हेटौंडामा महोत्सव हुने भएकाले नारायणी अञ्चलका 5 जिल्ला, भारतको रक्सौल लगायतका क्षेत्रबाट गरी 2 लाख अवलोकनकर्ताहरु महोत्सवमा सहभागी हुने आयोजकको दावी छ।

            यसैगरी, मकवानपुर उद्योग बाणिज्य संघले पनि राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालिसकेको छ। माघ 9 गतेदेखि 19 गतेसम्म हुने महोत्सवमा बहुराष्ट्रिय एवं स्वदेशी उद्योग, कृषि, व्यापार, अटो, सूचना प्रविधि, होटल तथा रेष्टुरेन्ट र पर्यटन सम्बन्धी 3 सय स्टल रहने छन्। प्रत्येक दुई बर्षमा राष्ट्रियस्तरको मेला गर्ने कार्यतालिका अनुसार हेटौडाको हुप्रचौरमा हुन लागेको मेलामा 5 लाख अवलोकनकर्ताहरुको सहभागिता रहने संघका अध्यक्ष भुवनलाल श्रेष्ठले बताउनुभयो। "मेलालाई व्यवस्थित बनाउनका लागि सबै खाले तयारी भईरहेको छ ।"–उहाँले भन्नुभयो–"मेलाले उपभोक्ता, सेवाग्राही, उत्पादक र सेवाप्रदायकबीच सामिप्यता ल्याई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास छ।" एक करोड रुपैंयाँ लगानीमा संचालन हुने मेलामा 30 करोड रुपै"याको कारोबार हुने अपेक्षा गरिएको छ। मेला अवधिमा आर्थिक विषयमा गोष्ठी र अन्तरक्रिया समेत हुने भएका छन्। मेलामा सहभागिता बढाउनका लागि राष्ट्रिय कलाकारहरुको उपस्थिति रहनेछ भने स्थानीय कलाकारको प्रोत्साहनका लागि 'हेटौंडा आईडल' गरिने संघका सचिव महेन्द्र राउतले बताउनुभयो। मेलामा सांस्कृतिको जोर्गेनाका लागि पञ्चेबाजा प्रतियोगिता समेत हुने आयोजकलाई उधृत गर्दै विभिन्न अनलाईनहरुले जनाएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह