फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भक्तपुर जिल्लालाई पूर्ण साक्षर बनाउने अभियान सुरु

(GMT+08:00) 2013-12-27 18:15:26

          भक्तपुर जिल्लालाई पूर्ण साक्षर बनाउने अभियानअन्तर्गत जिल्ला शिक्षा कार्यालयले सुरुमा प्रत्येक कर्मचारीको परिवारलाई पूर्ण साक्षर घरपरिवार घोषणा गर्ने भएको छ ।

           जिल्लालाई यसै वर्ष पूर्ण साक्षरता जिल्ला घोषणा गर्न आगामी फागुनभित्र जिल्लामा रहेका सबै कर्मचारीका घरपरिवारमा रहेका निरक्षरलाई साक्षर बनाउनैपर्ने निर्णय भएको जिल्ला शिक्षा कार्यालयका अधिकृत ललितविक्रम सिंहले जानकारी दिनुभयो ।

          जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको नेतृत्वमा गत शुक्रबार बसेको जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूको बैठकमा जिल्लामा रहेका हरेक कर्मचारीले आगामी तीन महिना अर्थात् फागुनभित्र अनिवार्यरूपमा आफ्ना घरपरिवारमा रहेका निरक्षरलाई साक्षर बनाउनुपर्ने निर्णय गरेको उहाँले बताउनुभयो।

           सिंहका अनुसार फागुनभित्र कर्मचारी घरपरिवारमा रहेका सबै निरक्षर सदस्यलाई साक्षर गराएपछि जिल्लास्थित कर्मचारीका परिवारलाई पूर्ण साक्षर घरपरिवार घोषणा गरिनेछ। सिंहले भन्नुभयो— "कुल साक्षरता 93 प्रतिशत पुगेको भक्तपुरलाई यसै वर्ष पूर्ण साक्षरता जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी जिल्लाका आठ गाविसलाई पनि पूर्ण साक्षर गाविस घोषणा गर्नका लागि अन्तिम अनुगमन भइरहेको छ।"

          जिल्लाका हरेक सामुदायिक एवम् संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, बाल विकासका सबै कार्यकर्ता, विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारीले आगामी फागुन महिनाभित्र आफ्नो घरपरिवारमा रहेका निरक्षरलाई अनिवार्यरूपमा साक्षर गराउनै पर्ने भएको छ। अरनिको स्रोत केन्द्र र सानोठिमी स्रोत केन्द्रमा बसेको जिल्ला शिक्षा समितिसहितको बैठकले यस्तो निर्णय गरेपछि यसलाई अनिवार्य गरिएको हो।

          त्यस्तै दुईवटै स्रोत केन्द्रले प्रत्येक महिनाको दुईपटक जिल्लाका सबै विद्यालयमा कक्षा 6 भन्दा माथिका विद्यार्थीबीच पूर्ण साक्षर जिल्ला बनाउन विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नेछन्। जिल्लामा हुने विभिन्न तालिम एवम् कार्यक्रमहरूमा भक्तपुरलाई पूर्ण साक्षर बनाउने कार्यक्रम पनि समावेश गर्नुपर्ने नियमसमेत बनाइएको छ।

          निरक्षर रहेका 11 हजारलाई साक्षर बनाएर भक्तपुर पूर्ण साक्षर घोषणा गर्ने योजनाका साथ कार्यालयले टोलटोलमा साक्षरता कक्षा सञ्चालनलाई तीव्रता दिएर अनुगमनसमेत गरिरहेको जिशिअ शङ्करप्रसाद गौतमले बताउनुभयो।

          नेपाल सरकारले सन् 2015 सम्ममा नेपालबाट पूर्णरूपमा निरक्षता उन्मूलन गर्ने लक्ष्यका साथ गत आर्थिक वर्ष 2069 । ७0 देखि देशभर साक्षरता नेपाल अभियान सञ्चालन गरिरहेको छ।

           राष्ट्रिय जनगणना 2068को तथ्याङ्कअनुसार तीन लाख चार हजार 651 जनसङ्ख्या रहेको यस जिल्लामा कुल साक्षरता 88प्रतिशत छ जसमा महिला 60 प्रतिशत र पुरुष 81 प्रतिशत रहेको छ। तथापि, भक्तपुरमा अहिले 93 प्रतिशत साक्षर रहेको शिक्षा कार्यालयको भनाइ उधृत गर्दै गोरखापत्र अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह