फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुपन्देही जिल्लाका नदीजन्य वस्तुको भारत निकासीमा सहमति

(GMT+08:00) 2013-12-28 18:29:59

       भारततर्फको निकासी रोकिएको 6महिनापछि रुपन्देही जिल्लाका नदीजन्य वस्तुको निकासी खोल्ने सर्वसम्मत निर्णय भएको छ। जिल्ला अनुगमन समिति रुपन्देहीको समन्वयमा भैरहवामा बसेको सर्वदलीय, सर्वपक्षीय र अनुगमन समितिको बैठकले जिल्लाका क्रसर उद्योगमा रहेका नदीजन्य तयारी वस्तुको भारत निकासी खोल्ने निर्णय गरेको हो।

       निर्णयपछि 6महिनासम्म रोकिएको नदीजन्य वस्तु निकासी पुनः सुरु हुने भएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको संयोजकत्वमा बसेको राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी तथा पत्रकारको संयुक्त बैठकले क्रसर उद्योगमा रहेका नदीजन्य वस्तुको तयारी उत्पादन(रोडा, बालुवा, गिट्टीलगायत)को मौज्दात स्टक निकासी गर्न दिने निर्णय भएको रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष शिव पाठकले बताउनुभयो।

       क्रसर उद्योगमा अहिले 2 लाख 57 हजार 5 सय 62 घनमिटर तयारी नदीजन्य वस्तु मौज्दात छ। बैठकले 071 असार मसान्तसम्मका लागि भारततर्फको निकासी फुकुवा गरेको हो।

       सर्वदलीय बैठकले लामो समयदेखि अल्झिएको रोडा ढुंगा निकासी समस्यालाई फुकुवा गरेर उद्योगीलाई राहत दिएको र यसले राज्यलाई पनि फाइदा हुने क्रसर व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो।

       रुपन्देहीमा 48 वटा क्रसर उद्योग सञ्चालनमा रहे पनि बाह्य निकासी नखुल्दा 8 वटा बन्द भइसकेका छन्। सर्वदलीय बैठकले निकासी फुकुवा गर्ने निर्णय गरेपछि व्यवसायी उत्साहित भएको तिनाउ रोडा ढुंगा उद्योगका सञ्चालक गोपाल ज्ञवालीले जनाउनुभयो। "अब मापदण्ड तय गरेर नियमित निकासी दिनुपर्छ," उहाँले भन्नुभयो। रुपन्देहीका क्रसर उद्योगको क्षमता वार्षिक 22 लाख घनमिटर छ।

        सर्वपक्षीय बैठकले बाह्य निकासीका साथै आन्तरिक मागलाई प्राथमिकता दिनुपर्ने र आन्तरिक खपतका लागि जिल्ला दररेट समितिले तय गरेअनुसार रोडा ढुंगा उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको कारोबार अनलाईनमा खबर छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह