फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यो वर्ष नेपालको वर्षे बालीको उत्पादनमा 12 प्रतिशले वृद्धि

(GMT+08:00) 2013-12-29 18:12:53

            यो वर्ष वर्षे बालीको उत्पादनमा 12 प्रतिशले वृद्धि भएको छ। गत वर्षभन्दा यो वर्ष 8 लाख 25 हजार मेट्रिक टन बढी अन्न उत्पादन भएको हो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा वर्षे बालीको उत्पादनमा 5 प्रतिशतले कमी आएको थियो। मौसमको अनुकूलता र समयमा मल, बीउ, विषादी तथा आवश्यक यन्त्रको उचित प्रयोगले उत्पादनमा वृद्धि भएको कृषि विकास मन्त्रालयले जनाएको छ। नेपालमा वर्षे बालीको रूपमा धान, कमै, कोदो र फापरलाई लिइन्छ। सरकारले फापरको उत्पादनको तथ्यांक भने तीन वर्ष यता लिन थालेको हो। गत वर्ष 4 वटै बालीको उत्पादन 68 लाख 19 हजार 78 मेट्रिक टन रहेकोमा यो वर्ष 76 लाख 44 हजार 7 सय 9 मेट्रिक टन पुगेको मन्त्रालयको कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाले जनाएको छ।

            यो वर्ष मुख्य बाली धानको उत्पादन 12 प्रतिशत र मकैको उत्पादन 14 प्रतिशतले बढेको छ। त्यसैगरी फापरको उत्पादन 3 प्रतिशतले बढेको छ भने कोदोको उत्पादन स्थिर छ। उत्पादन घटबढ हुनुको प्रमुख कारण मौसम भए पनि उन्नत प्रविधिको प्रभाव पनि देखिएको मन्त्रालयको दाबी छ।

          "विगतदेखि नै उत्पादन घटबढको कारण मौसमलाई मात्र मान्दै आइएकोमा केही वर्षयता उन्नत प्रविधिको प्रयोगलाई पनि कारक मान्न थालिएको छ," नेपाल कृषि अनुसन्धान परिषद् नार्कका पूर्व वैज्ञानिक तथा धान विज्ञ भोलामान सिंह बस्नेतले भन्नुभयो। केही वर्षयता उन्नत बीउ, मलखाद र खेती गर्ने तरिकाले पनि उत्पादनलाई ठूलो प्रभाव पारेको उहाँको ठहर छ। 90 प्रतिशत कृषकले धानको उन्नत बीउ प्रयोग गरको कारण उत्पादन बढेको उहाँ बताउँनुहुन्छ। तर, एउटै बीउ धेरै वर्ष प्रयोग गर्ने प्रवृत्तिमा भने अझै सुधार नआएको बस्नेतले बताउनुभयो।

            चालू वर्षमा मुख्य बाली धानको उत्पादनमा गत वर्षको तुलनममा 12 प्रतिशतले वृद्धि भएर 50 लाख 47 हजार मेट्रिक टन पुगेको प्रारम्भिक अनुमान छ। गत वर्ष भने आव 2068/069 को तुलनामा 11 प्रतिशतले घटेर देशभर 45 लाख मेट्रिक टन धान उत्पादन भएको थियो। यद्यपि यो वर्षको उत्पादन 2069/069 को तुलनमा 25 हजार मेट्रिक टन कम हो। गत वर्ष वर्षाको प्रतिकूलता र समयमा कृषकले रासायनिक मल नपाएका कारण उत्पादन घटेको कृषि विकास मन्त्रालयका सह–प्रवक्ता टेकप्रसाद लुइँटेलले बताउनुभयो।

             कारोबार अनलाईनका अनुसार यो वर्ष धानपछिको दोस्रो प्रमुख बाली मकैको उत्पादनमा गत वर्षको तुलनामा करिब 10 प्रतिशले वृद्धि भएको छ। मकै उत्पादन 22 लाख 83 हजार मेट्रिक टन पुग्ने प्रारम्भीक अनुमान मन्त्रालयको छ। गत वर्ष वर्ष मकै उत्पादनमा 8.3 प्रतिशतले कमी आएको थियो। कोदो उत्पादन भने यो वर्ष केही घटेको छ। कोदो उत्पादन 0.5 प्रतिशतले घटेर 30 लाख 1 हजार मेट्रिक टन पुग्ने अनुमान मन्त्रालयको छ। गत वर्षको तुलनामा करिब 3 प्रतिशतले वृद्धि भइ फापरको उत्पादन 10 हजार 3 सय 35 मेट्रिक टन पुग्ने मन्त्रालयले जनाएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह